झापा, चार्टर्ड उडानमार्फत यो हप्ताको मध्यसम्म ४२ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयको आँकडाले देखाउँछ ।
हवाई कार्गोमा विभिन्न देशबाट भित्रिएका अक्सिजन, फेस मास्क, औषधि, भेन्टिलेटर जस्ता सहयता सामग्री समेटिएको छ । एउटा तथ्याङ्कमा झण्डै ७२ लाख वटा मास्क र १० हजार भाइल रेम्डेसिभिरसहितका सामग्री भित्रिएको देखिन्छ । सरकारले शुक्रवारका लागि दशवटा विमानलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको छ ।
नेपालमा कोरोनाभाइरस महामारीको लकडाउनका कारण चार्टर बाहेक अन्य अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी यात्रा गर्ने सबैभन्दा बढी यात्रु भारतका रहेको पाइएको छ । यो अवधिमा बिहीवारसम्म ५६ वटा अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले जनाएको छ । त्यसमध्ये अधिकांश उडान स्वास्थ्य सहायता सामग्री भित्र्याउन केन्द्रित भएको बताइएको छ ।
कतिपय उडानले विभिन्न देशका अनुरोधमा नेपालमा रोकिएका विदेशीहरूलाई उनीहरूको गन्तव्यमा पुग्न सहजीकरण गर्ने उद्देश्य राखेको थियो। सरकारले गएको वैशाख २३ गतेबाट चार्टर बाहेक सबै आन्तरिक र बाह्य उडान रद्द गरेको छ । अन्तर्राष्ट्रिय उडानको अवस्था के छ ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीवारसम्म ५६ वटा उडान भएका छन्, जसबाट ४ लाख १४ हजार केजीभन्दा बढी विभिन्न किसिमका सामग्रीहरू नेपाल भित्र्याएको छ । उडान प्रतिबन्ध कार्यान्वयनमा आएको दुई दिनपछिबाट अन्तर्राष्ट्रिय चार्टर उडानहरू हुन थालेका विमानस्थलको आँकडाले देखाउँछ । अध्यागमन विभागका प्रवक्ता झकनाथ ढकालका अनुसार मे ८ यता बिहीवार अपरान्हसम्म २५ सय ६ जना नेपालबाट बाहिरिएका छन् भने ६ सय २९ जनाले नेपाल प्रवेश गरेका छन् । उनले दिएको आँकडा अनुसार अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३ सय १६ जना भारतीयहरू अन्यत्र प्रस्थान गरेका थिए भने नेपाल प्रवेश गर्ने भारतीयहरूको संख्या १ सय ८५ रहेको छ ।
यो अवधिमा नेपालले भारतसँग ‘एयर बबल’ सम्झौता अनुसार साताको दुई वटा उडानलाई अनुमति दिँदै आएको छ । नेपालबाट बाहिरिने भारतीयहरू मध्ये अधिकांश बन्दाबन्दीको कारण काठमाण्डूमा रोकिएका श्रमिकहरू रहेका विवरण आएका छन् । काठमाण्डूस्थित भारतीय दूतावासको अनुरोधमा सरकारले चार्टर विमानमार्फत उनीहरू साउदी अरेबियाका विभिन्न सहर पुग्ने व्यवस्था मिलाएको थियो । उनीहरूलाई लैजान नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडान गरिरहेका थिए । नेपालमा रहेका भनिएका लगभग धेरै भारतीयहरू गइसकेको र अब थोरै बाँकी हुनसक्ने आफूले बुझेको पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।






























