हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाल भन्छन् –: गाउँपालिकाको समग्र विकासका लागि ११ वटा बहुबर्षिय योजना सम्पन्न गर्नु हाम्रो प्रमुख दायित्व हो

३१ असार २०७८, बिहीबार मा प्रकाशित
  • 8K
  •  
  •  
  •  
  •  
  •  
    8K
    Shares

 

‘द्वार एक सेवा अनेक’ को अबधारणामा अघि बढेको छ हल्दिवारी गाउँपालिका । जसका लागि गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरिरहेको छ । योसंगै कृषिमा निर्भर रहेका यहाँका नागरिकको जीवनस्तर सुधारका लागि विभिन्न योजना अघि सारेको छ । कृषि क्षेत्रको विकास र विस्तार गरी कृषिको आधुनिकिकरण तथा प्रविधिको उपयोग मार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउने दिशामा गाउँपालिका अघि बढेको छ । योसंगै काठेपुल मुक्त गाउँपालिका घोषणासंगै एक दर्जन बढी बहुबर्षिय आयोजनाहरु पनि यहाँ सञ्चालित छन् । समग्रमा स्थानीय तह सञ्चालनको चार वर्ष भित्र गाउँपालिकामा के कस्ता विकास निर्माण भए र हुन बाँकी छन् सोही विषयमा हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहालसंग गरिएको कुराकारी ।

प्रविण दाहाल, प्रमुख प्रशासकीय अधिकृत – हल्दिवारी गाउँपालिका झापा,

 

चालू आर्थिक वर्ष भित्र हल्दिवारी गाउँपालिकाले के – कस्ता र कति योजनाहरु सञ्चालन ग¥यो ?

चालू आर्थिक वर्षमा हाम्रो गाउँपालिकाले विभिन्न क्षेत्रहरुसँग सम्बन्धित योजना तथा कार्यक्रमहरु संचालन गरी सम्पन्न गरेको छ । भौतिक पूर्वाधारहरु तर्फ भन्ने हो भने हल्दिवारी गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन छ । वडा कार्यालय भवनहरु पनि निर्माणाधीन छन् । जसमा ३ नं. वडा कार्यालय भवन सम्पन्न भईसकेको छ भने ५ नं. वडा कार्यालयको भवन ठेक्का बन्दोबस्त पश्चात सम्झौता भई निर्माण कार्य सुचारु भएको अवस्था छ ।


विद्यालय भवन, विद्यालयमा चमेना गृह, विभिन्न संघ संस्थाका भवनहरु, साना पुल तथा स्ल्याव कल्भर्टहरु, सडक मर्मत तथा सम्भार, स्तरोन्नति एवं सडक ग्राभेल गर्ने कार्य गरिएको छ भने केही सडकहरु कालोपत्रे गर्ने कार्य जारी रहेको छ । केही स्थानहरुमा विद्युतीकरण तथा सौर्य बत्ति जडान गर्ने, सार्वजनिक शौचालयहरुको निर्माण, खानेपानी पाईप विस्तार लगायतका कार्य सम्पन्न गरेका छौँ । आगामी दिनमा समेत गाउँपालिकाका आवश्यक स्थानहरुमा स्वच्छ खानेपानीको आपूर्ति लागि खाने पानी पाइप विस्तार गरिनेछ । यसका अलावा विभिन्न जात तथा धर्मको संरक्षण एवं सम्र्वधन गर्न मठ मन्दिर, गुम्वा, धार्मिक भवनहरु निर्माण सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रमले निदृष्ट गरिएका भौतिक पूर्वाधारतर्फका योजनाहरु मध्ये संख्याका हिसावले ९० प्रतिशत योजनाहरु आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न हुने अवस्था छ भने कोभिड १९ को महामारी तथा श्रोत अभावका कारणले अन्य योजनाहरुको म्याद थप भई आगामी आर्थिक वर्ष २०८८÷०८९ को पहिलो चौमासिकमा सम्पन्न गर्ने लक्ष राखिएको छ ।

सञ्चालित योजना मध्ये बहुबर्षिय योजना पनि होलान नि ? त्यस्ता योजनाहरु कति वटा र कुन– कुन हुन् ?

हल्दिवारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहने गरी यस अघिकै गाउँसभाले बहुवर्षिय योजनाको रुपमा स्वीकृत गरी ठेक्का बन्दोबस्त भई संचालित योजनाहरुमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, काठेपुल मुक्त गाउँपालिका अन्तर्गत काठे पुलहरु विस्थापन गरी ३९ वटा स्ल्याव कल्भर्ट निर्माण योजना (जसलाई ४ वटा प्याकेज वनाई ठेक्का बन्दोवस्त गरिएको थियो) । ७ किलोमिटर लम्वाई भएको रमाइलो चौक बाघडाँडा लक्ष्मी मावि पाराखोपी हुँदै गरामनी जोड्ने कालोपत्रे सडक आयोजना, ४ किलोमिटर लम्बाई भएको पिपल चौक हल्दिबारी भेलागाडा चौक हुदै गरामनी जोडने कालोपत्रे सडक योजना हुन । साथै गाउँपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई संख्यात्मक र गुणात्मक रुपमा वृद्धि गरी गाउँपालिकाको आन्तरिक आय बढाई सक्षम गाउँपालिका निर्माण गर्ने हेतुले गाउँसभाबाट लिइएको ‘फेरी पनि घुम्न जाउँ, हल्दिवारी गाउँ’भन्ने नारालाई आत्मसाथ गर्न भेलागुढी सहिद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना समेत कार्यान्वयनमा रहेको बहुबर्षिय आयोजना हो ।


आ.व. ०७७÷०७८ को नीति तथा कार्यक्रम र आय व्ययको अनुमान (बजेट) पारित गर्ने सन्दर्भमा बसेको हल्दिवारी गाउँपालिकाको सातौँ गाउँसभाबाट समेत केही योजनाहरु बहुवर्षे योजनाको रुपमा स्वीकृत भई यस वर्ष कार्यान्वयनमा रहे । तिनीहरुमा मंलबारे बडाबारी हुँदै पाथीभरा पर्यटकीय क्षेत्रबाट ओली चौक तर्फ र केदार उप्रेतीको घरबाट बोडोसा चौक हुदै कन्चनश्री चन्द्रमार्ग जोडने सडक कालोपत्रे योजना ५.५ किलोमिटर मेजर्नी चौक उत्तर कन्तारगुटुबाट दलित बस्ती हुँदै रामहरी चौक जाने कालोपत्रे सडक योजना ४ किलोमिटर, कुलुङ्गे चौकबाट ढडुवा हुँदै जम्बा चौक पश्चिम हुलाकी राजमार्ग जोड्ने सडक ४ किलोमिटर, जनजागृति मा वि बाट किरात चोक हुँदै लाटी होली जोड्ने सडक कालोपत्रे ७ किलोमिटर रहेका छन ।

नेपाल सरकारबाट अल्पसंख्यक जातहरु मेचे र राजबंशी समुदायलाई लक्षित गरी तिनीहरुलाई विशेष प्राथामिकतामा राखी गाउँपालिकाबासीहरुलाई स्वच्छ खानेपानीको आपूर्ति व्यवस्था मिलाउन विशेष अनुदानको रुपमा प्राप्त दुई करोड बजेटबाट यस वर्ष ७ किलोमिटर पाईपलाईन विस्तार गर्ने कार्य सम्पन्न गरेको छौँ । मेचे समुदायहरुमा खानेपानीको सुविधा उपलब्ध गराउन आवश्यक धारा सामाग्रीहरु निःशुल्क वितरणको लागि खरिद कार्य सम्पन्न भई हस्तान्तरण हुन बाँकी छ । खानेपानी पाईप तथा फिटिंग्स लगायत अन्य खानेपानी वितरणसँग सम्बन्धित सामाग्रीहरुको खरिद कार्य सम्पन्न भई आगामी आर्थिक वर्षमा गाउँपालिका क्षेत्र भित्रका तीन वटै खानेपानी उपभोक्ता समितिसँग छलफल, सहकार्य र समन्वय गरी अति आवश्यक क्षेत्रमा खानेपानी पाईप विस्तार गर्ने कार्य गरी जनताको शुद्ध खानेपानी प्राप्त गर्ने हकलाई मूर्त रुप दिनेछौँ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न सवै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने नीति बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हल्दिवारी गाउँपालिकालाई समेत १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्न आवश्यक पर्ने सवै लागत नेपाल सरकारले व्यहोर्ने गरी रु. १८ करोड विनियोजन भएको छ । सो अस्पताल भौगोलिक हिसावले केन्द्रमा रहने गरी वडा नं. १ को चक्ला चोकमा निर्माण हुने गरी ठेक्का बन्दोवस्त भई सम्झौताको चरणमा रहेको छ । त्यस्तै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आयोजना संचालन गर्ने गरी भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजनाको लागि रु. पाँच करोड विनियोजन भएकोमा चिल्ड्रेन पार्क लगायत अन्य संरचना निर्माण हुने गरी सो को समेत ठेक्का बन्दोबस्त भई सम्झौताको चरणमा रहेको छ ।

यस हिसावले गाउँपालिकामा हालसम्म ११ वटा बहुबर्षिय योजनाहरु संचालनमा रहेका छन् । जसमध्ये काठेपुल मुक्त गाउँपालिका अभियान अन्तर्गतको विभिन्न स्थानमा ३९ वटा स्ल्याव कल्भर्टहरु निर्माण सम्पन्न भई सकेका छन । परिस्थिति सामान्य भएको अवस्थामा आगामी आर्थिक को पहिलो चौमासिकमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भई मंसीर महिनादेखि नयाँ प्रशासननिक भवनबाट सेवा प्रवाह हुनेछ । त्यस्तै रमाइलो चौक बाघडाँडा लक्ष्मी मावि पाराखोपी हुँदै गरामनी जोड्ने कालोपत्रे सडक, पिपल चौक हल्दिबारी भेलागाडा चौक हुँदै गरामनी जोड्ने कालोपत्रे सडक योजना र भेलागुढी सहिद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना (पहिलो चरणको ठेक्का) समेत आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र सम्पन्न हुने छन् । भेलागुढी सहिद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना, दोश्रो चरणको ठेक्का अन्तर्गतको निर्माण कार्य आ.व. ०७८÷०७९ भित्र सम्पन्न हुनेछ भने अन्य बहुबर्षिय आयोजनाहरु आगामी आर्थिक वर्ष २०७८÷०७९ मा समेत बजेट विनियोजन गरी द्रुत गतिमा सम्पन्न गर्ने लक्ष राखिएको छ ।

कोभिडको यो विषम परिस्थितिमा गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुलाई प्रभाव प¥यो कि परेन ?

पछिल्लो समय कोरोना भाईरस, कोभिड १९ को दोस्रो भेरियन्ट तीव्र रुपमा विश्वका विभिन्न मुलुकमा फैलिएको, विशेष गरी हाम्रो नजिकको छिमेकी राष्ट्र भारतमा यसको फैलावट, उच्च संक्रमण दर जस्ता कारणले दोश्रो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । त्यस माथि भारतसँग सिमाना जोडिएको जिल्ला झापामा अवस्थित हल्दिबारी गाउँपालिका पनि अछुतो रहने कुरा भएन । कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण हाम्रा केही कार्यक्रमहरु सुरु नै गर्न सकिएन, सुरु भएका कार्यक्रम तथा योजनाहरु सम्पन्न गर्न सकिएन भने तोकिएको समयभित्र कार्यक्रम तथा योजना सम्पन्न गर्न नसक्नुको साथै विकास निर्माणका लागि आवश्यक बजार बन्द हुनु, हार्डवेयर सामाग्री तथा ढुंगा गिटी, वालुवाजस्ता नदीजन्य निर्माण सामाग्रीको अभावहुनु, श्रमिकहरु सहज उपलब्ध नहुनु जस्ता समस्या श्रृजना भई स्थानीय सरकारको विकासको लक्ष प्राप्तिमा अवरोध सिर्जना भएको पाइन्छ ।

गाउँपालिकाले आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि के – के ग¥यो ?

गाउँपालिकाले कोरोना भाईरस कोभिड १९ को दोश्रो लहरबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न तथा यसको रोकथाम र नियन्त्रण गर्न अधिकतम प्रयास गरेको छ । गाउँपालिकासँग भएको सिमित श्रोतको अधिकतम उपयोग गरेर तथा अन्य क्षेत्रमा विनियोजित बजेटसमेत रकमान्तर गरेर कोभिड रोकथामसँग सम्बन्धित कार्यक्रमहरु संचालन गरियो । दोस्रो भेरियन्ट शुरु भए पश्चात २० बेड क्षमताको अक्सिजन सहितको आईसोलेसन सेन्टर हल्दिबारी २ स्थित स्वास्थ्य चौकीको नयाँ भवनमा तयार गरी २ जना चिकित्सकले सेवा दिईरहनु भएको र स्वास्थ्यकर्मीहरुलाई २४ घण्टा नै डयुटीमा राखी बिरामी भर्ना गरि निःशुल्क स्वास्थ्य उपचार सेवा संचालन गरियो एवं हालसम्म सोलाई निरन्तरता दिईएको छ ।
हप्तामा आईतबार, मंगलबार, बिहिबार र वडा अनुसार निःशुल्क एन्टिजिन जाँच गरिएको तथा आवश्यकता अनुसार निःशुल्क पि.सि.आर जाँचको व्यवस्था गरिएको छ ।

संक्रमितहरुको पहिचान गरी होम आईसोलेसनमा व्यवस्थापन, संक्रमिमतहरुलाई अनिवार्य दैनिक रुपमा फोनमार्फत फलोअप गर्ने गरिएको, आवश्यकता अनुसार घरमा गई सल्लाह सुझाव राख्ने कार्यलाई निरन्तरता दिइएको छ । संक्रमित भई होम आईसोलेसनमा बस्नेहरुका लागि आवश्यक औषधि, मास्क, सेनिटाईजर, थर्मोमिटरको साथै जरुरत पर्ने देखिएमा पल्स अक्सिमिटर सहितको प्याकेज र शीघ्र स्वस्थ्य लाभ होस भन्ने हेतुले नगद रु. २ हजार बराबरको पोषणयुक्त खानेकुराको प्याकेज बनाई जनप्रतिनिधि एव. स्वास्थ्य कर्मचारीहरुसमेत घर – घरमा गई वितरण गर्ने काम गरियो । होम आईसोलेसनमा बसेका कुनै नागरिकमा स्वास्थ्यसम्बन्धि थप समस्या देखिए गाउँपालिकाले संचालन गरेको आईसोलेसन सेन्टरमा राखी चिकित्सकको सिफारिसमा अक्सिजन र औषधि सहित भर्ना गर्ने र आवश्यकता अनुसार रेफरको व्यवस्था मिलाइएको थियो । कोभिड पोजिटिभ विरामीलाई ३ वटा एम्बुलेन्सबाट निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको थियो भने आवश्यकता अनुसार गाउँपालिकोका सवारी समेत स्ट्याण्ड वाई राखिएको थियो । कोभिड १९ बाट मृत्यु भएका परिवारलाई रु २५हजार रुपैयाँको दरले काज किरिया खर्च राहत स्वरुप रकम उपलब्ध गराउँदै आएका छौँ ।

यी त भए कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरु । आर्थिक वर्ष ०७७÷०७८ मा जनस्वास्थ्य तर्फका नीति, योजना, अन्य नियमित कार्यक्रमहरु तथा सेवाहरु आवश्यकता अनुसार प्रवाह गरिएका छन् । प्रत्येक वार्डमा कम्तीमा एउटा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था रहने नीति अनुरुप सबै वडामा स्वास्थ्य संस्था संचालनमा रहेको र सबै स्वास्थ्य संस्थाको आफ्नै भवन तयार भै सकेको छ । तीनवटै स्वास्थ्य चौकीबाट आधारभूत प्रयोगशाला सेवाको व्यवस्था मिलाईएको छ । स्वास्थ्य संस्थाहरुमा आधारभूत औषधि सहित थप उच्च रत्तचाप, मधुमेह, गर्भवती महिलालाई क्यालसियम सहित औषधि सामाग्रीको ब्यबस्थापन गरी निःशुल्क वितरणमार्फत गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिईएको छ । क्यानसर, मुटुरोग, मृगौलारोग, टाउको तथा स्पाईनल चोटपटक लगायतका समस्यामा परेका बिपन्न वर्गहरुका लागि आवश्यक आर्थिक सहयोग गर्न तथा उपचारात्मक, प्रतिकरात्मक, प्रर्बधनात्मक स्वास्थ्य सेवाहरुमा विपन्न वर्गको समेत पहुँच स्थापित गर्न जनताउपचार कोषको स्थापना, संचालन तथा व्यवस्थापन गरिएको छ । स्वास्थ्य चौकीहरुलाई प्रविधिमैत्री बनाउन कम्प्यूटर प्रोजेक्टर, सि. सि. क्यामेरा, डिजिटल हाजिरी आदिको उपयोग गर्नुको साथै अनलाईन रिपोटिङ सिस्टमलाई अनिवार्य गरिएको छ ।

अघिल्लो वर्ष पनि कोभिडले आम नागरिकलाई पिरोलेको नै थियो । यो वर्ष पनि अवस्था उही नै रह्यो । यसले विकास निर्माणमा कत्तिको असर पार्दाे रहेछ ?

समग्र राज्यको तथा गाउँपालिकाको अवस्था हेर्ने हो भने कोभिडको दोश्रो महामारीले नागरिकको जिवनस्तरमा नकरात्मक प्रभाव पारेको पाईन्छ । उनीहरुले अगाँलेका पेशा व्यवसाय निर्वाध रुपमा संचालन गर्न नसकेको कारण आम्दानी घट्न गई दैनिक जिवनयापनमा असहजता उत्पन्न हुनुको साथै राज्यका कमजोर तथा न्यून आय भएका वर्गका लागि हात मुख जोर्न समेत कठिनाई उत्पन्न भएको छ । राज्य भरि विकास निर्माण कार्यमा अवरोध उत्पन्न भई धेरै आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् । गाउँपालिकाको हकमा कुरा गर्ने हो भने, हाम्रा बहुवर्षिय योजनाहरु जुन गतिले निर्माण कार्य अगाडि बढ्नु पर्ने हो त्यो हुन सकेनन्, तथापि निर्माण कार्य भने रोकिएनन्, अन्य अधिकासं योजनाहरु सम्पन्न भए भने केही योजनाहरु सम्पन्न हुन नसकी निर्माण कार्यको अन्तिम चरणमा रहेका छन् ।

आज हामी आर्थिक वर्षको अन्त्यमा छौं भोलिबाट आर्थिक वर्ष २०७८÷ ०७९ शुरु हुँदै छ । आगामी वर्षका लागि बजेटको खाका कस्तो बनेको छ ?

गाउँपालिकाले आगामी आ.व. ०७८÷०७९ को लागि नीति तथा कार्यक्रम र बजेट दशौँ गाउँसभाबाट पारित गरिसकेको अवस्था छ । संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो पटक निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरुको यो अन्तिम वर्ष समेत हो । यसै आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन हुने सम्भावनालाई मध्यनजर गरी यस वर्षको बजेटमा विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छौँ । विगतमा संचालन भएको तथा निर्माण कार्य सुचारु गरिएका योजनाहरुलाई पुर्णता दिने गरी बजेट विनियोजन गरिएको छ । विशेष गरी बहुवर्षिय योजनालाई पुर्वाधार क्षेत्रमा पहिलो प्राथामिकता दिई बजेट विनियोजन गरिएको कुरा जानकारी गराउन चाहन्छु । कृषि तथा पशु विकाश तर्फ अघिल्ला आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । शिक्षा क्षेत्रमा पुराना कार्यक्रमलाई निरन्तरता दिनुका अतिरिक्त नेपाल सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि दिवा खाजाको व्यवस्था मार्फत वालवालिकामा पोषण तत्वको पूर्ति गरी कुपोषणको अन्त्य गर्ने तथा वालवालिकाहरुको विद्यालय उपस्थित दर बढाउने लक्ष राखेकोमा सो को प्रभावकारी कार्यान्वयन गर्न सवै कक्षा १ देखी कक्षा ५ सम्म संचालन हुने आधारभूत विद्यालयहरुमा चमेना गृह स्थापना गर्न बजेट व्यवस्था गरिएको छ । यी बाहेकका विद्यालयहरुमा यस अघि नै चमेना गृह स्थापना गर्ने कार्य सम्पन्न भैसकेका छन् । स्वास्थ्य तर्फ अनिवार्य र नियमित कार्यक्रमका अतिरिक्त अस्थाई रुपमा अस्पताल संचालन गरी स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य चौकीहरुमा संचालित प्रयोगशालामा गर्भवती, सुत्केरी, ७० बर्ष माथिका जेष्ठ नागरिकहरु र शहिद परिवारलाई निःशुल्क प्रयोगशाला सेवा प्रदान गर्ने व्यवस्था मिलाईने गरी बजेटको व्यवस्था गरिएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि कस्ता कस्ता कार्यक्रम सञ्चालन गर्नुभयो ?

गाउँपालिकाले पूर्वाधार विकास पछि सवैभन्दा बढी प्राथामिकतामा राखेको क्षेत्र भनेको सामाजिक विकास अन्तर्गतको शिक्षा क्षेत्र नै हो । हल्दिबारी गाउँपालिकाले पुर्र्वााधार क्षेत्र पछि सबैभन्दा बढी शैक्षिक क्षेत्रमा कूल बजेटको २० देखि २५ सम्म लगानी रहँदै आएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर शिक्षकसहित सवै मा.वि. मा ३० वटा, आ.वि. मा २० वटा र प्रा.वि. मा विद्यार्थी संख्याका आधारमा ५ वटासम्म कम्प्युटर र प्रिन्टर सेट तथा डिस्प्ले बोर्डलगायतका अन्य सामाग्रीहरु अघिल्लो आ.व. मा नै वितरण गर्ने कार्य गरिसकिएको छ । विद्यालयहरुमा सि.सि. क्यामेरा जडान गरी प्रविधिमार्फत अनुगमन गर्ने पद्धति अवलम्बन गरिएको छ, प्रोजेक्टर लगायत मल्टि मिडियामार्फत अडियो भिडियोसहितको कक्षा संचालन गर्न आवश्यक सामाग्रीहरु विद्यालयलाई प्रदान गरिएको छ र सोही अनुसार विद्यालयहरु संचालित छन् । सवै वाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई श्रम ऐनले तोकेको न्यूनतम सेवा सुविधा आ.व. ०७६÷०७७ देखि नै उपलब्ध गराउँदै आएका थियौँ र यस वर्ष पनि नेपाल सरकारले तोके बमोजिम १५ हजार उपलब्ध गराई उत्प्रेरित जनशक्ति मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष राखिएको छ ।

सवै मा.वि. र आ.वि. मा विज्ञान शिक्षकको व्यवस्था, सबै विद्यालयमा अंग्रेजी सुधार गर्न अंग्रेजी विषयको वाल शिक्षकको व्यवस्था, सवै विद्यालयहरुमा सेवा प्रदान गर्ने गरी घुम्ती खेल शिक्षकहरुको व्यवस्था, कम्प्युटर शिक्षकको व्यवस्था र उच्च माध्यमिक तह तथा क्याम्पसहरुमा आवश्यक न्यूनतम शिक्षकको व्यवस्था हुने कार्यक्रमलाई गाउँपालिकाले आफ्नै बजेटबाट यस वर्ष पनि निरन्तरता दिनुको साथै कक्षा १२ सम्म निःशुल्क पठन पाठन हुने गरी यस वर्ष समेत बजेटको व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त विद्यालयका भौतिक संरचना निर्माणलाई प्राथामिकतामा राखी लगभग सवै विद्यालयहरुमा पुग्ने भवन, शौचालय लगायतका संरचना निर्माण गरिएको छ, केही संरचनाहरु बन्ने क्रममा छन् । नियमित रुपमा विद्यालयहरुको भौतिक संरचनाको मर्मत सम्भार गर्ने, आवश्यक डेस्क बेन्चको व्यवस्थापन र शैक्षिक सामाग्रीहरुको निरन्तर आपूर्ति हुने व्यवस्था मिलाईएको छ ।

अनि कृषिमा चाँही के के योजना सञ्चालन भए ? गाउँपालिका विशेष पकेट कार्यक्रम पनि होलान् नि ।

हल्दिवारी गाउँपालिकाका अधिकाङ्श मानिसहरुले कृषि पेशालाई अंगालेको पाईन्छ । त्यसैले त हाम्रो दीर्घकालीन दृष्टिकोण ‘हल्दिवारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि ’ भन्ने मूल नारालाई मूर्त रुप दिन गाउँपालिकाले कृषि तथा पशु विकाशमा समेत उल्लेखनीय बजेटको व्यवस्था गरेको छ । नेपाल सरकारबाट प्राप्त विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी र मितव्ययी ढंगले संचालन गरी कृषक वर्गको अधिकतम हितलाई प्रथामिकतामा राखेको छ । ‘हल्दीबारीको वाचा, झापाभरी माछा ’कार्यक्रम मार्फत कृषकहरुलाई माछापालन गर्न उत्प्रेरित गरी अनुदान उपलब्ध गराउँदै आएका छौँ । एक घर, एक मौरी घार कार्यक्रम अन्तर्गत कृषकहरुलाई उनीहरुको समेत लागत साझेदारी रहने गरी मौरीको घार वितरण गरिएको छ । साथै ५० प्रतिसत लागत साझेदारीमा कृषकहरुलाई सवै खाले मौसममा सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यले मोटर सहितको वोरिङ निर्माण गर्न रु. ३२ हजार रकम अनुदान १७५ जना कृषकलाई वितरण गर्नको लागि अनुगमन गर्ने कार्य अन्तिम चरणमा पुगेकोछ । उन्नत जातका कृषिसँग सम्बन्धित बीऊ विजनहरु आवश्यकता अनुसार वितरण गर्ने गरिएको छ ।

सवै वडामा पशु प्राविधिकहरुको व्यवस्था गरिएको छ, वडाबाटै पशु स्वास्थ्य सम्बन्धि सामान्य सेवा प्रवाह हुनुको साथै आवश्यक न्यूनतम नाम्ले, जुका लगायतका औषधिहरु निःशुल्क उपलब्ध गराइएको छ । किसानहरुसँगको लागत साझेदारीमा वंगुर प्रवद्र्धन कार्यक्रम संचालन गरिएको छ । निःशुल्क कृतिम गर्भाधान कार्यक्रम, सुत्केरी भएका गाई भैसीहरुलाई प्रोत्साहन रकम वितरण कार्यक्रम, पशु विमा कार्यक्रम संचालन गरिनुको साथै महामारीजन्य रोगहरु पिपिआर, खोरेत र स्वाईन फिवर आदिबाट बचाउनको लागि निःशुल्क खोप सेवा संचालन गरिएको छ ।
गाउँपालिकामा संचालित तोरी पकेट, आलु पकेट, तरकारी पकेटका साथै मत्स्य पकेट र वाख्रा पकेट कार्यक्रमहरुबाट किसानहरु लाभान्वित भएका छन् ।

पर्यटनको क्षेत्रमा के गर्नु भयो ?

पर्यटन क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथामिकतामा राखी लगानी गरेको अवस्था छ । बृहत गुरुयोजना तथा विस्तृत आयोजना प्रतिवेदन तयारी गरी वडा नं. २ स्थित भेलागुढी सहिद स्मृति लोकतान्त्रिक पार्कलाई बहुवर्षे योजनाको रुपमा स्वीकृत गरी पहिलो चरणको ठेक्का अन्तर्गतको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ भने दोश्रो चरणको ठेक्का सम्झौताको चरणमा रहेको छ । यस पटक आन्तरिक (गाउँपालिका भित्रका) र वाह्य (अन्य क्षेत्रका) पर्यटकलाई आकर्षित गर्ने गरी चिल्ड्रेन पार्क, जिप फ्लाई, अन्य मनोरन्जनका साधनको व्यवस्था र रमणीय वातावरण सिर्जना गर्न आवश्यक संरचना निर्माण कार्य आगामी वर्षमा सम्पन्न गर्नेछौँ । जसबाट स्थानीय स्तरमा पर्यटन तथा होटल व्यवसाय फस्टाई रोजगारी र उद्यमसिलतामार्फत आसपासका क्षेत्रका जनताहरुको जिवनस्तर उकास्ने लक्ष लिइएको छ । गाउँपालिकाको आन्तरिक आयमा बढोत्तरी हुने विश्वास समेत लिइएको छ । त्यस्तै पाथीभरा पर्यटकिय क्षेत्र, धनुसपोखरी र जलथल जंगलको संरक्षण, संवद्र्धन तथा प्रर्वदन एवं विकास गर्ने कार्यलाई प्राथामिकता दिइएको छ । पाथीभरा पर्यटकीय क्षेत्रसम्म पुग्ने पहुँच मार्गलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ जसले पर्यटकको संख्या बढाउन मदत गर्ने विस्वास स्थानीय सरकारले लिएको छ । साथै स्थानीय मठ मन्दिर, गुम्वा तथा अन्य धार्मिक स्थलहरुको स्थापना गरी धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष गाउँपालिकाले लिएको छ ।

गाउँपालिका भित्र पूर्वाधारको अवस्था कस्तो छ ? जस्तै कति किलोमिटर पक्की सडक बन्यो अनि कति वटा सडकको स्तरोन्नति भयो ?

गाउँपालिकाले आवश्यकताका आधारमा वडाबासीको चाहना समेतलाई मध्यनजर गरी स –साना योजनाहरुसमेत संचालन गरेको छ । यसका साथै परिमाणका हिसावले ठूलो, एउटा वडामा पर्ने भए पनि त्यहाँका धेरै नागरिकहरु लाभान्वित हुने, एकभन्दा बढी वडाहरुमा पर्ने, धेरै भन्दा धेरै जनताहरुलाई परोक्षरुपले लाभ पुग्ने, बढी उत्पादकत्व भएको तथा लाभ लागत दृष्टिकोणले उपयुक्त ठूला योजनाहरु प्राथामिकताका आधारमा संचालन गर्दै लैजाने नीति अवलम्बन गरेको छ । गुणस्तरीय पूर्वाधार निर्माण गाउँपालिकाको प्रमुख ध्येय रहेको छ । सडक मर्मत सम्भार नियमित रुपमा गर्ने गरिएको छ । आवश्यकता अनुसार सडक स्तरोन्नतीको कार्य गरिदै आएको छ । यस वर्ष ४०–४५ किलोमिटर सडक मर्मत संभार, स्तरोन्नति एवं ग्रभेल भएका छन । हालसम्म गाउँपालिकाको आफ्नै पहलमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भइ सकेको छ । आगामी आर्थिक वर्षकोको पहिलो चौमासिकको अन्त्यसम्ममा १२ किलोमिटर सडक कालोपत्रे भैसक्ने छ भने हाल संचालनमा आएका बहुवर्षिय योजनाहरु सम्पन्न भए पश्चात आफ्नै श्रोतबाट कूल ३१ किलोमिटर कालोपत्रे भएको हुनेछ । गाउँपालिकाको तथा सवै वडाको प्रशासनिक भवन आगामी आ.व. को दोश्रो चौमासिकभित्र निर्माण सम्पन्न हुनेछ । यस वर्ष लगभग ४०–५० वटा सडक मर्मत सम्भार तथा स्तरोन्नति एवं ग्रभेल भएका छन् ।

अब बाँकी गर्न रहेका काम के के छन् ?

नागरिकका ईच्छा, विकासका चाहना, माग र आवश्यकता असिमति हुन्छन । जुनसुकै सरकारसँग सिमित श्रोत र साधन उपलब्ध हुन्छ, त्यही माथि स्थानीय सरकारका आफ्नै नीति नियम छन् । जनताको नजिकको सरकार, देख्न, छुन अनि महशुस गर्न सकिने एकमात्र सरकार भएका नाताले नागरिकका थेग्न नसकिने मागहरुलाई आवश्यकताको आधारमा प्राथामिकिकरण गरी सम्बोधन गर्नु हाम्रो बाध्यता अनि आवश्यकता दुवै हो । जनताका सवै खाले मागहरु जुन महत्वपूर्ण अनि अत्यावश्यक छन ति सवै स्थानीय सरकार भएको नाताले अब गर्न वाँकी काम भित्र पर्ने गर्दछ भन्ने मेरो व्यक्तिगत ठम्याई हो । तथापि हाम्रो क्षमता र श्रोतसमेतलाई मध्यनजर गर्दा सेवाग्राहीमैत्री प्रशासनिक भवन निर्माण पश्चात त्यहाँ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्नु, विशेष गरी नया भवनलाई सूचना प्रविधिका आवश्यक साधनहरुले सुसज्जित गरी प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिनु अबको आवश्यकता हो । गाउँपालिकाका बहुवर्षिय योजनाहरुको निर्माण कार्य सम्पन्न गर्नु गाउँपालिकाको प्रमुख दायित्व हो । नयाँ भवन आसपासका सडकहरु तथा अन्य पहुँच मार्गहरुको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यलाई प्रथामिकतामा राख्नु अर्को महत्वपूर्ण कार्य हो । गाउँपालिकास्तरीय आधारभूत अस्पतालसम्मको पहुँचमार्गहरु कालोपत्रे गर्नु अर्को बाँकी र महत्वपूर्ण कार्य हो । साथै जनताबाट माग भएका र पूरा हुन नसकेका पूर्वाधारहरुको निर्माण कार्यका लागि बजेट सुनिश्चित गरी तदारुकताका साथ कार्य अगाडि बढाउनु पर्ने देखिन्छ ।

गाउँपालिकाबाटै विस्थापित गर्न लागिएको काठे पुल । 

समग्र कृषि क्षेत्रको विकास र विस्तार गरी कृषिको आधुनिकिकरण तथा प्रविधिको उपयोग मार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउने दिशामा अघि बढ्नु छ । व्यवसायिक कृषि र पशुपालन तर्फ युवाहरुलाई आकर्षित गरी बैदेशिक रोजगारीको चापलाई कम गर्ने तथा स्वरोजगार हुन प्रेरित गर्ने थप कार्यक्रमहरु गर्न अझै बाँकी छ ।
भेलागुढी सहिद स्मृति लोकतान्त्रिक पार्कको निर्माण तोकिएको समयमा सम्पन्न गरी पर्यटकीय गतिविधिमार्फत आन्तरिक आयको दायरालाई फराकिलो पार्नुछ । अन्य पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षण एवं प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रको लागि आवश्यक आधारभूत पूर्वाधारहरुको निर्माण गर्ने कार्य समेत आगामी दिनमा गर्नुछ ।

                                                                                                        प्रस्तुति – सुरेन्द्र भण्डारी 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here