मेची पुल जोड्न अस्थायी सडक बनाउने सहमति

0
492

भद्रपुर।

नेपाल–भारत सीमामा पर्ने भद्रपुरस्थित मेची पुल सञ्चालनमा आएको चार महिना बित्न लाग्यो । पुल त सञ्चालनमा आयो, तर पुललाई जोड्ने कालोपत्रे सडक नबन्दा दुवै देशका नागरिकले सास्ती झेल्नु परिरहेको छ ।

सडक नबनेको अवस्थामा स्थानीय हिउदमा त जसोतसो बालुवा र खेतको किनारबाट दुई पांग्रे र चारपांग्रे सवारीसाधन चलाएर गन्तव्यसम्म पुगे । तर, अब बर्खायाम शुरु हुन लागेपछि स्थानीय फेरि चिन्तित बनेका छन् । नेपालतर्फको सडकले स्थानीयलाई केही असर पारेको छैन, भारततर्फकै सडकले समस्या बल्झिएको हो । बर्खायामलाई मध्यनजर गरी भात गाउँ ग्राम पञ्चायत अन्तरगतको मुखिया फन्टबाट त्यहाँका जनप्रतिनिधिले अस्थायी ग्राभेल सडक बनाउन खोज्दा भारतीय पक्षबाटै विवाद शुरु भयो ।

विहार पक्षले बनाएको सडकलाई लिएर बंगाल पक्षले अवरोध गर्दा अस्थायी ग्राभेल सडक घुमाएर बनाउनुपरेको छ । ९ लाख रुपैयाँ खर्चिएर बनाएको सडक बिहारको भन्सार नाकासँग जोडिएको छ । भारतीय पक्षले बनाइसकेको अस्थायी सडकलाई जोड्न नेपाल पक्ष तयार भए पनि भारतीय एसएसबीले अन्तर्राष्ट्रिय सीमानामा ह्युमपाइप राखेर सडक बनाउन नदिने बताएपछि समस्या झन् जटिल बन्दै गइरहेको थियो ।

अन्ततः दर्जनौंपटकको प्रयाससहितको छलफल पश्चात दुवै देशका प्रशासनिक निकाय, सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजबीच सहमति जुटयो । भारतीय एसएबसी ४१ बटालियनको कार्यालयमा मंगलबार बसेको बैठकमा १०१ सीमा पिलरदेखि २५ फिट छाडेर पश्चिमतर्फबाट अस्थायी सडक बनाउने सहमति जुटेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

‘दुवै देशका सरोकारवालाको उपस्थितिमा ग्राभेल सडक बनाउन सीमा नै नापजाँच गरेर छुट्याइसकेका छौ’– प्रहरी निरीक्षक श्रेष्ठले भने– ‘अब नेपालतर्फको सडक बनाउने काम भद्रपुर नगरपालिकाको हो, नगरपालिकाले ह्युमपाइप राखेर सडक बनाए लगत्तै चार महिनाको अस्थायी समस्या समाधान हुन्छ ।’

‘बिहारले बनाएको अस्थायी ग्राभेल सडकसँग पुलको सडकलाई जोड्दा हलुका चार पांग्रे सवारीसाधन बर्खायाममा पनि सजिलै आवतजावत गर्न सक्छ’– उनले थपे । बैठकमा ठाकुरगञ्ज बिडिओ श्रीराम, सर्कल अफिसर उदयकृष्ण यादव, एसएसबी ४१ बटालियन देवीगञ्जका कमाण्डर डीएसपी रीना, श्रीराम सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण श्रेष्ठ, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, भद्रपुर नगरपालिकाका गोपाल आचार्य, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की लगायतको उपिस्थति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here