त्रास दिनहुँ बढ्दैछ

१ श्रावण २०७८, शुक्रबार मा प्रकाशित
  • 2K
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

देशको राजनीति तरङ्गीत भइरहेका बेला मत्थर हुन थालेको कोरोनाभाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि विज्ञहरूले भने जस्तै तेस्रो लहरको त्रास पनि बढेको छ। डेल्टा प्लस भनिएको भाइरसको उत्परिवर्तित रूपको पहिचान समेत भइसकेकाले महामारी नियन्त्रणमा चुनौति समेत थपिएको छ। एक त एउटा सरकारको बहिर्गमन र अर्को सरकारको आगमनले कतिपय कार्यनीति, योजना र कार्यान्वयनमा अन्यौल हुन्छ नै त्यसमाथि विकसित राजनीतिक परिवेशले सङ्क्रमण पक्कै बढ्ने छ। सरकार प्रमुखले सरकारी निवास छोड्नु पर्दा कार्यकर्ताको भीड लगाएको दृष्य एउटा उदाहरण हो जहाँ स्वास्थ्य अनुशासनको ख्याल गरिएन। सरकार, सरकार प्रमुख वा राष्ट्रप्रमुख देश, देशबासी र संविधानका पालक तथा रक्षक हुन्। त्यसैले उनीहरूको अभिभावकीय भूमिकाको अनुभूति गर्न पाउनु पर्छ। उनीहरू उदाहरणीय र उत्प्रेरक हुनुपर्छ।

कोरोनाजन्य कहर भोग्नु परेको झण्डै डेढ वर्ष भयो। यसबीचमा नौ हजारभन्दा बढीले अमूल्य मानव चोला अकालमै गुमाउनु पर्यो। अहिले यतिका समय बितिसक्दा पनि यो जीवन गुमाउनु पर्ने क्रम रोकिएको छैन। अझ यो हप्ता केही मत्थर भएको सङ्क्रमण फेरि उकालो चढ्न थालेको छ। गत आइतबार एक हजार आठसय एकतीस जना सङ्क्रमित भएकोमा त्यसयता सङ्ख्या बढ्दो छ। बुधबार मात्रै त्यो सङ्ख्या अझै उक्लिएर दुई हजार नौसय पाँच पुगेको छ। सरकारले निषेधाज्ञा खुकुलो पार्दै लगेपछि नै सङ्क्रमण व्यापकरूपमा विस्तार हुने विज्ञहरूले चेतावनी दिएकै थिए, त्यसमाथि राजनीतिक घटनाक्रमले पनि सङ्क्रमण फैलिनमा ठूलो भूमिका खेलेको छ। निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारी निवास छोड्दा देखिएको तस्विरले सङ्क्रमणको जोखिम झनै उच्च बनाएको छ। अहिले कोरोनाको उपचार भइरहेका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। सङ्क्रमण पुष्टि भए लगत्तै बिरामीको मृत्यु हुने घटना पनि देखिन थालेको छ। यसले भाइरस झनै सङ्क्रामक, झनै घातक हुन थालेको अनुमान गर्न सकिन्छ। यस्तोमा आफू आफूले स्वास्थ्यका मापदण्डको पालना नगर्ने हो भने भविष्य अनिश्चित छ।

यही समय छिमेकी देश भारतका चिकित्सकहरूको संस्थाले कोरोना महामारीको तेस्रो लहर अवश्यंम्भावी रहेको चेतावनी दिएको छ। केही समययता घट्दो सङ्क्रमणका कारण त्यहाँको सरकारले लगाएको प्रतिबन्ध खुकुलो पारेको छ। त्यसका कारण त्यहाँका पर्यटकीयस्थल, धार्मिक गतिबिधि र तीर्थस्थलहरूमा भीडभाड हुनथालेको छ। त्यही परिस्थितिबाट सचेत हुँदै जनस्वास्थ्यका मापदण्डको पालनामा सचेत नहुने हो भने कोरोनाजन्य सम्भावित जोखिम हाम्रालागि झनै घातक हुनसक्छ। भौतिक दूरीको पालना, मास्कको अनिवार्य प्रयोग,सरसफाई लगायतका सचेतनाको पालना नगरिँदा उत्पन्न परिणामको पीडा हामी आफैँले भोग्नु पर्छ। सङ्क्रमणबाट जोगाउने सुरक्षित उपाय खोप नै हो जुन केवल एघार लाख जनाले मात्रै लगाएका छन्।पहुँच र नजिकका बाहेक मापदण्ड र जोखिममा रहेकाहरू खोपबाट अझै बञ्चित छन्। यस्तोमा भीडभाडमा नजान, सुरक्षित बस्न स्वास्थ्यविद्हरूको सल्लाहप्रति सजग हुनैपर्छ। सरकार अभिभाबक हो उसले जनताको जीवन रक्षा गर्नै पर्छ तर, त्यसअघि हामी स्वास्थ्यप्रति सचेत र सावधान हुनुपर्छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here