आज फागुन महिनाको कृष्ण चतुर्दशी । यो दिन शिवरात्रीका रुपमा भगवान शिवको विशेष पूजा, भक्ति र आराधना गरेर मनाइन्छ । आजको रात विज्ञानका आँखाले पनि महत्वका साथ हेरिन्छ । अर्थात् यस रातमा उत्तरी धु्रव यसरी रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति वा गुरुत्वाकर्षणको असाधारण बहाव रहने प्रमाणित भएको छ । पूर्वीय वैदिक संस्कारमा भएको विज्ञानसम्मत तथ्यहरुका आधारमा शिवरात्री लगायतका पर्वहरुले पश्चिमा जगत्लाई समेत आकर्षित गर्न थालेको छ । पूर्वीय दर्शन अनुसार शिवरात्रीको दिनले मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यहीकारण मानिस आध्यात्मिक शक्ति आफूमा सञ्चार होस् भनी रातभर जाग्राम बसेर शिवरात्री मनाउने संस्कार प्रारम्भ भएको मानिन्छ ।

भगवान शिव निराकार छन्, जसको आदि र अन्त्य पनि छैन । उनको रिसले क्षणभरमै विश्वका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गर्न सक्छ । शिवतत्व छ पनि छैन पनि । विज्ञानले समेत विश्वका सबकुरा जुन स्रोतबाट आउँछ, त्यही स्रोतमा विलिन हुन्छ भन्ने मानेको छ । जुन कुरा शिवतत्वको उदाहरणसँग मिल्छ । हावा, पानी, माटो, आगो र आकाश नामका पञ्चतत्वको योगबाट ब्रह्माण्डको निर्माण भएको छ । त्यही तत्व नै हामी सम्पूर्ण जीवको स्रोत हो र त्यो भगवान शिवबाट निसृत हुन्छ । त्यही भएर भगवानलाई देवका पनि देव महादेव भन्ने गरिएको छ । अनेक नामले चिनिने शिवतत्व संहारक मात्र होइन करुणाको सागर पनि हो । सतीदेवीको मृत देह बोकेर पत्नी वियोगमा विश्व ब्रह्माण्ड यात्रा गर्ने शिव यसका आधारमा करुणाका सागर हुन् भनिएको हुन सक्छ ।
आजको यो दिनलाई तिनै भगवान शिवको विवाहको वार्षिकोत्सवका रुपमा समेत सम्झना गरिन्छ । साधना गर्नेहरुका लागि भगवान शिव पर्वत रुपधारण गरेर अचल, अमर र अजर भएको दिन आज भयमुक्त दिवस पनि हो । योगीहरु योगमूर्ति उनै भगवान शिवको अनुकम्पाबाट प्राप्त योगशिक्षा सप्तऋषि हुँदै आजको पुस्तासम्म हस्तान्तरण भइरहेको छ । विश्वभरि नै योग शिक्षा, साधना, स्वस्थ रहने, दीर्घायु हुने माध्यम बनिँदै गएको छ । विश्व ब्रह्माणका सम्पूर्ण कुरा शिवतत्वबाटै आउँछन्– यो पूर्वीय दर्शनको मान्यता हो । संसारमा सबै कुरा शिवतत्वबाट आउँछ र त्यसमै समाहित हुन्छ । अर्थात् रुप, योवन, शिक्षा, धन, कर्म,जन्मसँगै प्राप्त हुँदै जान्छन् र अन्ततः देहत्याग गरिँदा त्यहीं बिलाउँछन् । साथमा नजाने कुनै वस्तुमाथि घमण्ड गर्नु व्यर्थ छ । रिस, राग, इष्र्या, घृणा, लोभ, दम्भ, मोह सबै नाशवान छन्, जसरी कि शरीरको अवसान हुन्छ । त्यसैले आजको यो महान दिनले शिवतत्वमा समाहित हुइन्छ, त्यो पनि रित्तै हात भन्ने तत्वबोध गर्ने शक्ति प्रदान गरोस् । सबै कल्मषहरु धोएर सफा र सदाचारी कर्म गर्ने प्रेरणा प्राप्त होस् । अहंकारमुक्त, सत्य, इमान र धर्मको मार्गमा अग्रसर होऔं, शुभकामना यो महान पर्वको ।




























