स्वतन्त्र पत्रकार संघको आवश्यकता र औचित्य

0
1171
रत्नबहादुर बस्नेत,

भनिन्छ, पराधीन अर्थात् अरुको अधिनमा हुनु जस्तो ठूलो दुःख र स्वाधीन रहनु जस्तो सुख अर्को छैन । स्वाधीन वा स्वतन्त्र भइरहनु नै सुखी जीवन हो । त्यसैले मानिसको पहिलो चाहना सुख हो भने सुखका लागि अनिवार्य शर्त हो स्वतन्त्रता । संसारमा जति पनि संघर्ष भएका छन् ती सबै स्वतन्त्रता प्राप्तिका लागि नै भएका छन् । स्वतन्त्रताको हकाधिकार बिना मानव जीवनमा समुन्नति र मुक्तिको कल्पना गर्न पनि सकिँदैन ।

यदि कसैले अरुको स्वतन्त्रता कुण्ठित पार्ने, खोस्ने वा अधिनमा राख्ने प्रयत्न गर्दछ भने त्यहाँ विरोध र विद्रोह शुरु हुन्छ, संघर्घ चर्किन्छ । आज नेपाली सञ्चार जगतमा पनि यस्तै कालो बादलको संकेत देखा परेकोले प्रेस जगत यतिखेर आन्दोलित बनेको छ । मिडिया काउन्सिल विधेयक र अन्य ऐन मार्फत सरकारले सो हर्कत देखाएको छ । पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक हकबाट वञ्चित गर्ने दुस्साहस गरेकै कारण देशभरका पत्रकारहरु आन्दोलित बनेका हुन् ।

‘स्वतन्त्र पत्रकार’ बारे विचार गर्दा मुख्यरुपमा तीन अर्थ लाग्दछ । पहिलो, स्वतन्त्र पत्रकार अर्थात् स्वतन्त्र पत्रकारिता । हो, आफ्नो काममा पत्रकारहरु स्वतन्त्र छन् । यहाँ प्रश्न उठ्छ सबै पत्रकार स्वतन्त्र छन्÷हुन्छन् वा सबै पत्रकारले गर्ने भने कै स्वतन्त्र पत्रकारिता हो । पूर्ण प्रेस स्वतन्त्रतासहित अधिकार प्राप्त गरेर पत्रकारिता पेशा अपनाउनु हो । त्यसो भए अब किन भन्न प¥यो ‘स्वतन्त्र पत्रकार’ ? यो हामी कतिपयमा उठ्ने प्रश्न हो । तर, केही अर्थ भेद पक्कै छ ।

दोस्रो, ‘स्वतन्त्र पत्रकार’ भन्नाले कुनै पनि पत्रपत्रिकासँग सम्बद्ध नभएका वा नियमित कर्मचारी पत्रकारको हैसियतमा काम नगर्ने व्यक्ति नै स्वतन्त्र पत्रकार हुन् । जसले धेरै वटा पत्रपत्रिकाका लागि लेख–रचना लगायतका सामग्री उपलब्ध गराउँछन् । सूचना विभागबाट स्वतन्त्र पत्रकारको दर्जा प्राप्त गर्न केही प्रावधान रहेका हुन्छन् ।

तेस्रो, ‘स्वतन्त्र पत्रकार’ भन्नाले यहाँ तटस्थ पत्रकारिता गर्ने व्यक्ति भन्ने बुझ्नुपर्दछ । यहाँ चर्चा गर्न खोजिएको विषय स्वतन्त्र पत्रकार वा पत्रकारिता यही तेस्रो कोटी अन्तरगत पर्दछ । यहाँ ‘स्वतन्त्र पत्रकार’ भन्नाले मानव अधिकारविरुद्धका कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने एवम् निष्पक्ष रुपमा समाचार संकलन, सम्पादन तथा सम्प्रेषण गर्ने स्वाधीन पत्रकार बुझिन्छ । साथै स्वतन्त्र शब्दको अर्थ तटस्थ हो भने तटस्थको अर्थ कुनै पनि राजनीतिक पार्टीमा संलग्न नभएको वा कुनै पनि राजनीतिक दल वा तिनको भातृ संगठनको सदस्यता नलिएको भन्ने बुझ्नुपर्छ ।

नागरिकको सूचनाको हक, पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र एवम् विधिको शासनको सम्मान गर्दै ‘पत्रकारले प्रत्यक्षतः कुनै पनि बेला आफ्नो दलगत राजनीतिक आस्था प्रकट गर्नुहुँदैन’ भन्ने महान् आदर्शबाट उत्प्रेरित भई स्वतन्त्र पत्रकारिताको प्रतिरक्षार्थ सिर्जनशील एवम् श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा वृतिविकासमा सघाउ पु¥याउन ‘स्वतन्त्र पत्रकार संघ नेपाल’ नामक संगठित संस्था स्थापना गरिएको हो ।

राजनीति र स्वतन्त्र पत्रकारिता

स्वतन्त्र पत्रकारिता वा तटस्थ पत्रकारिताको उठान गर्दा कुनै पत्रकारको वैचारिक स्वतन्त्रता वा कुनै राजनीतिक आस्था माथिको स्वतन्त्रतामा अंकुश लगाउनु पर्ने तटस्थाको कुरा गरेको होइन । स्वतन्त्रता कुनै पनि व्यक्तिको जन्मसिद्ध अधिकार हो ।

कुनै पेशामा आबद्ध व्यक्ति कुनै राजनीतिक विचारबाट प्रभावित हुनसक्छ, त्यो विचारको नेतृत्व पनि गर्नसक्छ । यो उसको मानव अधिकार हो, वैयक्तिक स्वतन्त्रता हो । तर, सवाल के हो भने उसका यी राजनीतिक विचारहरुले उसको पेशामा प्रभाव पार्नुहुँदैन । उसको पेशामा हस्तक्षेप गर्नुहुँदैन । पेशागत रुपमा ऊ तटस्थ हुनुपर्छ । हरेक विचार र वादहरुको समान सम्मान र समान व्यवहार, निष्पक्ष र पूर्वाग्रहीविहीन प्रवृति उसको पेशागत रुपमा देखाउनु पर्दछ । यो पत्रकारिता मात्र होइन हरेक पेशामा लागू हुन्छ ।

पत्रकारिता अझ संवेदनशील र जनसरोकारको पेशा भएकाले निष्पक्षता र तटस्थता यसको अनिवार्य सिद्धान्त हो ।राजनीतिको प्रभाव नेपालमा सर्वत्र परेको पाइन्छ । हरेक पेशाकर्मी र व्यवसायीहरु पनि राजनीतिक विचारका आधारमा विभाजित छन् । पेशागत उत्कृष्टताका लागि भन्दा राजनीतिक विचारको लडाइमा उनीहरुको प्रतिष्पर्दा छ । नेपालको पत्रकारिता पनि यो समस्याबाट अछुतो छैन ।

दलगत पत्रकारका झुण्डहरु भई कुनै एक दलको मुखपत्र मात्र बन्नुभन्दा सबैको साझा, स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता मार्फत देश, समाज र जनताको सेवा गर्नु आजको आवश्यकता हो । यही महान् उदेश्य र आवश्यकता परिपूर्तिका निमित्त नै नेपालमा स्वतन्त्र पत्रकार संघ नेपालको स्थापनाको खाँचो अपरिहार्य भएको हो ।

आज नेपालका राजनीतिक दलहरु कुनै पत्रकार विशेषलाई मात्र होइन सञ्चारगृहलाई समेत आफ्ना मुखपत्रका रुपमा दुरुपयोग गरिरहेका छन् । पार्टी विशेषका बनेका छन् । पेशागत संवेदनशीलतालाई वेवास्ता गरी पार्टीका डम्फूमात्र बजाउँदा पत्रकारिता जस्तो गहन र महत्वपूर्ण पेशा फितलो र शिथिल भएको छ । राजनीतिक तटस्थता नै सही अर्थमा पत्रकारिता गर्ने व्यक्तिहरुको पेशागत धर्म हो । कुनै राजनीतिक लाभका लागि पत्रकारिता जस्तो महत्वपूर्ण पेशाको दुरुपयोग गर्नुहुँदैन ।

यसरी देशको विद्यमान सञ्चार जगत् सत्ता र शक्तिप्रति आकर्षित र समर्पित हुँदै गएको एवम् सञ्चारकर्मीहरु बीचको एकता खण्डित हुँदै गएको अवस्थालाई दृष्टिगत गरेर नै स्वतन्त्र पत्रकारहरुको संगठन निर्माण भएको हो ।

‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ मूल नारा रहेको स्वतन्त्र पत्रकार संघ नेपालको स्थापना वि.स.२०६८ मा भएको हो । पोखरा केन्द्रीय कार्यालय रहेको संघको झापा शाखा हालै गठन भई गत बैशाख २८ गते सम्पन्न केन्द्रीय महाधिवेशनबाट झापाले एकजना केन्द्रीय प्रतिनिधि समेत पाइसकेको छ ।

अब सम्पूर्ण स्वतन्त्र पत्रकार संगठित भई उत्साहपूर्वक संघको उद्देश्य अनुरुप अघि बढ्नु जरुरी भइसकेको छ । (बस्नेत स्वतन्त्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here