बुद्धका उपदेशको अनुशरण गरौ

१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

आज बैशाख शुक्ल पूर्णिमा । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको दिन । राजा शुद्धोधनको छोरा भएर पनि सांसारिकताबाट विरत भएर सुटुक्क दरबार त्यागेर साधु, सन्त र भिक्षुकारूपमा जीवन बिताए उनले । मन, आत्मा वा अन्तर हृदयको शान्तिको खोजीमा भौंतारिएका उनी बोधगयामा बोधीवृक्षका मुनि बसेर शान्तिको खोजी गर्न थाले । त्यही क्रममा आजकै दिन र तिथिमा ज्ञान प्राप्त भयो । त्यही आत्मबोध आज बौद्ध धर्म र बुद्धका उपदेश भएको छ । नेपालको लुम्बिनी अन्तर्गत कपिलबस्तुमा शाक्य बंशका राजा शुद्धोधनका पुत्र भएर महारानी मायादेबीको कोखबाट उनी जन्मिएका थिए । उनी जन्मिएको सात दिनमै माताको निधन भएकाले मातृवात्सल्यबाट बिमुख भए । जन्मिनासाथ उनी सात पाइला हिंडेको किंवदन्ती छ । त्यही बालक दरबारको भोगबिलाश र सुखशयल त्यागेर शान्तिको खोजीमा हिँडे । अनेक कष्टमा अविचलित साधनारत् रहँदा भएको आत्मबोध वा ज्ञान प्राप्ति आज विश्वका पैंतीस करोडभन्दा बढी मानिसको जीवन दर्शन, आस्था र बिश्वासको आधार बनिएको छ । यशोधरासँग बिवाह भई एक छोरा राहुलको जन्म भइसक्दा पनि घरगृहस्थी र सांसारिक मोहबाट अलग रहेर उनले गरेको साधनाको प्रतिफल आज करोडौं मानिसको जीवन आधार भएको छ । अथक प्रयास र साधना, निष्ठा र निरन्तरताले प्राप्त ज्ञान जब दुनियासँग सञ्चार भयो तब उपदेश बनियो । त्यही उपदेशले उनलाई महामानव हुँदै भगवानको सम्मान दिलायो । शान्ति, सत्य, अहिंसा र सरलताका पर्याय भगवान बुद्धका वाणि आज विश्वमाझ परिचित छन् । भौतिकता र ऐशआरामलाई बन्धन ठानेका उनले रोग, वृद्धता र मृत्युलाई जब नियति हो भन्ने थाह पाए तबदेखि नै अशान्त र अधीर बने । त्यसैले शान्तिको खोजीमा मध्यरातमा घरबाट हिँडे र शान्ति अनुभूत नहुञ्जेल साधनामा लिन रहे । नेपाल यसकारण पनि पुण्यभूमि हो किनकि यहाँको माटोमा आदर्श छोरी सीता जन्मिइन् । अनेक ऋृषि– महर्षिहरूको तपोभूमि समेत रहेको नेपालको माटो पबित्र छ । देबी देवताहरुले समेत पाइला राखेको यहाँको माटोमा फेरि पनि बुद्धत्व चाहिएको छ । उनका उपदेशहरूका व्यवहारिक अनुशरणले हामी सम्पूर्ण मानब जातिमा सहिष्णु, हार्दिक र बन्धुत्वको भाव जागृत गराउँछ । आजको जटिलताबाट मुक्ति दिलाएर अशान्ति, हिंसा र द्वन्द्वबाट शान्ति,अहिंसा र सरलतातर्फ डोहो¥याउने भगवान बुद्ध चाहिएको छ । आजको पबित्र दिनले हामी सबैलाई यसतर्फ चिन्तन गर्न प्रेरित गरोस् सबैलाई शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here