हत्या, हिंसा र बलात्कारका घटनाबाट त्रसित मन

0
1573

पछिल्लो समय मुलुकमा अपराधकोे घटना बढ्दै गएको छ । दैनिकजसो एकपछि अर्को गर्दै श्रृंखलाबद्वरुपमा अपराधिक घटनाहरु बाहिर आइरहँदा मानिसको मनमा त्रास बढेको छ । जसकाकारण जनमानिस आतंकित बनेका छन् । चिन्तित बनेका छन् । असुरक्षित महुशुस गरेका छन् । व्यक्ति हत्या र यौन अपराधका घटना संख्यात्मक रुपमा बृद्धि भएर सीमा नाघेको छ । यस्ता घटना सुन्दा दिनदिनै मानिसमा क्रुरता र साक्षसी स्वभाव हावी हँुदै गइरहेको भान हुन्छ । के अब मानवीयता हराउँदै गएको हो त ? भन्ने पनि लाग्छ ।

विश्व कोरोना महामारीसँग जुधिरहेको बेला चैत्र ११ गतेको लकडाउनदेखि यता छ महिनाको अवधिमा मुलुकभरमा अनगिन्ती जघन्य अपराधका घटनाहरु घटेका छन् । जसका कारण धेरै मानिसहरुले ज्यान गुमाएका छन् । कतै परपुरुषसँगको सम्बन्धका कारण श्रीमतीद्वारा आफ्नै श्रीमान्को हत्या भएको छ भने कतै छोराबाट आमाको हत्या भएको छ । कतै आपसी विवादका कारण छोरीद्वारा बाबुको हत्या भएको छ । कतै नातिद्वारा हजुरआमाको निर्मम हत्या भएको छ त कतै आर्थिक लेनदेनका कारण साथीबाट साथीको हत्या भएको छ । कतै अन्तरजातीय प्रेमका कारण समूहद्वारा समूहको हत्या भएको छ भने कतै व्यक्तिद्वारा समूहको हत्या भएको छ । कतै छोराहरुबाट बाबुको हत्या भएको छ  भने कतै जेठाजुबाट बुहारीको हत्या भएको छ । यस्तै कति अपराधका घटनाहरु परिवारभित्र परिवारका सदस्यबाटै भएका छन् भने कति रिसिइबीका कारण व्यक्तिबाट व्यक्ति हत्याकाण्ड पनि उत्तिकै दैनिक रुपमा भइरहेका छन् ।

मानिसहरुलाई यतिबेला एकातिर कोरोना महामारीको डर छ भने अर्कोतिर समाजमा बढ्दै गएको हिंसात्मक प्रवृत्तिको डर छ । मुलुकमा यस्ता जघन्य अपराधका घटनाहरु किन सामान्य बन्दै छन् ? विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालमा किन यति बिघ्न अपराधका गतिविधिहरु मौलाउँदै गइरहेका छन् ? विश्वमा शान्तिको देश भनेर चिनिने देश आज किन अशान्त बन्दैछ ? कैयौं निर्मलाहरु दैनिकजसो बलात्कृत भइरहेका छन्, मारिइरहेका छन् । आफ्नै शिक्षक, जनप्रतिनिधि र छरछिमेकबाटै यौन शोषणमा परिरहेका छन् उनीहरु । निर्मलाहरु बलात्कारपछि बलात्कारीबाटै मारिएका छन् भने कति समाजमा बद्नाम हुने डरले आफंै आत्महत्या गर्न बाध्य भएका पनि छन् । बलात्कारका घटनालाई कतिपय अवस्थामा गाउँमै पञ्चहरुद्वारा पैसामा मिलाउने कोशिस गरिँदा न्याय नपाएर पीडितले आत्महत्यासम्म गरेका छन् । अत्यन्त घृणित र दुःखलाग्दो कुरा के छ भने केही समययता आफ्नै बाबुद्वारा नाबालिका छोरीहरु बलात्कृत भएका घटनाहरु छन् । यसरी बालिकाहरु घरमै आफनै जन्म दिने बुबाबाट असुरक्षित र बलात्कृत हुन थालेपछि अब कसको विश्वास गर्ने ? नाबालिका छोरीहरुलाई कसरी जोगाउने भन्ने गम्भीर चिन्ता आमाहरुलाई थपिएको छ  ।

अनुसन्धानबाट यस्ता अपराध, हिंसाका घटना विभिन्न कारणले घटेको देखिएका छन् । कतिपय अवस्थामा मादकपदार्थको सेवनबाट भएको पृष्टि भएको छ भने कतिपय मानसिक रोगको समस्याका कारण पृष्टि भएकोे छ । कतिपय घटना रिसिइबी र लेनदेनका कारण घटेको देखिएको छ । त्यस्तै प्रविधिको विकास सँगै अपराधका शैलीहरु फरक र भयानक बन्दै गएका छन् । सामाजिक सञ्जालको प्रयोगबाट धेरै मानिसहरु अपराधको शिकार बनेका छन् । विज्ञहरु व्यक्ति हत्या र यौन शोषण जस्ता अपराध हाम्रो समाजमा मौलाउनुका प्रमुख कारण मुलुकको फितलो कानून र दण्डहीनता औल्याउँछन् । पहुँचवाला र शक्तिमा रहेकाहरुबाट अपराधीलाई कानूनी कारवाहीको साटो संरक्षण गरी राजनीतिक र शतिmको आडमा दोषीलाई उन्मुतिm दिएर अपराधीको मनोबल बढाउने काम भएको बताउँछन् उनीहरु । जसले हिंसा भड्किलो बन्न सघाउ पु¥याइरहेको छ ।

पीडितले न्याय पाउन अनेक शैलीमा आन्दोलन गर्नुपर्ने, न्याय नपाएर पीडित झन्–झन् पीडित बनेर मर्न बाध्य भएका कैयौं उदाहरणहरु पनि हाम्रो मुलुकमा छन् । शक्तिमा रहेकाहरुबाट वास्तविक अपराधी लुकाउन राजनीतिक चलखेल गरिँदा, घटना तोडिँदा, मोडिँदा र सामसुम पारेर जनताको आखामा छारो हाल्ने काम गरिँदा जनताको सरकारप्रतिको विश्वास कम भएको छ ।

आखिर कहिलेसम्म यस्तो दिन भोग्नुपर्ने जनताले ? गरीबलाई ऐन धनीलाई चैन कहिलेसम्म सरकार ? अपराध रोक्न गम्भीरता देखाउ सरकार । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति देउ । जनताको जीउधनको सुरक्षा गर । ज्यान मार्ने र बलात्कारीलाई जस्ता अपराधीलाई कडा दण्डसजाय (मृत्युदण्ड या आजीवन कारावास)को व्यवस्था गरेर अपराध न्यूनीकरण गर र कयांै निर्मलाहरुलाई न्याय देउ । ताकी यस्ता अपराध गर्न फेरि कसैले आँट त के सोचसम्म राख्न नसकोस् ।
यही गतिमा अपराध दैनिक उछृङ्गल र भड्किलो बन्दै गए अवस्था भयाभह बन्न सक्छ । यो सबैको चिन्ताको बिषय हो । आधुनिक युग बच्चादेखि बुढापाकासम्म सबैको हात–हातमा मोबाइल, सूचनाको पहुँच । अपराध गर्ने प्रवृत्तिको सिको हुन सक्ने सम्भावना पनि छदैछ । यसर्थ सरकारको यसमा गम्भीर ध्यान जान जरुरी छ । दण्डहीनता होइन, कानूनी राज्यको प्रत्याभूति गराउन जरुरी छ । नेपाली जनताले आफ्नो देशमा, घरमा सुरक्षित र शान्त महशुस गर्न सकेमात्र सुखी र समृद्ध नेपाल सम्भव हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here