चन्द्रकान्त ढकाल,
‘जब मलाई दोष पहिल्याउने इच्छा हुन्छ तब म आफैबाट आरम्भ गर्छु । र यो भन्दा अगाडि बढ्न सक्दिनँ ।’ डेबिड ग्रेसनको यो सोचाइले नै उनलाई महान बनायो । र, त्यो भनाइले अरुलाई महान बन्नका लागि प्रेरणा दियो । यो सत्य भनाइलाई आत्मसाथ गर्ने हो भने हामी कुनै पनि दोष कहिल्यै पनि अरुमा खोज्न सक्दैनौं । किनकि हामी आफ्नै त्रुटि वा दोषबाट सँधै घेरिएका छौं । त्यसैले जब हामी आफ्ना त्रुटीहरुलाई सुधार्दै लैजान्छौं तब मात्र त्यही परिमाणमा अगाडि बढ्न सक्छौं ।
संसारका हरेक मानिसमा दोषहरु हुन्छन् र उनीहरु त्रुटीपूर्ण व्यवहार गर्दछन् । हामी ती त्रुटीहरुलाई सजिलै देखाइ दिन सक्छौं किनकि हामीमा त्यो भन्दा ठूलो मात्राको त्रुटी छ । अरुमा त्रुटी वा दोष देख्ने मानिसमा त्यो भन्दा ठूलो गल्ती वा दोषको परिमाण हुनुपर्छ । जस्तो कि एउटा एसईईको परीक्षा दिने विद्यार्थीको प्रश्नपत्र जाँच्ने मान्छेमा त्यो भन्दा ठूलो मात्राको योग्यता हुन जरुरी रहन्छ ।
अतः सामान्य रुपले हेर्दाखेरी हामीलाई थाहा हुँदैन कि ममा त्रुटीहरु छन् । हामी अरुको दोष सजिलै निकाल्न सक्छौं । संसारका सबै मानिसहरु यसमा निपूर्ण छन् किनकि उनीहरु त्रुटी गर्नमा एक अर्काभन्दा अब्बल छन् । हामीले यो सिकाई मानिसको सृष्टीकालदेखि नै जान्दै आयौं र आफूलाई अरुभन्दा अब्बल देखाउन सिक्दै र अभ्यास गर्दै आयौ । हाम्रो सिङ्गो सभ्यता यसैको प्लानीङ र प्र्राक्टिसमा गुज्रिरहेको छ । फल स्वरुप हामी सभ्यताका नाममा एकअर्काप्रति अनुदार बन्दै गयौं । सही सिकाइको सिदान्तबाट चिप्लिँदै गयौं र गलत सिकाईको शिकार बन्दै गयौं ।
हामीलाई आफ्नो आत्माको सुख प्यारो लाग्दैन । हामीलाई बाहिरी र भौतिक अरुले थप्पडी बजाएको रुन्चेपन किन प्यारो लागेको होला वास्तवमै आश्चर्यको कुरा छ । साच्चै भन्ने हो भने मान्छे आफ्नो काममा कति पनि समय खर्चदैन उसको धेरै समय अरुको त्रुटी देखाउन र दोष निकाल्नमै बितिरहेको हुन्छ । एक कदम अगाडि बढेर भन्ने हो भने मानिसको कामको सूचीमा पर्दै नपर्ने कामको लागि मानिस किन पहिलो सूचीमा त्यही कुरालाई दर्ता गरेर अहोरात्र त्यही कामको लागि खटिरहन्छ आश्चर्यको कुरा छ ।
हुन त अरुको दोष खोज्नमा हामीलाई साथ दिने धेरै मानिस भेटिन्छन् । किनकि उनीहरुलाई पनि निःशुल्क पर्म लगाउने खेताला चाहिएका छन् र उनीहरुमा अर्मपर्म चलिरहन्छ । तर, आफ्नो दोष खोज्नमा त एक्लै होइन्छ एक्लै काम गर्नलाई कसलाई पो मन लाग्छ र ? तर, हामी धैर्य गरौं यसका लागि हामीलाई ईश्वरले साथ दिने छन् । आजैदेखि काममा जुट्न सकेमा अहिलेदेखि हामीलाई साथ मिल्नेछ । त्यसैले त स्वामी राम तीर्थले ईश्वरको साथ अनुभूत गर्दै साथ नपाउनेहरुलाई भनेका छन्– ‘जबसम्म हामीमा अरुको दोष देख्ने बानी रहन्छ । तबसम्म तिम्रो लागि ईश्वरको साक्षातकार हुन अत्यन्त कठिन छ । हामीलाई थाहा छ बिरुवाले बाँच्नको लागि आफ्नो जराले आफै जमिनलाई पक्रनुपर्छ । यदि उसले आफ्नो जराले आफै जमिनलाई पक्रिएन भने के हुन्छ हामीलाई थाहै छ ।
त्यसैले हामी मानिसले पनि आफ्नो अस्तित्व, उन्नती र प्रगतिका लागि आफ्नो जरा फैलाउन सक्नु पर्छ । त्यही जरा भनेको त्रुटीरहित हाम्रा सुन्दर व्यवहारहरु हुन यसका लागि हामीले आफ्ना जीवनका त्रुटी र दोषरुपी पत्थरहरुलाई हार्दिकता, सहिष्णुता, नरम र मीजासिलोपनले चिर्दै र फुटाउँदै जान सक्नुपर्छ । हामीले बुझ्न के जरुरी छ भने अरुको जरा चुडाउँदा हाम्रो जराको विकास कहिल्यै र कदापि हुन सक्दैन । हामी सामाजिक र अति चेतनशील प्राणी पनि हौ । त्यसैले हामी अरुप्रति सँधै सचेत रहनु पर्दछ ।
कार्लाइल भन्छन्– ‘अरुप्रति सचेत नहुनु मानिसको सबैभन्दा ठूलो दोष हो ।’ हो वास्तवमा हामी जति अरुप्रति सचेत छैनांै त्यति कै मात्रामा दोषी छौं । हामीलाई नलाग्न सक्छ । तर, त्यही नलाग्नुनै हाम्रो ठूलो दोष हो । मानव सभ्यतादेखि चलिरहेको हाम्रो मानसिकता त्याग्न गाह्रो हुन्छ । म दोहो¥याएर नै भनिरहेको छु, तर अभ्यास गर्दै गएमा हामी सफल बन्न सक्छौं ।
मानिसको मापन इकाई हामीले आफ्नो दोषलाई बाहिर निकालेर कति राम्रो कुरालाई आफूभित्र भर्न सक्यौं हाम्रो आत्मीक आनन्दको उचाइ त्यही हो । हामी दुनियाँले देख्दा, गरीब, दुःखी हौला तर आफैमा कति धनी छौं ? हामी आफ्नो मनलाई सोधेर आफूलाई मापन गर्न सक्छौं । हामी दुनियाँले मलाई के भन्छ उत्तर खोज्न भौतिरिएका छौं । यो दुःखको कुरा हो । हामी आफैंले आफूलाई के भन्छौं । त्यो महत्वपूर्ण कुरा होइन र ?
मैले राम्रो काम गरेको छु भने मलाई अरुले जे नै भने पनि के फरक पर्छ र तर मैले आफूलाई भने कहिल्यै ढाट्नु हुँदैन । यो आदर्शले हामीलाई आफ्नो दोषहरु हटाउन अवश्य मद्दत मिल्नेछ ।
शेक्सपियरको सान्दर्भिक भनाइ यहाँ राख्न उचित ठानेको छु । उनले भनेका छन्– ‘हाम्रा दोषहरु हाम्रा ग्रन्थहरुमा छैनन्, प्रिय ती दोष हामीभित्र छन् । त्यसैले हामी दुःखी छौं ।’ कति सुन्दर भनाइ छ । हामी सुध्रनका लागि संसारतिर हेर्छौं । ग्रन्थ र शास्त्रहरु पढ्छौं । तर, आफूतिर फर्किएर दोष केलाएर सुधार्ने कोशिस गर्दैनौं । कसैले देखाइ दियो भने बरु ढाकछोप गर्न ज्यान छोडेर बचाउमा लाग्छौं । अलि बढी नै त्रुटी देखाइ दियो भने बरु सम्बन्ध नै तोडी दिन्छौं ।
अतः छोटो गरी भन्नुपर्दा हामी जति प्रतिशत आफ्ना दोषहरुलाई आफैंले आफूभित्र खोजेर समाप्त गर्न सक्छौं । त्यतिनै मात्रामा सुख, सन्तोष र आनन्दले बाँच्न सक्छौ । आजैदेखि आफ्ना त्रुटीहरु सुधार्दै सबैको सम्मान र इज्जत गर्ने शत्बुद्धि हामी सबैमा प्राप्त होस् ।
नयाँ वर्ष आजबाट शुरु भएको छ । यस्ता धेरै वर्ष फेरिए तर हामीमा नफेरिएको गलत व्यवहारहरु फेर्नका लागि यो वर्ष फलदायी बनोस् । त्रुटी नै त्रुटीहरुले भरिएको मेरो विचार त्रुटीहरु सुधार्नका लागि एउटा सार्वजनिक प्रतिबद्धताको रुपमा यो लेख सर्वप्रथम त मेरो लागि पनि फलदायी बनोस् भनी भगवानसँग प्रार्थना गर्दछु ।