भद्रपुर।

झापाको सदरमुकाम रहेको सबैभन्दा पुरानो नगर भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय बन्ने भएको छ ।
रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको शौचालयको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बुधवार आयोजित कार्यक्रमकाबीच ट्रेड युनियन चोक महेन्द्र पार्क चन्द्रगढीमा विधिवत् रुपमा शिलान्यास गरेका हुन् ।
भद्रपुर नगरपालिकाको सहयोग रहेको शौचालय निर्माणका लागि समाज तथा क्लवको १५ लाखको लागतमा अबको २ महिनाभित्र सम्पन्न गरिसक्ने गरी निर्माण कार्यको शिलान्यास गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले शौचालय निर्माणले जिल्लाभित्रबाट सरकारी सेवा लिन आउने लगायतका आम नागरिकलाई सेवा पुग्ने बताउँदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आदित्य पराजुलीले समाज सेवा क्लवको मूल दायित्व भएको उल्लेख गर्दै शौचालय निर्माण कार्य अबको २ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले शौचालयमा ६ वटा बाथरुम र ४ वटा युरिनलसहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने बताउँदै निकट भविष्यमा भद्रपुर–८स्थित सगरमाथा चोकमा क्लक टावर निर्माणको योेजना रहेको जानकारी दिए ।
पराजुलीको अध्यक्षता तथा सचिव इश्वर अधिकारीको सञ्चालनमा सम्पन्न शिलान्यास कार्यक्रममा स्वागतसहित औचित्यमाथि उद्योग वाणिज्य संघ प्रदेश नं. १का अध्यक्ष तथा रोटरी क्लव भद्रपुरका पूर्व अध्यक्ष रोटरीयन टीकाराज ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा झापाली समाज अष्ट्रेलियाकी महिला कोअर्डिनेटर सोनु पुडासैनी, भद्रपुर–८का वार्ड अध्यक्ष गौरब सुब्बा, मनोज लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा भद्रपुर–१०का वडाध्यक्ष काजी खड्का, ५ का अध्यक्ष बन्धु कार्की, उद्योगी चण्डी पराजुली, नगरपालिकका इञ्जिनियर योगेन्द्र रञ्जितकार, झापाली समाज अष्ट्रेलियाका सदस्य कर्ण राजवंशी लगायत रोटरीयन र रोट्याकहरुको उल्लेख्य उपस्थिति रहेको बिगत ओझाले जानकारी दिए ।






























