अर्जुनधारा ।

महाशिवरात्री पर्वको अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामले शुक्रबार विभिन्न धार्मिक एवम् सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
सरकारको १०० पर्यटकीय गन्तव्यमा सूचिकृत धाममा विभिन्न स्थानहरुबाट आएका भक्तजनहरुले विहान ५ बजेदेखिनै मूल मन्दिरमा रहेको शिवलिङ्गमा जलार्पण गरेको कार्यक्रम संयोजक एवम् धामका सदस्य शेखर प्रधानले बताए ।

त्यसैगरी विहानैदेखि अखण्ड शिवधुनी जगाइनुका साथै भक्तजनहरुको लागि प्रसाद तथा फलफूल वितरण गरिएको कार्यक्रमअन्र्तगत साँझ चार प्रहरको पूजा, रुद्राभिषेक महायज्ञ र “एक साँझ शिवका माझ” भजन सन्ध्या कार्यक्रम सञ्चालन हुने धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।
संयोजक प्रधानका अनुसार धाममा आउने भक्तजनहरुलाई लक्षित गरी निःशुल्क पानी वितरण गर्ने बिर्तामोड–४स्थित गणपति अटो र सिद्धेश्वर इलेक्ट्रिकल्स एण्ड सर्भिस सेन्टर, प्रसाद तथा फलफूल वितरण गर्ने “हामी ०३८ से” र शनिश्चरे सुपारी सहकारी संस्था लि., पण्डाल व्यवस्थापन गर्ने “हामी ०३८ से”, सुरक्षा व्यवस्थापनमा सहयोग पु¥याउने शनिश्चरे प्रहरी चौकी, यातायात व्यवस्थापनमा सहयोग पु¥याउने शनिश्चरे ट्राफिक प्रहरी बिटलगायतलाई समितिकोतर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सोही पर्वको अवसरमा “हामी ०३८ से”, व्यवसायीद्धय सन्दिप गट्टानी र सुरेन शाहू र धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट मूल मन्दिरको विभिन्न भागमा स्थायीरुपमा अनुमानित तीन सय ५० मिटर विद्युतीय बत्ती जडान गरिएको थियो । त्यस्तै समितिका सदस्य भानुप्रसाद शिवाकोटीको परिवारबाट मूल मन्दिर श्रृंगारका लागि दुई सय वटा फूलको माला उपलब्ध भएको बताइएको छ ।
यसैबिच महाशिवरात्री पर्वको अवसरमा अर्जुनधारा–७स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पनि विशेष पुजा अर्चना गरिएको छ ।
धाम संरक्षण तथा सम्वद्र्धन समितिका सचिव रोशन नेम्वाङका अनुसार भक्तजनहरुले विहानैदेखि धाम परिसरमा रहेकोे शिवलिङ्गमा जलार्पण गरेको तथा साँझ शिवधुनी जगाउने कार्यक्रम रहेको बताइएको छ ।





























