बाह्रदशी गाउँपालिका ५ का वडाध्यक्ष कटुवाल भन्छन् – : कोरोना कहरमा पनि आन्तरिक स्रोतबाट विकास निर्माण धमाधम (भिडियो सहित)

१८ असार २०७८, शुक्रबार मा प्रकाशित

विकासको दृष्टिकोणले पछि परेको गाउँपालिका हो– बाह्रदशी । अझैं पनि यो गाउँपालिकामा संघ र प्रदेशबाट पर्याप्त बजेट विनियोजन नहुँदा सिमित बजेटले गाउँपालिकामा विकास निर्मणका कामलाई अघि बढाउँदै समृद्ध बाह्रदशी निर्माणमा जुटेका छन् यहाँका जनप्रतिनिधि । सिमित मात्रमा ठूला बहुवर्षीय आयोजना सञ्चालन भए पनि गाउँपालिकाको आन्तरिक स्रोतबाट विकास निर्माणका काम भइरहेका छन् यो गाउँपालिकामा । संघ र प्रदेशबाट प्राप्त बजेटलाई परिचालन गर्दै समृद्ध बाह्रदशी निर्माणमा बाह्रदशी गाउँपालिकाले अहिलेसम्म कस्ता योजना सञ्चालन गरेको छ सोही विषयमा गाउँपालिकाका वडा नम्वर ५ का वडाध्यक्ष भुपेन्द्र कटुवालसँग गरिएको कुराकानीको सम्पादित अंश–

बाह्रदशी गाउ“पालिकाले बजेट कसरी कार्यान्वयन गर्दैछ ?

– बाह्रदशी गाउँपालिकालाई संघीय मन्त्रालयबाट प्राप्त अनुदान र प्रदेशबाट आएको अनुदानलाई आधार मान्दै गाउँपालिकाले बजेट बनायो । प्रदेशबाट पहिलो र दोस्रो वर्ष थोरै रकम आएको थियो । चालू आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशबाट बजेट आउँदा पनि आएन । संसद विकास कोषको रकम पनि फरक तरिकाले सामेल भयो । यही आएको रकमलाई समेटेर बाह्रदशी गाउँपालिकलो बजेट बनायो । गाउँपालिकाभित्र सबै क्षेत्रलाई समेटेर अझ भनौ न कृषि, भौतिक सुधार, स्वास्थ्य, शिक्षा क्षेत्रमा अलि धेरै रकम विनियोजना गर्दै हामीले काम ग¥यौं । हामीले भौतिक सुधारका क्षेत्रमा धेरै काम गरेका छौं । भौतिक सुधारका क्षेत्रमा भन्ने हो भने निर्वाचित संस्था आउनुभन्दा अगाडि पैदल हिँड्न सक्ने अवस्था थिइन । तर, अहिले सबैले घर–घरमा साइकल मोटर, साइकल, एम्बुलेन्स लान सक्ने बाटो निर्माण गरेका छौं । ९० प्रतिशतको घर–घरमा मोटर बाटो पुगेको छ । समृद्ध बाह्रदशी निर्माणका लागि हामीले ग्रामीण क्षेत्रको विकासका लागि योजना तर्जुमा गरेर बजेट कार्यान्वयन गरिरहेका छौं ।

श्रब्यदृष्य–

बाह्रदशी वडा नं. ५ मा चाहि कस्ता–कस्ता विकास योजना सम्पन्न भए ?

बाह्रदशी गाउँपालिकाको वडा नम्वर ५ अन्य वडाको तुलनामा धेरै ठूलो वडा छ । यो वडामा मात्रै साढे १७ सय घरधुरी रहेको छ । यो एक हजार सात सय ५० घरधुरीको बसोबास र सबै सडक जोड्ने हो भने एक सय १० किलोमिटर सडक मर्मतसम्भार र यसलाई ग्राभेल गर्ने काम सम्पन्न भएको छ । जसले यहाँका स्थानीय बासिन्दालाई आवत–जावतमा सहजता हुनेछ । त्यस्तै यसअघि यहाँका अधिकांश वटामा हेमपाइप मात्र थिए । तीनलाई विस्थापन गरेर अहिले हाम्ीले वक्सकल्भर्ट निर्माण गर्ने काम गरेका छौं । वडा नम्वर ५ मा मात्रै २७÷२८ वटा वक्सकल्भर्ट निर्माण गरेका छौं । अब, साना साँघुरा गल्लीका बाटाहरुमा बाहेक अन्य सडकमा हेमपाइप विस्थापित गरेका छौं ।

कृषि क्षेत्रको विकासमा के–के काम भए ?

– कृषिको क्षेत्रमा भन्ने हो भने कृषकालाई मकै छोडाउने मेसिन, सिँचाइका लागि मोटर वितरण गरेका छौं । मोटर वितरणका कारण वडा नम्वर ५ मा सिँचाइको समस्या हल भएको छ । हल्दिबारीको पश्चिमी क्षेत्र र बाह्रदशी ३ लाई समेटेर अन्धुवा सेक्टर सिँचाइ आयोजना सञ्चालनमा छ । यो काम अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न गर्न मोटामोटी अठार करोड रुपैयाँ लागेको छ । यही वडामा मकै प्रवद्र्धन, गत वर्षसम्म प्रधानमन्त्री कृषि पकेट क्षेत्र निर्माण भयो । यो कार्यक्रम घोडामारादेखि दक्षिणमा सञ्चालित थियो । यसका लागि मोटर, वोरिङ वितरण ग¥यौं । यही चालू वर्षमा पनि २६÷२७ वटा वोरिङ र २० वटा मोटर वितरण गरेका छौं । गत वर्ष हामीले ८९ वटा मोटर कृषकलाई वितरण गरेका थियौं । त्यस्तै कृषि उत्थानका लागि स्प्रे ट्याङ्की पनि वितरण गरेका छौं । त्यस्तै बाह्रदशीमा प्रधानमन्त्री परियोजना अन्तरगत पकेटका कार्यक्रम पनि सञ्चालनमा छन् ।

स्वास्थ्यको क्षेत्रमा के–कस्ता काम भए ?

– स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भने बाह्रदशी गाउँपालिकामा जम्मा तीन वटा स्वास्थ्य संस्था थिए । अहिले वडा नम्वर ५ मा गत वर्षबाट नै आधारभूत स्वास्थ्य संस्था निर्माण गरेर सञ्चालन भइसकेको छ । हामीले सबै ठाउँमा अहिले स्वास्थ्य चौकीका भवन निर्माण गरेका छौं । अहिले गाउँपालिकाको वडा नम्वर १, ३ र ७ नम्वर वडाको बत्तीस बिगे क्षेत्रमा पनि आधारभूत स्वास्थ्य चौकी निर्माण गरेका छौं । त्यहाँ जनशक्ति व्यवस्थापनका लागि हामीले अहिले अहेव, अनमी र नर्सका लागि विज्ञापन गरेका छौं । समग्रमा हेर्ने हो भने स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा गाउँपालिका कै धेरै ठूलो फड्को मारेको छ । बाह्रदशी गाउँपालिकामा गत वर्षसम्म गाउँघर क्लिनिकका लागि आफ्नै भवन छदै थिएनन् । गत वर्षसम्म स्वास्थ्यकर्मीले खोप लगाउन कसैको घरमा बस्नु पथ्र्याे । तर, अहिले हामीले खोप केन्द्रहरु निर्माण गरेका छौं । अहिले वडा नम्वर ५ मा एउटा खोप केन्द्र पूर्णरुपमा निर्माण भएको छ । दुई वटा निर्माणको चरणमा छन् । बाह्रदशी ५ मा मात्रै तीन वटा खोप केन्द्र थिए । हामीले अहिले चार वटा बनाएका छौं ।

शिक्षाको क्षेत्रमा के–के गर्नुभयो ?

– गाउँपालिकाको सबै वडामा भौतिक पक्षमा ८० प्रतिशत सुधार गरेका छौं । वडा नम्वर १ को अमृत मावि भागुडुब्बामा भवन निर्माण भएको छ । बाह्रदशी ३ को पशुपति मावि प्राविधिक शिक्षाको भवन धमाधम निर्माण भइरहेको छ । अन्य विद्यालयका लागि पनि गाउँपालिकालाई प्राप्त रकमका आधारमा भवन निर्माण भइरहेका छन् । अहिले जनज्योति विद्यालयमा भवन निर्माण भएको छ । त्यस्तै कटरडाँगी स्कूल, घोडामारा स्कूलमा पनि भवन निर्माण भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा फूलबारी माविमा एउटा पक्की भवन निर्माण भएको छ । त्यसमा पुराण र जनतासँग केही रकम सहयोग संकलन भएको थियो । नपुग रकमलाई वडा कार्यालयको रकम र गाउँपालिकाको रकम समावेश गरेर पक्की चार कोठे भवन निर्माण भएको छ । तराई समृद्धि कार्यक्रम अन्तरगत दुई कोठे पक्की भवन भनिएको थियो त्यो रकमले अहिले चार कोठे दुई तले भवन निर्माण भइरहेको छ । गाउँपालिकालाई विशेष अनुदान मार्फत आएको एक करोड रुपैयाँले अहिले जनविकास निमाविलाई प्राप्त छ भने घोडामारा आधारभूत विद्यालयलाई पनि ३५ लाख रुपैयाँ प्राप्त छ । शैक्षिक सुधार अन्तर्गत तीन वटा विद्यालयहरु अमृत आधारभूत विद्यालय, जनविकास आधारभूत विद्यालय र पञ्चमणि आधारभूत विद्यालयलाई अपग्रेडिङ गरेर मावि बनाएको अवस्था छ । यसरी हर क्षेत्रमा विद्यालयको अपग्रेडिङ, हर क्षेत्रका विद्यालयको भौतिक र शैक्षिक सुधारको काम भइरहेका छन् । बाह्रदशी ३ मा पशुपति माविमा प्राविधिक शिक्षा कम्प्युटर सञ्चालनमा छ । जहाँ–जहाँ विद्यालयमा शिक्षक पुग्न सकेका छैनन् त्यहाँ वडागत रुपमा र गाउँपालिका स्तरमा निजी शिक्षक राख्ने काम भएको छ र कक्षा सञ्चालन भइरहेको छ । कोभिडका कारण हामीले बाह्रदशीको शिक्षाको विकास जुन रुपमा गर्न लागेका थियौं त्यो पूर्णरुपमा हुन सकेको छैन । तथापि बाह्रदशीको शिक्षाको विकासका लागि धेरै काम भएको छ । कोभिडको संक्रमणको अन्त्यसँगै बाह्रदशीको शिक्षाको स्तर बढ्ने अझ बढ्ने छ ।

गाउँ पालिकाभित्र अन्य विकासका काम चाहिँ के–के भएका छन् ?

खासगरी समृद्ध बाह्रदशीका लागि पक्ष–विपक्ष नभनी अहिले सबै क्षेत्रमा धमाधम विकास निर्माणका काम गरिरहेका छौं । बाह्रदशी–५ लाई कटान र डुवानको समस्याबाट मुक्त गराउन वडा नम्वर ५ स्थित विरीङ खोलामा तीन करोड रुपैयाँभन्दा बढीको लागतमा तटवन्ध निर्माण गरेका छौं । विरीङ खोलाले हरेक वर्ष यहाँका किसानलाई दुःख दिन थालेपछि हाम्ीले यो क्षेत्रको समस्या समाधानका लागि संविधान सभा सदस्य हरिबहादुर राजवंशी, प्रेम गिरीसहित स्थानीय जनप्रतिनिधिको अगुवाईमा जनताको तटबन्धसँग सहकार्य गर्दै खोलामा बाँध निर्माण गरेका हौं । जसका काराण यो क्षेत्रमा कटान र डुवानको समस्या हल भएर जाने भएको छ । त्यस्तै बाह्रदशी गाउँपालिकामा तीन वटा पक्की पुल निर्माण भएका छन् । सांसद विकास कोष र बाह्रदशी गाउँपालिकाको समपूरक कोष मार्फत सापडिग्री पुल निर्माण भएको छ । त्यसमा प्रदेशको पनि केही रकम परेको छ । यसमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै कुमाई गाउँपश्चिम चौतुवारी जाने सडकखण्डमा पनि पक्की पुल निर्माण भएको छ । त्यो पनि सोही प्रकृतिको हो । यसमा पनि गाउँपालिकाले समपुरको बजेटबाट रकम विनियोजन गरेको हो । यो प्रदेशको रकम हो । यसमा पनि झण्डै दुई अढाई करोड रुपैयाँ विनियोजन गर्दै पुल निर्माण गरिएको छ । त्यस्तै वडा नम्वर ६ को दिपजन स्कूल पूर्व दक्षिणमा पनि प्रदेश र गाउँपालिकाको रकमबाट निर्माण भइरहेको छ । यो पनि दुई अढाई करोडकै पुल हो । ठूला केन्द्रीय योजना अन्तर्गत १ नम्वर वडामा साधुपर्ती भन्ने स्थानमा बहुवर्षीय योजना अन्तर्गत अन्धुवा खोलामा पुल निर्माणको काम शुरु भएको छ । वडा नम्वर ५ को मेचे गाउँमा अन्धुवा खोलामा पनि पक्की पुल निर्माण हुँदैछ । यो पुल निर्माणका लागि मोटामोटी पाँच करोड लागत छ । वडा नम्वर ५ मा नै धमला गाउँ उत्तर बुधवारे जोड्ने सडकको घाग्रा खोलामा तीन कारेडको लागतमा पक्की पुल निर्माण हुँदैछ । यो पनि केन्द्रीय योजना अन्तर्गत नै हो ।

बाह्रदशीका गौरवका आयोजना के–के हुन् र तीनको अवस्था के छ ?

– हामीले बाह्रदशी गाउँपालिकाभित्र गौरवका आयोजनामा पर्यटन र राजगढ बजारलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेका छौं । राजगढ वजारलाई स्मार्ट सिटी बनाउन अहिलेसम्म झण्डै तीन करोड रुपैयाँ लगानी भएको छ । त्यस्तै बाह्रदशी डाँडामा पर्यटन प्रवद्र्धनका लागि भ्यू–टावर निर्माण गर्नका लागि उच्च प्राथमिकतामा राखिएको छ । यो योजना पनि बहुवर्षीय हो । यसका लागि पनि गाउँपालिकाले तीन वर्षदेखि लगानी गरिरहेको छ । यो ११ तले टावर हुनेछ । अहिलेसम्म टावरको जग उठेको छ । यसको खसे काम हुन सकेको छैन । यसको स्टमेट अनुसार काम धमाधम भइरहेको छ । यसलाई अबका दिनमा गति दिन्छौं । साधुपर्ती झिललाई पर्यटकीय क्षेत्र निर्माण गर्न पर्यटन मन्त्रालयबाट पाँच करोड रुपैयाँ विनियोजन भएको छ । त्यसमा पनि समपुरक कोषबाट १० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्नु पर्नेछ । त्यो काम अघि बढेको छ । भागुडुब्बामा एक करोड १० लाख रुपैयाँको लागतमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेका छौं । यो जिल्लाकै आधुनिक र नमूना ज्येष्ठ नागरिक चौतारी हुनेछ । त्यस्तै बाह्रदशी गाउँपालिकालाई उज्यालो बाह्रदशी बनाउने कम समेत सम्पन्न भएको छ ।

                                                                                                          प्रस्तुति : सुरेन्द्र भण्डारी

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here