झापा ,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनस्थापनाले संविधानको संरक्षण गरेपनि निर्वाचनले मात्रै राजनीतिक निकास दिने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाको आयोजनामा विर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै डा. कोइरालाले देशको अबको राजनीतिक परिवेश समाधानका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहने बताउँदै अल्पमतको सरकारले मात्रै निर्वाचन गराउन सक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भयो ।
सर्वोच्चको पहिलो निर्णयसम्म पर्ख र हेरको अवस्थामा बसेको कांग्रेसले अदालतको दोस्रो निर्णयपछि निम्तिएको राजनैतिक संकटको निकासका लागि अगुवाई लिनुपर्ने बताउनु भयो ।
राजनीतिक संकट समाधानका लागि निर्वाचन एकमात्र विकल्प रहेको बताउँदै कोइरालाले अबको १ वर्षभित्रसम्ममा निर्वाचन नभए देशै धरापमा पर्ने अवस्थामा पुगेको औल्याउनु भयो ।
कोइरालाले भन्नुभयो–‘संसद पुनस्थापना नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्रीले केपी शर्मा ओलीले अब संसदबाट विश्वासको मत जितेर मात्र अघि बढ्नुपर्छ, तर पुर्नस्थापित संसदको पहिलो दिनको अवस्थालाई हेर्दा संसदमा विश्वासको मत प्राप्त हुने देखिंदैन ।’ उहाँले अगाडि भन्नुभयो–‘देशको निकासका लागि एकवर्षभित्रमा निर्वाचन अनिवार्य छ ।’
संसद पुनस्र्थापना हुने वित्तिकै नैतिकताका आधारमा राजिनामा नदिएका प्रधानमन्त्रीले अब संसदमा विश्वासको मत लिएर मात्र अघि बढ्नुपर्ने जरुरी औल्याउनु भएको छ ।
निर्वाचनको नेतृत्व कांग्रेसले लिनुपर्नेमा जोड दिएका डा. कोइरालाले कांग्रेसले मात्र निष्पक्ष निर्वाचन गराउने उहाँको दावी थियो ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्यले कांग्रेसले मुलुकको नौटंगीमय राजनीति हेरेर बस्न नहुनेमा जोेड दिनुभयो । पछिल्लो समय लोकतन्त्र मात्रै नभएर राष्ट्रियता नै खतरामा परेको बताउँदै गुरुङले नेपाल दिल्ली र बेइजिङको क्रिडास्थल बन्न दिनु नहुने बताउनु भयो ।
अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले संकटमय अवस्थामा रहेको मुलुकको निकासका लागि नेताहरुले बेलैमा सोच्नुपर्ने बताउनु भयो ।
सो अवसरमा केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, लोकराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा स्वागत पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई र सञ्चालन सल्लाहकार राजेन्द्र गौतमले गर्नुभएको थियो ।
































