भारी वर्षाकाबीच टहरा र त्रिपालमुनि बसेर सीमा सुरक्षा गर्दै सशस्त्र -फोटोसहित

0
1073

पार्थ मण्डल

झापा , बङ्गालको खाडीमा आएको याम चक्रवात तुफानको प्रभाव देशभर परेको छ । बिहीबारदेखि प्रदेश १ सहित देशका विभिन्न स्थानमा हावाहुरीसँगै भारी वर्षासँगै हावाहुरी चलेको छ । एकातिर कोरोना र अर्कातिर भारी वर्षाका कारण झापासहित देशभरका जनजीवन झन् प्रभावित बनेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएकोले आम नागरिकलाई भारी वर्षाले खासै प्रभाव पारेन, उनीहरू घरभित्रै सुरक्षित बसेका छन् । तर, कोरोना नियन्त्रण तथा रोकथामका लागि खुला सीमा नाकामा खटाइएका सुरक्षाकर्मीले भने सास्ती झेल्नु परेको छ ।

उनीहरू भारी वर्षाका बिच पनि टहरा र त्रिपालमुनि बसेर सीमामा चौबिसै घण्टा सुरक्षा दिइरहेका छन् । पानी परोस् वा चट्याङ्गसँगै हावाहुरी चलोस्, अहिले सीमामा तैनाथ सशस्त्र प्रहरी आफ्नो जिउ ज्यानको ख्याल नगरी आफ्नो माथिल्लो निकायको निर्देशन पालना गरिरहेको छ ।

सशस्त्रले खोला बगर, खेतबारी, चियाबारी लगायतका स्थानमा अहिले डियुटी स्थापना गरेको छ ।

‘भारी वर्षाका कारण खोलामा बाढी आउने त्रास पनि त्यतिकै छ, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले भने, ‘मेची खोला नजिकै डियुटी पोस्ट स्थापना गरेका छौँ, बनाइएको पोस्ट सुरक्षित छैन, कतिखेर हावाहुरी उडाउने भन्ने डर छ ।’

‘टहरा र त्रिपालमुनि बसेका सशस्त्र प्रहरीले सीमा सुरक्षा त गरिरहेको छ, तर, पानीमा भिज्दै यसरी नै सशस्त्र प्रहरी खटिरहियो भने उनीहरू पनि बिरामी पर्छन् कि भन्ने अर्को चिन्ता छ,’ उनले भने ।

कोरोना रोकथामका लागि भारतसँग जोडिएको झापाको ८२ देखि १५२ नम्बर सीमा पिलरसम्मको १४४ दशमलव २ किलोमिटर खुला नाका सिल छ । नाका सिल गर्नलाई सशस्त्र प्रहरीले आवश्यकता अनुसार फरवार्ड पोस्ट र डियुटी पोस्ट राखेको छ । जिल्लामा १८ वटा बिओपी, ३९ वटा फरवार्ड पोस्ट र १३२ स्थानमा डियुटी पोस्टले अहिले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

प्रत्येक फरवार्ड पोस्टमा ९ देखि ११ जनासम्म जनशक्ति परिचालन गरिएको बताउँदै एसपी पाण्डेले भने, ‘त्यसका लागि जिल्ला र जिल्लाबाहिरबाट पनि थप सुरक्षाकर्मी मगाएका छौँ, त्यही फरवार्ड पोस्टकै सुरक्षाकर्मीले डियुटी पोस्टहरूमा पनि सुरक्षा दिइरहेको छ ।’

हावाहुरीसँगै पानी पर्न थालिसकेकोले पहिलो लहर जस्तै दोस्रो लहरमा पनि त्रिपालमुनि र टहरामा बसेका सशस्त्र प्रहरीलाई त्यसको प्रकृतिकै सामना गर्नु परेको छ । हावाहुरीले कचनकवल १ पिण्लबारीमा एउटा डियुटी पोस्टमा क्षति पुर्‍याएको बताउँदै एसपी पाण्डेले भने, ‘अहिलेसम्म अरू पोस्टहरू सुरक्षित छ, त्यही पोस्टमा बसेर सशस्त्रले डियुटी गरिरहेको छ ।’ ‘सीमा तैनाथ सशस्त्रलाई पानीबाट जोगिने उपकरण र सामग्री उपलब्ध गराउन सकिएको छैन, उनीहरूसँगै स्टकमा भएका पुराना रेनकोट, जुत्ता लगाएर नै सशस्त्रले दिनरात आफ्नो कर्तव्य पालन गरिरहेको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here