विनोद सापकोटा, झिलझिले ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का लक्ष्मीप्रसाद चौहानले मासुको व्यवसाय गरेको पाँच वर्ष भयो । ‘हाम्रो फ्रेसहाउस’ नामको उनको पसल दुधेमा छ । राजमार्गसंग जोडिएकोले होला सायद उनको पसलमा मासुका उपभोक्ताको भिडै लाग्ने गरेको छ ।
ताजा र सफा मासु उपभोक्ताले पाउनु उनको पसलको प्रमुख विषेशता हो । गाँउ घरमा किसानले पालेका खसी र बोका खरिद गरेर उनले मासुमा बेच्ने गरेका छन् । शुक्रबार उनी नगरपालिकाको मुल गेटमा भेटिए । पसल बन्द गरेर नगर पुगेका चौहानले साउन १ गते अर्थात आर्थिक वर्षको सुरुवातमै उपहार पाए ।
शिवसताक्षी नगरपालिका र सहारा नेपाल चारपानेको आर्थिक सहयोगमा सतप्रतिसत अनुदानमा मासुको व्यपारका लागि आवस्यक सामग्री पाउँदा उनि निक्कै दंग देखिन्थे । उनले करिव २ लाख मुल्य बराबरको सामग्री अनुदानमा पाएका हुन् । उनले भने, ‘यी सामग्री नहँुदा पनि व्यापार चम्किएको थियो । अब झन चम्किन्छ ।’
चौहानले ३ सय लिटरको डि फ्रिज, फेदरिङ मेसिन, ५०० एमएमको फाइवरको अचानो, बर्नर सहितको ग्यास सिलिण्डर र ५० केजी तौल क्षमताको तराजु पाएका हुन् । उनलाई नगर प्रमुख चन्द्रकुमार शेर्माले सामग्री प्रदान गरेका हुन् ।
शिवसताक्षी नगरपालिकाको ५ लाख र साहरा नेपाल चारपानेको ५ लाख गरेर १० लाख रुपैयाँ बराबरको सामग्री व्यवसायीले अनुदानमा पाएको नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए । उनले नगरको पशु सेवा शाखाको वार्षीक कार्यक्रम अनुसार व्यवासायीले सामग्री पाएको बताए ।
चौहान जस्तै अन्य ५ जना व्यवसायीले पनि सामग्री पाएका थिए । रिना राई र अनिल थाम्सुहाङ वडा नम्बर ९, दिलिप थापा वडा नम्बर २ र वडा नम्बर ११ की सोभा दंगाल मैनालीले अनुदानमा सामग्री पाएका हुन् । नगरले लागु गरेको मापदण्ड पुरा गरेका व्यवसायीलाई सामग्रीको लाभ ग्रहणका लागि नगरले आव्हान गरेको थियो । तर, ५ जना व्यवसायीको मात्र आवेदन परेकाले उनिहरुलाई सामग्री प्रदान गरिएको लेखा अधिकृत प्रकाश योङहाङले बताए ।
व्यवसायीले नगरबाट शत प्रतिसत अनुदान पाएपछि उनिहरुले आफ्नो पसलको डेकोरेसन गर्नुपर्ने प्रावधान छ । खुल्ला रुपमा मासु बिक्री गर्न नपाइने, स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्नुपर्ने र पसललाई सफा राख्नुपर्ने सर्त नगरले व्यवसायीसंग गरेको छ ।






























