तीर्थराज खरेल,
नेतृत्व भनेको साझा लक्ष्य प्राप्तिका लागि आफ्ना सहयोगी र अनुयायीहरुलाई नीतिनिर्देशन र उत्प्रेरणाबाट निर्दिष्ट दिशातिर अघि बढाउने क्षमता राख्ने प्रक्रिया हो र सो प्रक्रियालाई अगाडि लैजाने व्यक्तिले निभाउने भूमिका हो– नेतृत्व । नेतृत्व भनेको पद र प्रतिष्ठा मात्र होइन, निरन्तर सिकाइको प्रक्रिया पनि हो । नेतृत्व विकासका प्रक्रिया र चरणहरु समयकाल र परिस्थिति अनुरुप फरक–फरक हुन्छन् तर समग्रमा नेतृत्वले आफू मातहतका अनुयायी वा सहयोगीहरुलाई सम्मान लक्ष्यतर्फ सक्रियताका साथ अभिमुख गराई लक्ष्यभेदनका लागि उत्प्रेरित गर्न सक्नुपर्दछ । योग्यता, क्षमता र अनुभव नेतृत्व विकासका लागि अति महत्वपूर्ण हुन्छन् ।
नेपालको परिवेशमा गएको सय वर्षको इतिहासलाई मनन् गर्ने हो भने महिलाहरुले धेरै क्षेत्रमा आफूलाई महिलाको मात्र होइन, समग्र मुलुकका विविध क्षेत्रका नेतृत्वमा स्थापित हुन सफल भएका छन् । घरधन्दा, अध्ययन र कुनै जागिर वा व्यवसायलाई सँगसँगै लैजानु महिलाको लागि अति कठिन काम हो, तर उनीहरु यसलाई छिचोल्दै अघि बढिरहेका छन् । जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको सामाजिक क्षेत्र र उत्पादनका क्षेत्रमा संलग्नता नभइकन कुनै पनि समाजको विकास सम्भव छैन । पितृसत्तात्मक उत्पीडन र शोषणका जुवामुनि पिल्सिएका महिलाहरु विज्ञान, प्रविधि तथा सूचना–सञ्चारको आजको युगमा आफूलाई समाजका हरेक क्षेत्रमा नेतृत्वका रुपमा विकास गर्न प्रयत्नशील छन् । नेपालमा समावेशिता र समतामूलक समाजको विकास आवश्यक छ भन्ने मान्यताका आधारमा संघीयताको विकास गर्ने मूल लक्ष्यतर्फ हाम्रा संवैधानिक प्रबन्धहरु परिलक्ष्यित छन् । सोही अनुरुप निजामती, बैंकिङ, शिक्षा लगायतका क्षेत्रमा महिलाहरुका लागि आरक्षण कोटाहरु छुट्याइने प्रावधान छ । आरक्षणको कोटाबाट वा आफ्नै क्षमताका कारण प्रतिष्पर्धामा अब्बल भएर महिलाहरु हरेक क्षेत्रका नेतृत्वमा पुगेका छन् ।
समयको माग र संवैधानिक व्यवस्थाको सुविधाका कारण महिलाहरु शिक्षा, राजनीति, बैंकिङ, वाणिज्य, खेलकुद, कृषि, इञ्जिनियरिङ लगायतका विविध क्षेत्रमा अग्रणी स्थानमा पुगेका छन् । मुलुकको राष्ट्रपति महिला हुनुले प्रेरणा त निश्चय नै दिएको छ महिलालाई, तर आधारभूत तहको यथार्थ अलि फरक छ । धेरै विद्यालय, क्याम्पस, बैंक, उद्योग, राजनीतिक क्षेत्रको नेतृत्व महिला रहेको धेरैलाई थाहा छ । तर, धेरैलाई थाहा नहोला, उच्च तह मात्र होइन, अन्य तहमा पनि महिलाको धेरै बढोत्तरी भइरहेको छ । वास्तवमा हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति छ । बैंकमा सीईओ, डीसीईओ, चिफ बिजनेश अफिसर, ग्लोबल मार्केट्स् हेडलगायत व्यवस्थापनका महत्वपूर्ण पदहरू महिलाकै जिम्मामा छन् । सरकारी क्षेत्रमा महिलालाई आरक्षणमार्फत जिम्मेवारी दिएको मान्ने हो भने पनि निजी क्षेत्रहरूमा पनि महिलाको संख्या बढ्दो छ । धेरै जसो निजी संस्थाहरु त कार्यसम्पादनलाई पहिलो आधार मान्छन् मूल्याङ्कनको । पुरुषसँग सहकार्य र प्रतिष्पर्धा दुवै गर्दै हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति रहेको छ र यो क्रम तीब्र रुपमा अघि बढिरहेको छ । विद्यालय, क्याम्पसको नेतृत्व, निजामती क्षेत्र, बैंक लगायतका व्यवस्थापनको उच्च तहमा पुग्ने नामहरू महिलाका लागि अनुशरणीय तथा अनुकरणीय नामहरु हुन् ।
आफ्नो प्रतिभा, क्षमता, लगनशीलता, निष्ठा, समर्पण, दत्तचित्तता र निरन्तरता जस्ता असल गुणहरुकै कारण महिलाहरु समाजका हरेक क्षेत्रमा नेतृृत्वमा पुगेकोमा शंका छैन । दया–माया र कृपाले मात्र कोही पनि उच्च तहमा पुग्न अत्यन्तै कठिन हुन्छ । उदाहरणका लागि निजी बैंकमा महिलाका लागि आरक्षणको व्यवस्था छैन तर धेरै महिलाहरु अग्रपंक्तिमा छन् र तिनीहरु सबै आफ्नै क्षमताले नेतृत्व तहमा पुगेका हुन् । कामप्रति इमान्दार, पारदर्शी हुँदै राम्रो कार्यक्षमता प्रदर्शन गरेर तथा प्रतिस्पर्धाबाटै महिला नेतृत्व तहमा पुगेका हुन् । घरकै चौघेरामा सीमित रहने महिलाहरु केही दशकमा समाजका विविध क्षेत्रमा पन्छाउनै नसकिने गरी अग्रणी भूमिकामा देखा परेका छन् । समाजले बैंकिङ, शिक्षण, प्राध्यापन, व्यापार, खेलकुद, चलचित्र, नर्सिङ, चिकित्सा लगायतका पेशामा महिलालाई इज्जत दिने भएकाले महिलाहरु यसरी अगाडि सरेका हुन् ।
हिजोको जस्तो संकीर्णता अहिले छैन । पछौटेपनकाबिरुद्धको संघर्षमा महिलाहरु धेरै अगाडि बढेका छन् । महिलाहरुले आफैबिरुद्ध, आफ्ना रुढीवादी सोचबिरुद्धमा र आफ्नो परिवार, पितृसत्तात्मक समाज र राज्यका महिलाविरोधी प्रबन्धबिरुद्धमा संघर्ष गरिरहेछन् र यो निरन्तर जारी छ । नेपालमा दश वर्षसम्म सञ्चालित जनयुद्धमा युद्धको मोर्चामा महिलाहरु नै थिए । रुस, हंगेरी, क्युबा लगायतका देशहरुमा ५० प्रतिशतभन्दा बढी शिक्षक तथा चिकित्सकहरु महिला नै छन् । नेतृत्व तहमा महिला पुग्न कामप्रति समर्पित हुनुपर्ने र समयको माग अनुरुप आफ्नो क्षमतालाई परिस्कृत गर्न आवश्यक छ । महिलाहरुले क्षमताले नै नेतृत्वमा पुगिने हो भन्नेमा विश्वास गर्न सक्नुपर्छ । केही दशक अघिसम्म महिलालाई सुरक्षित, प्रतिष्ठित, आकर्षक तलब तथा राम्रो सेवासुविधा भएको पेशा मात्र छान्न प्रेरित गरिन्थ्यो, तर अब क्रमशः मेकानिक, पाइलट, ड्राइभर, सुरक्षाकर्मी लगायत बन्न पनि महिलाहरु अग्रसर हुने गरेका छन् । हरेक क्षेत्रमा महिलाको रुची बढ्दै गएको छ ।’ धेरै क्षेत्रमा कामप्रति सजगता, लगाव, संवेदनशीलता, जिम्मेवारीबोध महिलामा बढी हुने गरेको पाइएको पनि छ । जुनसुकै क्षेत्रमा उपल्लो तहमा पुग्न अनुभव, हौसला, आत्मविश्वास र निरन्तर कामप्रतिको लगाव चाहिन्छ ।
महिलाका लागि क्षमताका साथै कार्यक्षेत्रमा सँधै अब्बल प्रमाणित गर्न चुनौति रहेको छ । एउटै काममा पुरुषलाई विश्वास गर्ने तर महिलालाई गर्न नसक्ने नेपाली समाजको मानसिकता पनि छ । तर यो क्रमशः चिर्दै महिलाहरुले बोलीले भन्दा पनि व्यवहारबाट प्रमाणित गरेर देखाइरहेका छन् कि उनीहरु पनि पुरुष सरह जिम्मेवार हुन सक्छन् र कार्यसम्पादनको क्षमता राख्छन् । हरेक कदममा महिलाले म अब्बल छु भन्ने प्रमाणित गर्नुपर्ने रहेछ भन्ने व्यवहारले देखाएको छ । एकातिर पुरुष कर्मचारीभन्दा शैक्षिक, प्राज्ञिक र काममा अब्बल हुँदा समेत महिलाको न्यून मूल्यांकन हुने चुनौति छ महिलाको लागि, तर पनि काम गर्दा निरन्तर अध्ययन गर्ने, पदीय मर्यादा जोगाउने र प्रतिस्पर्धात्मक क्षमताको विकास गरी नेतृत्व तहमा समेत पुग्ने लक्ष्य लिनु जरुरी छ । नेपालको संविधान २०७२को धारा ३८ले महिलाका हक र अधिकारलाई सुनिश्चित गरेको छ । जसमा महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हकदेखि महिलाबिरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शोषण नगरिने र गरिएमा पीडितलाई कानून बमोजिम क्षतिपूर्ति प्राप्त हुने प्रावधान लगायत सम्पत्ति तथा पारिवारिक मामिलामा समान हक हुन प्रत्याभूति सो संविधानले दिएको छ । यो ज्यादै सकारात्मक उपलब्धि हो । त्यस्तै नेपालले दिगो शान्ति हासिल गर्न समावेशी तथा समन्यायिक विकासलाई जोड दिने रणनीति अन्तर्गत महिलाको जीवनस्तर उठाउन समन्यायिक विकास रणनीति अपनाउने लक्ष्य लिएको छ ।
सदियौंदेखि पितृसत्तात्मक जुवामुनि कुल्चिइएका नेपाली महिलाहरुले केही दशकसम्म क्षतिपूर्तिस्वरुप आरक्षण पाउनुपर्छ र संविधान, ऐन, कानूनले पनि यही प्रावधान राखेका छन् । तर महिलाहरुले आफ्नो क्षमता विकासमा सोच्न जरुरी छ । एउटा दीप प्रज्ज्वलित हुँदा धेरै क्षेत्र उज्यालो हुन्छ, त्यसैगरी एउटी महिला नेतृत्वमा पुग्दा धेरै सहयोगीहरुलाई उत्प्रेरणा प्राप्त हुन सक्नुपर्दछ । अन्ध नक्कल गर्ने होइन, तर नेतृत्वबाट सिक्ने हो । नेतृत्वले पनि आफ्ना सहयोगीहरुलाई अन्धानुकरणका लागि प्रशंसक मात्र बनाउने होइन, कार्यक्षेत्रमा सक्षम बनाउन प्रेरणा दिने हो र बाटो देखाउने हो । महिलाले पनि म महिला भएकै कारण नेतृत्वमा पुग्न पाएको हो भन्ने मानसिकता त्यागेर आफ्नै क्षमताका कारण नेतृत्व प्राप्त गर्न सफल भएँ भन्ने भाव आफूमा सृजना गर्ने परिस्थिति निर्माण गर्नुपर्दछ ।


























