वडालाई पठाउने बजेटको सिलिङ कटौती नगर्न चार दलको माग

0
1365

अमित खम्बू / अर्जुनधारा ।

आगामी आर्थिक वर्ष ०७७÷०७८को बजेटमा वडालाई पठाउने बजेटको सिलिङ कटौती गर्ने अर्जुनधारा नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न नगरका चार राजनीतिक दलले नगर प्रमुखसँग माग गरेका छन् ।

प्रतिपक्ष दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार एक कार्यक्रमकोबीच नगर प्रमुख हरिकुमार रानालाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

काँग्रेस पार्टीका नगर सभापति हेमप्रसाद खरेल, समाजवादी पार्टीका नगर अध्यक्ष सृजलाल चौधरी, राप्रपा पार्टीका प्रतिनिधि लवकुश गिरी र जनमुक्ति पार्टीका नगर अध्यक्ष दिलीप राईले संयुक्तरुपमा हस्ताक्षर गरेको पत्रमा वडावासीको प्रत्यक्ष सहभागीता, संलग्नता र आवश्यकताका आधारमा योजनाहरुको छनौट गरी वडामै विकासको मोडल तयार गर्ने बजेटको सिलिङ कटौती गरिनु संघीयताको मूल्य, मान्यता, मर्म र भावना विपरीत रहेको उनीहरुको ठहर छ ।

धेरै वडाध्यक्षहरुको आपत्ती तथा असहमती रहँदारहँदै एकलौटी ढंगले नगर सभाबाट वडामा जाने बजेट नगरमै राख्ने चलखेल हुनुलाई उनीहरुले जनविरोधी कार्य भएको टिप्पणी गर्दै तत्काल रोक्न र वडामा पठाउने बजेटको सिलिङ कटौती नगरी वडामानै पठाउन माग गरेका छन् ।

त्यसैगरी नगरको बजेट कस्तो बनाउने भन्ने विषयमा राजनीतिक दलहरुसँग परामर्श नगरी नगर सभा उद्घाटन तथा सञ्चालन भइरहेको विषयलाई गम्भिर रुपमा लिएका दलहरुले नदीजन्य पदार्थहरुको अवैध निकासीलाई नियन्त्रण गर्न समयमै ठेक्का खुलाई नगरको आम्दानी वृद्धि गर्न, नगरभित्र रहेका बालशिक्षाका शिक्षक र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनका लागि नीति तथा कार्यक्रममा समावेश गरी सो बमोजिम गर्न तथा गराउन पत्रमार्फत् नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।

ज्ञापन पत्रमा उल्लेख भएका मागहरु समयमै सम्बोधन नभएमा चरणबद्ध आन्दोलनको घोषणा गरी अगाडी बढ्ने पत्रमा उल्लेख गरिएको छ । यता यस विषयमा नगर प्रमुख हरिकुमार रानासँग बुझ्दा उनले दलहरुको सुझाव र ज्ञापन पत्रमा उल्लेख भएका मागहरु बारे आवश्यक छलफल गरि निष्कर्ष निकालिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here