इन्धन र कोइलाको खपत घटाउन प्यालेट उत्पादन शुरु

0
2

पार्थ मण्डल /झापा ।

विश्व बजारमा ऊर्जा संकट भइरहेको बेला झापाको मेचीनगर–१५ स्थित पराजुली बायोमास ब्रिकेट उद्योगले इन्धन र कोइलाको खपत घटाउन प्यालेट उत्पादन सुरु गरेको छ । उद्योगले सोमबार अक्षय तृतीयाको शुभ अवसरमा ब्रिकेटसँगै प्यालेट (बोटबिरुवा कटानपछि निस्किने भुस र फोहोरलाई प्रशोधन गरी इन्धनको रूपमा प्रयोग गर्न मिल्ने ठोस ऊर्जा सामग्री) उत्पादन सुरु गरेको हो ।

वि.सं. २०७५ साल माघमा करिब १२ करोड लगानीमा स्थापना भएको उद्योगले यसअघि ब्रिकेट मात्र उत्पादन गर्दै आइरहेको थियो । थप ५ करोडको लागतमा छुट्टै प्लान्ट बनाएर प्यालेट उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिए ।

बढ्दो वायु प्रदूषण रोक्न, भारतबाट आयातित कोइला र इन्धन खपत घटाउन प्यालेट र ब्रिकेट उत्पादनमा जोड दिएको सञ्चालक पराजुलीको भनाई छ । प्यालेट र ब्रिकेट ग्रीन इन्भारमेन्टको हिस्सा हो । यसले दाउरा कटान घटाउँछ, दाउरा वा काठ भुस उपयोग हुन्छ र धुवाँ र कार्बन उत्सर्जन कम गराउँछ । यो कम धुवा र वातावरणमैत्री इन्धनको रुपमा प्रयोग गर्न सकिने बताउँदै सञ्चालक पराजुलीले भने, ‘आगोबाट चल्ने यहाँका चिया लगायत अन्य ठूला उद्योगले सजिलै प्यालेटलाई प्रयोगमा ल्याउन सक्छ ।’

हामी पेट्रोल, डिजेल र कोइलामा परनिर्भर छौँ । हामीलाई ती वस्तु दियो भने आउँछ, नत्र आउँदैन । अहिले मध्यपूर्व द्धन्द्धले उर्जा संकट भएर इन्धनको मूल्य पनि आकाशिएको छ । त्यसैले प्यालेट र ब्रिकेट भनेको हाम्रै देशमा उम्रिएको बोटबिरुवाबाटै बनेको वस्तु हो । नेपाल सरकारले वन डढेलो रोक्न लागि प्यालेट उत्पादनमा विशेष ध्यानदिनु पर्ने बताउँदै उनले भने, “डढेलो लागेर जुन बोटबिरुवा खेर गएको छ । भोलिका दिनमा त्यसलाई पनि पैसामा परिणत गर्न सकिन्छ । त्यो भनेको ग्रीन गोल्ड हो । जुन हामी किन्छौ । कोइला खरिदमा जुन रकम भारत जाँदैछ त्यसलाई शून्यमा झार्ने सक्छौँ ।”

भेनियर उद्योगबाट निस्किएको फोहोर वस्तुलाई पहिला फाल्नु पथ्र्यो कि जलाउनु पथ्र्यो । अहिले हामी त्यो फोहोर वस्तु किनेर इन्धन बनाइराखेका छौँ । उद्योगमा लगाइएको आधुनिक स्तरको यो प्लान्टले १२ घण्टामा ७० हजार केजी प्यालेट उत्पादन गर्न सक्छ । अहिले यहाँका चिया उद्योगका लागि दैनिक ४० टन प्यालेट माग भइसकेको छ । भारतको सिलुगढीबाट पनि यसको माग आइसकेको छ ।

‘भोलिका दिनमा यसलाई भारत निर्यात गर्न सक्दा विदेश मुद्रा पनि सजिलै भित्राउन सकिन्छ,’ उनले थपे । यो किसिमका उत्पादन गर्ने उद्योगीहरूलाई प्रोत्साहन गर्न सरकारले नीति बनाउन आवश्यक छ । सरकारले बायोमासमा लागेका उद्योगीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन देखि आयकरमा पनि छुटको व्यवस्था गरिदिए देशमा उद्योगधन्दा अझ फस्टाउँदै जान्छ । सरकारले यस्ता उद्योगलाई विकल्पमा भन्दा प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here