बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विर्तामोडका शेयर सदस्यहरुलाई सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरीले गर्ने सुरक्षाका बारेमा तालिम प्रदान गरेको छ ।
संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा विर्तामोड सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको संस्थाका सचिव तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईले बताए ।
पछिल्लो समय फेसबुक , ट्वीटर , ह्वाट्सएप , भाइवर ,इमोलगायतका सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दो क्रममा रहेको र यस्तो घटनाबाट संस्थामा आवद्ध शेयर सदस्यहरुलाई जोगाउन तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए ।
संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नंं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले स्वागत गरेका थिए ।
बिर्तामोड नगरपालिका सहकारी अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाले गरेको प्रगतिको वारेमा जानकारी गराउनुका साथै सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरीले गर्ने सुरक्षा सम्बन्धी कार्यक्रम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट्याएका थिए ।
उक्त कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मुकुन्दप्रसाद रिजालले गरेका थिए । रिजालले पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक अपराध बढ्नुका कारण , सामाजिक सुरक्षा, समाजमा भएका सामाजिक समस्यालाई न्यूनीकरण गर्ने उपाय , हिंसा न्यूनीकरण गर्ने उपायका वारेमा विर्तामोड सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।
सोही कार्यक्रममा संस्थाका सदस्य हर्कबहादुर लिम्बूको मृत्यु भएकाले उनले लिएको १० लाख ऋण मिनाह गरिएको थियो । ऋण मिनाहको पत्र उनकी श्रीमती फूलमाया थाम्सोहाङलाई संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले प्रदान गरेका थिए ।
त्यसैगरी विर्तामोड सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरु थिरबहादुर बस्नेतको श्रीमतीको अप्रेसन बापत पाँच हजार ८ सय ७५,जुनिता केरुङ्गको अप्रेसनमा १३ हजार ५सय ,दुर्गादेवी तिम्सिनाको अप्रेसन बापत १५ हजार, नेत्रबहादुर थापाको छोरीको एपेन्डीक्सको अप्रेसन बापत ८ हजार २ सय ५० , लक्ष्मीप्रसाद तिम्सिनाको श्रीमतीको उपचार बापत ६ हजार ५सय ,पदम परियारको श्रीमतीको पथरियाको अप्रेसन बापत २७ हजार र दलबहादुर राजवंशीलाई उपचार खर्च १६ हजार ८ सय २२ रुपैयाँ उपचार राहत रकम वितरण गरिएको थियो ।
सोही कार्यक्रममा संस्थाको शेयर खरिद गर्ने ६५ जना सदस्यलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।






























