योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

सुनसरी प्रहरीले जिल्लाभर सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत १२० जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वैशाख १० गते साँझदेखि वैशाख १२ गते बिहानसम्म सञ्चालन गरिएको उक्त अपरेसनमा लागुऔषध कारोबार, सेवन तथा समाजमा शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही गरिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ११४ जना पुरुष र ६ जना महिला रहेका छन्। तीमध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने केहीलाई परिवारको जिम्मा लगाइएको र बाँकीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। अपरेसनका क्रममा २ जनामाथि लागुऔषध मुद्दा दर्ता गरिएको छ भने १ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी ३६ जना व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले अपरेसनका क्रममा २६.६६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेटसमेत बरामद गरेको जनाएको छ। बरामद गरिएका लागूऔषध सम्बन्धित मुद्दामा प्रमाणका रूपमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले यस्तो अपरेसनले समाजमा बढ्दै गएको लागुऔषध दुरुपयोग, आपराधिक गतिविधि र असामाजिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने, “समाजलाई सुरक्षित र शान्त बनाउन यस्ता स्वीप अपरेसनलाई निरन्तरता दिइनेछ। लागूऔषध विरुद्ध शून्य सहनशीलताको नीति अनुसार कडाइका साथ कारबाही अघि बढाइनेछ।” प्रहरीले नागरिकलाई समेत यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ। साथै, अभिभावकलाई आफ्ना सन्तानको गतिविधिप्रति सजग रहन अनुरोध गर्दै सामाजिक सहकार्यबाट मात्रै यस्ता विकृतिलाई न्यूनीकरण गर्न सकिने जनाएको छ।






























