भन्सार बुझाएका करोडौका गाडी कवाडी

0
987

पार्थ मण्डल,
भद्रपुर ।

मन्त्री, जनप्रतिनिधि र सरकारी अधिकारीले महंगा गाडी खरिद गरेर चढ्ने होडबाजी देशभर चलेको छ । उनीहरूले राज्यको ढुकुटी रित्याएर महँगा गाडी खरिद गरिरहेको बेला सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका गाडीहरू चाहिँ कवाडी बन्ने अवस्थामा पुगेका छन् ।

राज्यलाई राजश्व आउने ती सवारीसाधनप्रति कसैलाई चासो छैन । प्रहरीले विभिन्न मुद्दामा जफत गरी लिलाम गर्नुपर्ने करोडौँ मूल्यका गाडीहरू भन्सार परिसरमा बर्षोदेखि थन्किएका छन् । लामो समयदेखि लिलाम नगरिँदा ती सवारीसाधन अहिले कामै नलाग्ने अवस्थामै पुगिसकेको स्थानीयले बताएका छन् ।

सरकारी निकायको लाचारीका कारण मेची भन्सार कार्यालयमा एक सय ६ वटा मोटरसाइकल र २५ वटा चार पाङ्ग्रे गाडी त्यत्तिकै थुपारेर राखिएको छ । भद्रपुर भन्सार कार्यालयमा २५ वटा मोटरसाइकल र आधा दर्जन चार पाङ्ग्रे गाडी थन्क्याएको पनि दुई वर्ष बित्यो । दुवै भन्सारमा राखिएका कतिपय गाडी घामपानीले बिग्रिसकेको अवस्थामा पुगिसकेको छ । कतिपय त धुलोका कारण चिन्नै नसकिने अवस्थामा पुगेका छन् ।

अधिकांश गाडीहरूको पार्टपुर्जा नै नभएको अवस्था देख्न सकिन्छ । भन्सारले लामो समयदेखि लिलाम नगरिएका गाडीहरूको मूल्यमा गिरावट आउने र लिलाम गर्दा पनि खरिद गर्ने वातावरण नभएको स्थानीय विक्रम राईले बताए । ती गाडीहरू लिलाम नगर्दा राज्यलाई नै घाटा भइरहेको बताउँदै उनले भने– ‘सम्बन्धित निकायले तत्काल गाडीहरूलाई लिलामको प्रक्रियामा लैजानु पर्छ ।’

कोरोना भाइरस सङ्क्रमणसँगै भएको लकडाउनका कारण सवारीसाधन समयमा लिलाम गर्न नसकिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख धु्रब विश्वकर्माले बताए । तर लकडाउन खुलेको महिनौँ बिते पनि भन्सारले सवारी लिलामको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकेको छैन । प्रत्येक वर्ष गर्नुपर्ने लिलाम २ वर्षसम्म रोकिँदा करोडौँ मूल्यका सवारीको मूल्य घट्ने र राजश्व सङ्कलनमा प्रभाव पर्ने भन्सारका अधिकारी स्वयम् स्वीकार्छन् । अब भने चाँडै नै सबै प्रक्रिया पूरा गरेर सवारी लिलाम बिक्री गर्ने भन्सार प्रमुख विश्वकर्माको भनाइ छ ।

यता भद्रपुर भन्सार प्रमुख प्रमोद पौडेलले आफूले भर्खरै सरुवा भएर जिम्मेवारी सम्हालेको बताएका छन् । कार्यालयमा आउनु अघिदेखि नै भन्सारमा गाडीहरू लिलामको प्रक्रियामा न लैजाँदा समस्या उत्पन्न भएको उनले बताए ।

ढिला हुँदा भन्सारमा रहेका अधिकांश गाडीहरू कामै नलाग्ने अवस्थामा पुगिसकेको स्वीकार्दै उनले भने– ‘अब चाँडै सूचना निकालेर गाडीहरूलाई लिलामको प्रक्रियामा लैजान्छौँ ।’ गाडीहरू समयमा लिलाम हुन नसक्दा एकातिर राजश्व सङ्कलनमा कमी आउँछ भने अर्कातिर अवैध कार्यमा प्रयोग भएका गाडीबारे सूचना दिने सूचकले पाउँदै आएको कमिसन समेत समयमा नपाउँदा प्रहरीलाई दिने अन्य सूचना पनि नआउने सम्भावना बढेको छ ।

तसर्थ भन्सार बुझाइएका सवारीसाधनको समयमै लिलाम बिक्री गरी तोकिएको राजश्व सङ्कलन गर्न जरुरी छ । नत्र करोडौँ मूल्यका गाडीहरू कवाडीको भाउमा मात्रै बिक्री हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here