झापामा निषेधाज्ञा खुकुलो,असार १४ गतेसम्म लम्बियो

0
870

झापा।

दोस्रो लहरको कोभिड–१९ को संक्रमण दर झापामा घट्नेक्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ ।

तर, संक्रमणको जोखिम कायम रहेको भन्दै प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्ला कोभिड व्यवस्थापन समिति डिसीएमडीको बैठकपछि असार १४ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको अवधि थपसहितको आदेश जारी गरेका छन् ।

यसअघि असार ७ गते मध्यराति १२ बजेसम्म झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएकोमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण दर घटेको भन्दै केही खुकुलो बनाउने निर्णय गरिएको छ । संक्रमणको जोखिम कायमै रहेकाले मिति २०७८ असार ७ गते मध्यरात १२ः०० बजेदेखि मिति २०७८ असार १४ गते मध्यरात १२ः०० बजेसम्मका लागि देहाय अनुसारको आदेश जारी गरिएको छ । प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको पालना गर्नु/गराउनु सबै व्यक्ति, संघ–संस्था पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ ।’

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना

के खुल्छ, के बन्द हुन्छ ?
१. सर्वसाधारणका लागिः–
– अत्यावश्यक कामका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने । खाद्य पदार्थ लगायत अन्य सामग्री खरिद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र कुनै पनि भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने÷नगराउने ।
– कोभिड–१९को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसोलेसन सेन्टरमा सम्पर्क राख्ने ।
२. कार्यालय सञ्चालन सम्बन्धमा ः–
क) अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम् कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
ख) सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय–पत्रका आधारमा बिहान ९ः०० बजे देखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः०० सम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने ।
ग) अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचय–पत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने ।

३. बैंक÷वित्तीय संस्था सम्वन्धमाः–
क) बैक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग कारोबार न्यूनतम् कर्मचारीको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी÷गराई सञ्चालन गर्ने । साथै एटीएम आउटलेटहरु २४सै घण्टा सञ्ंचालन हुने व्यवस्था मिलाउने ।
४. पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमाः–

क) औषधि र स्वास्थ्य सामग्री, इन्धन (पेट्रोल÷डिजल स्टेसन, एलपी ग्यास) बाहेक अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, इलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी÷मोटरसाइकल शोरुम, प्लास्टिक तथा मेसिनरी पसल विहान ६ः०० बजेदेखि मध्यान्ह १२ः०० बजे सम्म सञ्चालन गर्न पाइने । उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने, सो को प्रभावकारी अनुगमन सम्बन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी इकाइहरुले गर्ने ।

ख) होटल तथा रेष्टुरेन्टहरुले टेक अबे सेवा मात्र सञ्चालन गर्न पाउने ।
ग) मलखाद, वीऊ–विजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहार लगायत कृषि सम्वन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।
घ) मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी न्यूनतम् कामदारहरुको उपस्थितिमा विहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।
ङ) औषधि पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने ।

च) सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

५. सवारी साधन सञ्चालन सम्बन्धमाः–

क) अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८ असार ७ गते राति १२ः०० बजेदेखि २०७८ असार १४ गते राति १२ः०० बजेसम्म झापा जिल्ला भर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
ख) अत्यावश्यक सेवा सञ्चालन गर्ने नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचय–पत्रको आधारमा विहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः०० सम्म सञ्चालन गर्न पाइने ।

ग) अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध, तथा दूधजन्य पदार्थ, मलखाद, वीऊ–विजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहार बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाइने ।
घ) यस जिल्लाबाट अन्य जिल्लाको लागि खाद्यान्न लगायतका अन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाइने ।

ङ) धान रोप्ने समय नजिकिएकोले खेत जोत्ने कार्यमा प्रयोग हुने ट्याक्टर कृषि कार्यको लागि सञ्चालन गर्न पाइने ।

६. उद्योग, कल–कारखाना र विकास निर्माण कार्य सञ्चालन सम्बन्धमाः–

क) उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेन्टाइनको व्यवस्था सम्बन्धित उद्योगले मिलाउने ।

ख) राष्ट्रिय गौरब तथा महत्वका आयोजना÷परियोजना र अति आवश्यक विकास निर्माण कार्यका लागि कामदारहरुलाई खाने÷बस्ने व्यवस्था सम्वन्धित आयोजनाले निर्माणस्थलमा नै मिलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

ग) विकास निर्माणसंग सम्वन्धित सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु बेलुकी ७ः०० बजेदेखि विहान ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।

घ) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन भएका विकास निर्माण कार्यका लागि निर्माण सामग्री बोक्ने÷बोकेका सवारी साधनलाई सम्वन्धित आयोजना÷ निकायको पत्रको आधारमा आवतजावत गर्न पाइने ।
ङ) विकास निर्माण कार्यका लागि अन्य समयमा ठूलो मरिमाणमा निर्माणजन्य सामग्री आवश्यक पर्ने भएमा सम्वन्धित स्थानीय तह वा स्थानीय उद्योग वाणिज्य संघसँग समन्वय गरी गोदामबाट मात्र उपलब्ध गराउने ।
७. विवाह तथा मृत्यु संस्कार सम्बन्धमा ः–

क) विवाहको लागि बढीमा १० जनासम्म जन्ति जान आउन दुलाहा दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जना सम्म व्यानर राखेर प्रयोग गरी जिल्ला भित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति आवश्यक नपर्ने ।
ख) मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नु पर्ने ।

८. सीमा नाका सम्बन्धमाः–

क) सीमानाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली शुचारु राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी आवतजावत गर्न दिइने ।

ख) काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गांैडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने ।
ग) काँकरभिट्टानाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजेटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

९. सभा सम्मेलनको हकमाः–
क) सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमीनार लगायतका कार्यहरुको सञ्चालनमा रोक लगाउने ।
१०. विविधः–
क) सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित संचार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
ख) अत्यावश्यक उपयोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने ।

ग) अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, राहदानी, भिषा लगायतका कागजातका आधारमा सम्वन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने ।

११) यस आदेशको पालना तथा कार्यान्वयनमा यसअघि झै आवश्यक सहयोग समन्वय तथा सहजीकरण हुन सम्वद्ध सबै सरोकारवाला र आम झापावासीमा हार्दिक अनुरोध छ ।

१२) यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे÷गराईएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here