बिर्तामोडका पाँच होटल अति उत्तम: २० होटलमा स्टिकर वितरण, अनुगमन निरन्तर जारी रहने

0
784

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेका २० वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको गरेको हो । जसमध्ये ५ वटाले अति उत्तम, ५ वटा उत्तम, ५ वटा सन्तोषजनक र ५ वटा समानय रहेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले बताए ।

होटल तथा रेष्टुरेन्ट अनुगमन गरेर खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न स्टिकर वितरण गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख पुरीले बताए । अभियानअन्तर्गत बिर्तामोडका थर्ड होम कफि हाउस, होटल ग्राण्ड प्यासिफिक, पूर्वाञ्चल बेकरी एण्ड आईसक्रिम पार्लर, डाइनिङग एण्ड वाइनिङग लाउन्ज एण्ड वार र मोक्ष हस्पिटालिटीले उति उत्तमको स्टिकर पाएका छन् ।

त्यस्तै होटल मण्डला, होटल पारिजात एण्ड लज, न्यू ग्रीन एप्पल सेकुवा कर्नर,संगम स्विट बिर्तामोड, फुलबारी फुड एण्ड वेभोजले उत्तमको स्टिकर पाएका छन् । होटल अनुगमनका क्रममा अति उत्तम र उत्तमसंगै सामान्य र सन्तोषजनकको रुपमा स्टिकर पाउनेहरु पनि रहेको बताइएको छ ।

अनुगमनका क्रममा कलकता मिष्ठान भण्डार, थकाली किचन एण्ड पार्टी प्यालेस,ओसियन रेष्टुरेन्ट एण्ड लज, कारामान रेष्टुरेन्ट एण्ड बार र रेड मग क्याफेले सन्तोषजन होटल तथा रेष्टुरेन्टको स्टिकर पाएका छन् । त्यस्तै धिमाल खाजा घर, श्याम मिष्ठान भण्डार एण्ड गेष्ट हाउस, फ्राइडे रेष्टुरेण्ट, बगैंचा तन्दुरी रेष्टुरेण्ट एण्ड तास घर र होटल विनायक रेष्टुरेण्ट बारले सामान्यको स्टिकर पाएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख पुरीले जानकारी दिए ।

अति उत्तम हुनेलाई तीनवटा तारा अंकित हरियो स्टिकर, उत्तमलाई दुई तारा अंकित हरियो स्टिकर, सन्तोषजनकलाई एक तारा अंकित हरियो स्टिकर प्रदान गरिएको छ । यस्तै, मूल्यांकनमा सामान्य खाद्य स्वच्छता कायम गरेको पाइएकालाई पहेलो स्टिकर दिइने व्यवस्था रहेको छ । निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका होटलहरुलाई सुधार गर्न निर्देशन दिएको प्रमुख पुरीले जानकारी दिए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ का आधारमा बिर्तामोडमा स्तरीकरण गरिएको जनाइएको छ । त्यस्तै होटल रेस्टुरेन्ट सञ्चालकले पालना गर्नुपर्ने मापदण्डको व्यवस्था गरिएको छ । त्यही मापदण्डका आधारमा स्तरीकरण तथा मूल्यांकनका लागि चेकलिस्ट बनाएर स्टिकर प्रदान गर्ने गरेको बताइएको छ । निर्देशिकामा उल्लेख भएअनुसार होटल तथा रेष्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डका आधारमा खाद्य स्वच्छता निरीक्षण गर्न ५० बुँदे चेक लिस्ट बनाइएको छ ।

कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेष्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मुल्याङ्कन गरिने प्रमुख पुरीले जानकारी दिए । खानामा दिइने गुणस्तरियता, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्यांकन गरिने बताइएको छ ।

रेष्टुरेण्टमा नै गएर अनुगमन गर्दा तत्काल देखिएको अवस्थालाई चेकलिस्टमार्फत मूल्यांकन गरेर स्टिकर प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विराटनगरकी खाद्य निरीक्षक प्रमिला राईले बताइन् । चेकलिस्टमा मार्किङ गर्ने तरिकासमेत उल्लेख छ । त्यही आधारमा प्राप्त हुने नतिजा अनुसार स्टिकर प्रदान गरिएको छ । यसरी दिइएको स्तरीकरणको स्टिकर एक वर्षका लागि मान्य हुने गरी दिइन्छ ।

अनुगमन र मूल्यांकनका लागि व्यवसायी, उपभोक्ता र स्थानीय जनप्रतिनिधिसहितको समिति बनाइएको छ । बिर्तामोडमा मात्रै दुई हजारको हाराहारीमा होटल तथा रेष्टुरेन्ट रहेको जनाइएको होटल ब्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीले जानकारी दिए । उनले बिर्तामोडका सबै होटलहरुको अनुगमनलाई तिब्रता दिने बताए । समय–समयमा हुने अनुगमनले होटलहरुलाई स्वच्छ र सफा राख्न सहयोग गर्ने उल्लेख गरे ।

निर्देशिकामा होटल रेष्टुरेण्टको बर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख छ । उक्त प्रश्नावली र तोकिएको शर्तअनुसार बढी अंक ल्याउने व्यवसायले अतिउत्तम, उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्र लोगो पाउनेछन् । अतिउत्तम श्रेणीको होटेल रेष्टुराँले तीन वटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टीकर पाउनेछ । यो लोगोे पाउन होटेल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

त्यस्तै, उत्तम श्रेणीको खाद्य व्यसायले दुई वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दा माथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्दे्शिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटेल रेष्टुरेण्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । विभागले यो श्रेणीलाई सन्तोषजनक स्तरमा राखेपनि मन्त्रालयबाट स्वीकृत हुँदा यसलाई ‘सामान्य’ श्रेणीमा राखेर स्वीकृत गरिएको छ ।

व्यवसायीले लोगोको प्रकृतिबमोजिम प्रतिवद्धता जाहेर गरेरमात्र स्तरीकरण लोगो पाउनेछन् । लोगो प्रमाणपत्रको अवधि एक वर्षको हुने निर्देशिकामा उल्लेख छ । प्रमाणपत्र पाइसकेपछि पनि स्तरअनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ ।

लोगो प्राप्त गर्ने होेटल रेष्टुरेण्टको पुनः निरीक्षण पनि हुनेछ । जसमा अतिउत्तम प्रकृतिको खाद्य व्यवसायका हकमा एक वर्ष र त्यसभन्दा तल्लो श्रेणीकाको हकमा प्रत्येक छ महिनामा पुनः निरीक्षण गर्ने व्यवस्था निर्देशिकामा छ । अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणीअनुसार एक तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here