बिर्तामोड।
पवित्रादेवी खनाललाई खेतीपातीको यो मौसममा धानबालीको भन्दा बढी रंगशालाको संरक्षणको चिन्ता छ ।
उनको चिन्ता अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको डोमालाल राजवंशी रङ्गशालाको संरक्षणको हो । प्रतियोगिता सकेर अर्को संस्करण शुरु नहुञ्जेलसम्म अरुतिरका खेल मैदानलाई संरक्षणमा खासै चासो दिइँदैन । तर, बिर्तामोड–३ बिर्ताबजारमा रहेको सो रंगशालाको स्वरुप नबिग्रियोस् भनेर संरक्षण समितिले मध्य बर्खामा समेत काम गरिरहेको छ ।
बिहान ७ बजे नै मैदान आइपुग्ने खनाल अनावश्यक झार उखेल्नमै व्यस्त हुन्छिन् । उनी भन्छिन्– ‘हाम्रो काम भनेको दिनभरि झार उखेलेर फ्याल्ने हो ।’ उनीहरु तीन वर्षदेखि यसरी नै बर्खाका बेला मैदानमा जागिरे बनेका छन् । झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानलाई जोगाइ राख्नका लागि समितिले काम गर्ने गरेको बिर्तामोड–३की मुना भट्टराईले बताइन् । उनी पनि दैनिक झार उखेल्नमै खटिइन्छिन् ।
मैदानको आकर्षण नघटोस् भनेर समितिले काम गरिरहेको भए पनि आर्थिक रुपमा कहीँबाट सहयोग प्राप्त नभएको समितिले जनाएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा यो कामको प्रशंसा गर्छन् । उनी खेलकुद विकास समितिमार्फत चौरीको संरक्षणमा जुट्ने बताउँछन् ।
तर, डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले समयमै झार नफ्याल्ने हो भने प्रतियोगिता गर्ने बेलामा समस्या हुने बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’– गुरुङले भने– ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’ झापाकै गौरवका रुपमा रहेको यो रङ्गशालालाई बचाइराख्न जरुरी रहेको उनी बताउँछन् ।
मैदान व्यवस्थापनको खर्च भने समितिले आफैँ जुटाउँदै आएको छ । स्थानीय सरकारलाई संरक्षणमा सहयोग गर्न आग्रह गरे पनि वास्ता नगरेको उनको गुनासो छ । यो मैदानलाई देशकै उत्कृष्ट बनाउन सबै लाग्नुपर्ने उनको धारणा छ ।
मैदानको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि रहेको बिर्तामोड–३का वडाध्यक्ष भोजराज सिटौला बताउँछन् । त्यस्तै, मैदानको नियमित व्यवस्थापनमा नगरपालिका र वडा कार्यालयले आगामी दिनमा सहयोग गर्ने उनको भनाइ छ ।


























