कोरोनाले थलिएका मिडिया र थपिएको चुनौति

१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

विमल लामिछाने

कोरोना भाइरस महामारीले सञ्चारमाध्यम र पत्रकारिता लगायत अघिकांश पेशा र व्यवसाय ठप्प पारिदियो । पत्रकारिता एकांकी पेशा होइन । समाजसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएका कारण पनि पत्रकारिता बढी जोखिमा परेको छ । स्वस्थ पत्रकारिताका लागि एकातिर मानिसका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक गतिविधि भइरहनुपर्छ भने अर्कातिर उद्योग व्यवसायले नियमित रूपमा आफ्ना सेवा वा उत्पादनको विज्ञापन उपलब्ध गराइरहनुपर्छ । अर्थात, समाजका सबै अवयव स्वतःस्फूर्त सञ्चालन भए मात्र पत्रकारिताले पनि पेशागत गोरेटोलाई सहजै आत्मसात गर्न सक्छ । तर, विगत एकवर्षदेखि सञ्चारमाध्यम र समग्र पत्रकारिता जगतले व्यहोरिरहेको हैरानी पनि इतिहासमा निकै कष्टप्रद रहेको कुरा छिपाउन सकिन्न । कोरोनाका कारणले सिर्जित लकडाउन, त्यसले समाजका हरेक तह र तप्कालाई पारेको असर, घरभित्र साँघुरिएको मानिसका फरक दैनिकी, सरकारको कोरोना नियन्त्रणसम्बन्धी गतिविधि, त्यसक्रममा भएका बलमिच्याइँ, भ्रष्टाचार, बेथिति र लाचारीले सञ्चारमाध्यमका विषयवस्तु ओगटिएका मात्र छैनन्, पत्रकारिता खुम्चिएको छ, मिडियाहरु थलिएका छन् । लकडाउनसँगै धेरै पेशा व्यवसाय बन्द भए । सञ्चारमाध्यमले नियमित रूपमा पाइरहेका विज्ञापन रोकिए । पत्रकारहरू समाचारका लागि स्वतःस्फूर्त रूपमा दौडिन पाएनन् । कतिपयको तलव समेत कटौती भयो । सयौँले निर्धारित तलबभन्दा कम पारिश्रमिक लिएर वा बेतलबी काम गरे यी सबै विषय पत्रकारले भोगेका र भोग्दै आएका विषय हुन् । कोरोना संक्रमणका बेलाका समाचारहरुपनि संक्रमण विशेष नै भएका छन् । स्वभाविक पनि हो । नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत पत्रकारहरू पेशा प्रतिको दायित्वबोध गर्दै संकटका बेला पनि काममा खटिरहेका छन् । मानवसिर्जित विपद् वा प्राकृतिक प्रकोपमा पत्रकारले ज्यानको बाजी लगाएर काम गरेका थिए । कोरोना महाव्याधिमा पनि खटिरहेकै छन् । सयौँ पत्रकार संक्रमितको समाचार संकलन गर्न जाँदा आफैँ संक्रमित भएका छन् । सिंगो महासंघ नै निशब्द भएको छ । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि पेशाप्रति जिम्मेवार सञ्चारकर्मीले नयाँ÷नयाँ सूचना पस्किने उत्सुकताकासाथ यतिखेर निकै जोखिमपूर्ण रूपमा आफ्नो पेशालाई निरन्तरता दिन बाध्य पनि भएका छन् । श्रमजिवी पत्रकारले कठिनाईका विचपनि कामलाई निरञ्तरता दिइरहेका छन् । यो महामारीबाट विश्वभर कति पत्रकार संक्रमित भएका छन् भन्ने अलग्गै तथ्यांक त अहिलेसम्म सार्वजनीक भएको छैन, तर पनि यो महामारी विश्वका अधिकांशजसो देशमा पुगिसकेको र लाखौको ज्यान गइसकेकाले महामारीको समाचार सम्प्रेषणका लागि कार्यक्षेत्रमै खट्नुपर्ने सञ्चारकर्मी पक्कै पनि कोरोनाको शिकार भएका छन् । प्राकृतिक प्रकोपजस्तै भूकम्प या सुनामीको समयमा पनि पत्रकारले आफूले नै रक्षात्मक उपाय अवलम्बन गर्दै आएका छन् । यो महामारीमा पनि प्रयास जारी छ । तर यस्तो महामारीमाचाही रक्षात्मक उपाय पनि असफल हुँदोरहेछ । विश्व युद्ध र गृहयुद्ध चलेका बेला बारुद र बन्दुकको दोहोरीमा बरु समाचार संकलन गर्दा त्रास कम थियो, दृष्य शक्तिबाट जोगिँदा पुग्थ्यो तर अहिले अदृष्य शक्ति हावी छ, जोगिन कठीन छ । यो अवस्थामा जोगिएर काम गर्नु आफैमा ठूलो चुनौति हो । मानवसिर्जित तथा प्राकृतिक प्रकोपकोबेला जोखिम त्यही क्षेत्रमा खट्ने पत्रकारलाई मात्र हुन्छ भने यतिबेलाको यो महामारीको समाचार संकलनमा जाने पत्रकार भने कुनै एकजना संक्रमित भयो भने उसका कारणले उसको सञ्चारगृह, आफ्नो घर र समाजमा नै संक्रमण फैलिन सक्छ । त्यसैले यो विपतमा सञ्चारक्षेत्र अरूभन्दा बढी संवेदनशील छ । यसको जोखिमको आयतन पनि अधिक रहेकाले पत्रकार बढी मारमा परिरहेका छन् । संक्रमणका बेला इन्टरनेटको प्रयोग कोरोना संकटले हामीलाई जति हैरानी दियो, त्यसको अलवा हामीलाई हरेक काम इन्टरनेटको माध्यमबाट गर्न अप्रत्यक्ष शिक्षा पनि दिएको छ । विज्ञानको प्रविधि र विकाससँगै आजको दुनिया इन्टरनेटविना बाँच्न नसक्ने भइसकेको छ । एकवर्षको छोटो अवधीमा नै सहरदेखि गाउँसम्मका अधिक मान्छेहरु इन्टरनेटको पहुँचमा पुगेका छन् । हाम्रा दैनिकी र क्रियाकलापहरु अनलाइनमार्फत विकसित र छरिता हुन थालेका छन् । इन्टरनेट कम्प्युटर, मोबाइल लगायतका विद्युतीय उपकरणका माध्यमबाट हरेक कामलाई सरलीकरण हुँदै गएको छ । पछिल्ल्लो समय इन्टरनेटको वृहत् प्रयोग गरिँदै समाजका क्रियाकलाप सरल बनाउने प्रयास अनलाइन र इन्टरनेटबाट नै भइरहेको छ । समाचार सामग्री उत्पादन गरी इन्टरनेटमार्फत वितरण गर्ने अभ्यास नेपालमा पनि शुरु भइसकेको छ । हामी हाम्रो पूर्ववत दैनिकीमा फर्किन कति समय लाग्ने भन्ने कुनै एकिन नभएकाले अबको हाम्रो अभ्यास इनटरनेटतर्फ नै केन्द्रित रहनु पर्ने अवस्था आएको देखिन्छ । संक्रमण र त्रासदीका कारण विश्वका अधिकांशजसो मानवीय क्रियाकलाप र शिक्षासमेत विस्तारै भर्चुअल हुन थालेका छन् । मानिसका दैनिकी अनलाइन क्रियाकलापमा सक्रिय हुन थालेका छन् । विहान उठेर पत्रिका हातमा लिने र चियाको चुस्कीसँगै समाचार पढ्न बानी परेका मान्छेहरु पनि अहिले चियाको कप एक हातमा लिएर अर्को हातमा मोवाइलमा अनलाइनका समाचार पढ्ने, फेसबुक र च्याटमा समय बिताउन थालेका छन् । यो बानीको विकासक्रमसँगै अबका मूलधारका संचारमाध्यमहरुले सेवा दिन सकिएन भने सोसल मिडियाले सिंगो पत्रकारितालाई नै विस्तापित गर्ने खतरा देखिन्छ । अबका दिनमा कपी र कलमको सहायताबाटमात्र पत्रकारिता सम्भव नहुने भइसकेकाले पुरानो पुस्ता र पत्रकारिताको अभ्यास गर्दै गरेको नयाँ पुस्ता दुवैले समय अनुसारको प्रविधिमा जोडिनु अनिवार्य छ । एकातिर सोसल मिडियाले मानिसलाई भौतिक उपस्थितिविनापनि क्रियाकलापका लागि अभ्यस्त बनाउँदै लगेको छ भने अहिले कठिन परिस्थितिमापनि शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार–व्यवसायको प्रबद्र्धन तथा कारोबार पनि भौतिकभन्दा इन्टरनेट र अनलाइन नै प्रभावकारी हुन थालेको छ । सोसल मिडिया प्लेटफर्म सूचना प्रवाह गर्ने गतिलो माध्यम पनि बनेको छ । यो माध्यमलाई सामाजिक संस्थाहरुले सूचना प्रवाहको माध्यम बनाइरहेका छन । भौतिक उपस्थितिमा दिइने बधाई, शुभकामना, श्रद्धाञ्जली, समवेदना जस्ता कार्य सोसल मिडियाबाट हुन थालेको छ । यो नयाँ प्रयोग र अनलाइन अभ्यासको सफलता पनि हो । पेशाप्रतिको दायित्व एकातिर यो महामारीकाबीच हामीले हाम्रो पेशा बचाउनु पनि छ । अर्कोतिर यो अवस्थामा कतिपय पित पत्रकारिता, प्रायोजित पत्रकारिता र जस्तोसुकै मुनाफालाई केन्द्रीय लक्ष्य बनाई गरिने पत्रकारिताको सघन उपस्थितिबारे पनि हामी सचेत हुनैपर्छ । पत्रकारिताका त्यस्ता प्रवृत्तिले निम्त्याउने यो पेशाको अवमूल्यन, त्यसका कारण गुम्ने विश्वसनीयता अनि सञ्चारको विश्वसनीयता गुम्दा राष्टिूय र सामाजिक जीवनमा उत्पन्न हुने खतराबारे सोच्नु, सचेत हुनु र त्यसको विरोध गर्नु यो पेशामा रहेका सबैको दायित्व पनि हो, हामी अहिलेको यो कठिन परिस्थितिमा पनि यो दायित्वबाट उम्कन मिल्दैन । पछिल्ला केही महिनामा विश्वकै अवस्था हेर्दा सामाजिक सञ्जालले आधिकारिक समाचार दिन नसक्दा आमसञ्चारको माध्यममै भर पर्नुपर्ने अवस्था देखाउँछ । रोयटर्स इन्स्टिच्युटले विभिन्न छ देशमा गरेको एक अध्ययनमा पहिलेको तुलनामा यो महामारी सुरु भएपछि आमसञ्चारका माध्यममा भरपर्नेको संख्या ७० प्रतिशतले बढेको देखाएको जनाएको छ । यसको अर्थ हुन्छ, मान्छे क्रमशः इन्टरनेटको पहुँचमा पुग्दैछन् । थप अभ्यास गरिरहेका छन् । सरकारले नसुनेको पाटो कोरोनाको धक्काले कति सञ्चारगृह धरासयी भए भने कतिपय सञ्चारकर्मीको चुलो जोर्न नसक्ने अवस्थामा पुगे । कतिले पेशा नै बदलेरु। कतिले कठिन भए पनि वैकल्पिक पेशाका रूपमा व्यापार व्यवसाय रोजे । यो संकटको घडीमा पनि सिद्धान्तका रूपमा जे लेखिए पनि देशको पत्रपत्रिका र प्रकाशनसम्बन्धी ऐन, नियम, राष्ट्रिय सञ्चार नीति तथा सरकारका औपचारिक नीति र दृष्टिकोणको व्यावहारिक प्रयोगमा सरकारी निकायको व्यवहार इमान्दार र व्यावसायिक बन्न नसकेका गुनासाहरू प्रशस्त छन् । गणतन्त्र नेपालको संविधानमा पहिलेदेखि रहँदै आएका संचार र स्वतन्त्र प्रेस सम्बन्धि त्रुटीहरू यथावत छन् । प्रेसप्रतिको सरकारी दृष्टिकोण पक्षपातपूर्ण पनि छ । संसद्ले यसमा हस्तक्षेप गर्न सक्ने प्रबन्धसमेत छैन । पत्रकारले वर्षेनी सरकारकै विरुद्ध नारा जुलुस, धर्ना जस्ता कार्यक्रम लिएर आन्दोलन गरिरहनु परेको छ । अझ प्रगतीशिल भनिएका पार्टीले मुलुक हाँकेका बेला पत्रकार झन बढी प्रताडित हुनु परेको तितो यथार्थ हामीले बेहोरिरहेका छौं । यो अवस्था सरकारी संयन्त्रका कुनै पनि तहले मूर्त रुपमा नदेखेको पाटो हो भन्दा गलत हुँदैन । सरकारले सरकारी सञ्चारमाध्यमलाई आर्थिक, प्रशासनिक र नीतिगत रूपमा पु¥याउने गरेको सहयोगको दाँजोमा निजी क्षेत्रका पत्रपत्रिकाले पाएको सुविधा कम प्रतिशत मात्रै छ । विश्वले बेहोरिरहेको महामारीको यस्तो अवस्थामा पनि सरकारपक्षबाट पत्रकारको सुरक्षार्थ कुनै योजना प्रस्तुत गर्न नसक्नु दुखद् हो । भाषणमा पटक– पटक भन्ने गरिएको सरकारको चौथो अंगको यो अवस्था हुँदा राज्य संयन्त्र मौन रहनु विडम्वना शिवाय के हुन सक्छ र ? विगतका प्रजातान्त्रिक आन्दोलनमा मिडियाले पु¥याएको योगदान र संविधान कार्यन्वयनका निम्ति निर्वाह गर्नसक्ने भूमिकालाई आत्मसात गर्दै खुला दिलले यो संकटको घडीमा प्याकेजसहित स्वतन्त्र प्रेस र पत्रकारिताको निम्ति उपयुक्त वातावरण सिर्जना गर्नु आवश्यक छ । सरकारले मिडियाको विकासको निम्ति जतिसक्दो चाँडो उपयुक्त वातावरण बनाउने हो भने स्वास्थ्य संकटसँग जुध्न र समग्र विकास निर्माणका काममा सहयोग पुग्नेमा दुईमत हुँदैन । निष्कर्ष हिजो सूचना बाँडेर, शिक्षामूलक वा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गरेर धानिएको पत्रकारिताको साखले अबको पत्रकारितालाई थाम्दैन । आज ती काम सम्बन्धित संस्थाका वेबसाइटदेखि सामाजिक सञ्जालले गर्छन् । मनोरञ्जनका लागि युट्युब, नेट,च्याट जस्ता अनेक वैकल्पिक माध्यम छन् । शिक्षाका लागि शिक्षण संस्थाकै अनलाइन च्यानल छन् । अब कुनै प्रेस विज्ञप्ति वा पत्रकार सम्मेलनका आधारमा लेखिएका समाचारले पाउने स्पेसको समय सकिएको छ । संकटका बेला संकलित तथ्यांक, मोवाइल सम्पर्क, संग्रहित अध्यायन सामग्री र इमेलमा संकलित रिपोटको आधारमा तयार गरिएका भन्दा बाहेक खोज पत्रकारिताको अपेक्षा यो समयमा गर्नपनि सकिँदैन र सम्भव पनि छैन । यो विषम् परिस्थितिमा आमसञ्चारमा आएका भ्रम र मिथ्या सूचनालाई चिर्न, तथ्यको प्रमाणीकरण गर्न र सही सूचना बताउने भूमिका मूलधारका सञ्चारकर्मीको हो । असली सूचनाका प्रर्याय श्रमजिवी पत्रकारहरुको हो । कोरोना महामारी विश्वले सामना गरिरहेको छ, विश्वको ध्यान केन्द्रित छ । विश्वबजारमा प्रतिष्पर्धामा खोप आइरहेका छन् । यो महामारीलाई ढिलोचाँडो विज्ञानले सुल्झाउला, तर सूचनाको महामारीलाई नियन्त्रण गर्ने औषधी र खोप भनेको उत्तरदायी र विश्वासनीय पत्रकारिता नै हो, हामी जवाफदेही र उत्तरदायी बन्नैपर्छ । यूट्यूव र फेसबुकजस्ता सामाजिक सञ्जाल मिथ्या समाचारका उर्वरभूमि बन्दै गएका वेला सही समाचारका लागि मूलधारका सञ्चारमाध्यम सचेत हुनैपर्छ । स्वास्थ्यको ख्याल राख्दै हाम्रो कलम सचेतनापूर्वक चल्न आवश्यक छ ।
लेखक नेपत्रकार महासंघको प्रदेश समिति कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here