शहर केन्द्रित बसाइँसराई बढ्यो

0
573

झापा।

बढ्दो जनसंख्यासँगै मानिसहरु शहर केन्द्रित हुने क्रम बढ्दै गएको छ ।

जन्म र मृत्युदर घटे पनि बसाइँसराई दर भने दिन प्रतिदिन बढेको जनसंख्या मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । रेमिट्यान्स भित्रिने क्रम बढेसँगै मानिसहरु शहर केन्द्रित हुने क्रम बढेको हो ।

यसका कारण खेतीयोग्य जमिन बिस्तारै अतिक्रमण हुने क्रम बढ्दो छ । तथ्याङ्क विभागका अनुसार जनसंख्या नियन्त्रणमा आए पनि बसाइँसराईमा आएको व्यापक परिवर्तनले गर्दा खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको हो । मानिस सुविधाभोगी हुन थालेको र ग्रामीण तथा हिमाली वा पहाडी क्षेत्र छाडेर तराई वा शहरमुखी हुन थालेको विभागले उल्लेख गरेको छ ।

अधिकांश युवहरु विदेशिएसँगै उनीहरुको एउटै सपना हुन्छ– शहरमा घडेरी किन्ने र घर बनाएर बस्ने । यसका कारण पनि शहरमा जनघनत्व बढ्दै गएको सरकारी तथ्याङ्क रहेको छ । तथ्याङ्क विभागले गरेको कृषि सर्भेका अनुसार २०१८ सालमा कृषियोग्य जग्गा १६ लाख २६ हजार चार सय हेक्टर, २०२८मा १५ लाख ९२ हजार तीन सय थियो ।

त्यस्तै २०३८ सालमा २३ लाख ५९ हजार, २०४८मा २३ लाख ९२ हजार, २०५८ मा २४ लाख ९७ हजार तथा २०६८मा भएको कृषि गणनामा २३ लाख ६३ हजार हेक्टर जग्गा कृषियोग्य छ । युवाहरु विदेशिएसंगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ भने शहरमा जनघनत्व बढेसँगै प्रदुषण तथा रोगको जोखिम बढ्दै गएको छ ।

यसैबीच गतवर्ष सरकारले झापाको गौरीगञ्ज र मोरङको रंगेली, बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा सरपल्लो, बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा शहर विकास गर्ने घोषणा गरेको थियो ।

हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा अनुसार नयाँ शहर बनाउने बताइएपनि काम भने सुस्त गतिमा रहेको बताइएको छ । शहर निर्माण गरेमा जनघनत्वलाई सन्तुलित राख्न सकिने अपेक्षा गरे पनि काम हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here