जनप्रतिनिधिज्यू, तपाईं भ्रममा हुनुहुन्छ !

८ श्रावण २०७८, शुक्रबार मा प्रकाशित


जनताकै थाप्लामा आर्थिक व्ययभार पर्ने गरी भए पनि जनताका यावत् समस्या सुल्झाउन र विकास निर्माणका कार्य गर्न भन्दै जनप्रतिनिधिहरू चुनिए ।

लामो पर्खाइपछि चुनिएका जनप्रनितिधिले ‘अब त काम गर्लान्’ भन्ने जनताहरू माझ ठूलो आशा थियो । तर, जनप्रतिनिधिले विकासका नाममा सिन्को पनि नभाँचेको स्थानीयहरू गुनासो गर्छन् । चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका उनीहरू अहिले भने अन्यमनस्क भएका छन् । आफ्ना क्षेत्रमा विकास गर्नु, जनताको जीवनस्तर उकास्ने योजना ल्याउनु त उनीहरूका लागि हतप्रभको अवस्था हुन्छ । आफैलाई सुविधा थप्न पाए बरु आनन्दित भएर विचरण गर्दछन् ।

चुनावका बेला मसिनो बोलीमा सबैलाई प्रभावित पारेका उनीहरू अहिले भने महँगो मोबाइल, सवारी–साधन, बिदा, सुविधा, भत्ता र विभिन्नखाले सुविधा थपेर विलासी जीवन बिताइरहेका छन् । कोही भेट्न जाँदा अपरिचितको व्यवहार गरिदिन्छन्, कसैले अनुनय गर्दा पनि प्रतिक्रियामा गर्जन निस्किन्छ । या भनौं, कहिलेकाहीँ त कुनै प्रतिक्रिया नै आउँदैन ।

सडकको अवस्था बेहाल छ । खानेपानीको उस्तै हाहाकार छ । जनताका दैनिक जीवनसँग सरोकार राख्ने आधारभूत आवश्यकताका पूर्वाधारको व्यवस्थापन र उपलब्धता गराउन कुनै चासो नै दिइएको छैन । चुनाव सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि धेरै ठाउँमा जनताका प्रत्यक्ष सरोकारका मुद्दाहरूको अरुणोदय नै हुन सकेको छैन । तर, जनप्रतिनिधिहरू बाहिर विकास र समृद्धिले फड्को मारेको गफ दिनमा व्यस्त छन् ।

जुन ठाउँमा आफ्ना कुरा बिकाउँछन् त्यहाँ सम्पूर्णका ज्ञाता भए झैं बकितम् सुनिन्छन् । तर, जब जनताले कुनै गुनासा लिएर जान्छन्, तब आफूहरूलाई अनभिज्ञ भन्दै मुख चोख्याउँछन् । काम कुरो एकातिर मिल्काएर आफ्नै सनकका भरमा हिँडेका उनीहरू वास्तवमै भ्रममा छन् । उनीहरूलाई लागेको होला आफ्ना ठाउँमा पर्याप्त समृद्धि आएको छ भन्ने । किनभने ५० वर्ष पहिले हिँड्ने ग्राभेल सडकमा खाल्डाखुल्डी हुने गरेको र अहिले सोही सडकमा ग्राभेल गरेर हिँड्न सकिने अवस्थालाई उनीहरूले समृद्धिको उपमा दिएका हुन्छन् ।

उनीहरूले आफू बस्ने कार्यकक्ष झकिझकाउ पारेका छन् । व्यक्तिगत जीवनमा ठूलै परिवर्तन पनि ल्याएका छन् । तर, जनताको उही पुरानो घरको छाना वर्षायाममा चुहिन्छ । उस्तै छ उनीहरूको हालत । उनीहरूले त्यो रङ्गीचङ्गी अन्तःपुरबाट एकपटक जनताको घरदैलो हेरिदिए हुने नि !

जनप्रतिनिधिकै लागि भनेर किनिएका सवारी–साधनको लागत करोडभन्दा बढी छ । तर, जनतालाई रोजगार दिन र गरिबी न्यूनीकरण गर्न लाखभन्दा बढी पनि रकम विनियोजन भएको देखिन्न । जनप्रतिनिधिले सरकारबाट पाउनुपर्ने सेवा–सुविधा घुँडा टेकेर तुरुन्तै लिने, तर जनसरोकार जोडिएका काम नगरेर आफूले दिनुपर्ने र जनताको लागि गर्नुपर्ने काममा जिम्मेवार नै छैनन् । आफूलाई जे मन लाग्छ त्यही गरेका छन् । तर पनि उनीहरू आगामी चुनाव जित्ने आशामा छन् । यो भ्रम नभएर के हो ?

जनता रोग, भोकले ग्रस्त हुँदा समेत नेताहरुलाई भने आफ्नै जनजीवनको चिन्ता रहेको छ । कोरोना भाइरसका कारण जनता संकटमा पर्दा समेत नेताहरुबाट कुनै ठोस उपलब्धिमूलक निर्णय भएको पाइन्न । सरकारी सेवासुविधा लिन तछाड–मछाड हुने नेताहरुले आफ्नो सेवासुविधाबाट जनताको स्वास्थ्यउपचारमा थोरै पनि लगानी गरेको देखिएन । कोरोना भाइरसको दोस्रो लहरका कारण धेरैले ज्यान गुमाइरहँदा समेत यसको रोकथाम र भ्याक्सिन खरिदमा सरकारी तवरबाट देखिएको लाचारीपनले नागरिक निराश भएका छन् ।

पटक–पटक संसद विघटन र पुनस्र्थापनाले वाक्क भएका जनतासामू पुनः नेताहरु चुनावका कुरा गरेर भोट फकाउने रणनीतिमा लागेको पाइन्छ । बहुमत प्राप्त सरकारले पाँच वर्षको अवधिमा विकासका योजनालाई अगाडि बढाउने जनताको आशा माथि तुषारापात भएको छ । नेताहरुको राजनीतिक स्वार्थकै कारण मुलुक अस्थिरताको जन्जीरमा अडिएको छ । मुलुक अस्थिर हुँदा नागरिकको सुरक्षादेखि देशको सम्प्रभूतासम्मका विषयमा खलल पुग्ने गरेको छ ।
विदेशी हस्तक्षेप बढेर देशमा गृहयुद्धको समेत सम्भावना बढ्ने खतरा रहेको छ । लामो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्दै मुलुकको दिगो विकासमा नेताहरु अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर, जनताको अपेक्षा विपरीत उनीहरुको जीवनर स्तरमा मात्रै परिवर्तन आउनुले युवापुस्तामा समेत राजनीतिप्रति वितृष्णा बढ्न थालेको पाइन्छ । नेतृत्व सक्षम र सही भएमात्र मुलुकले विकास र निकास पाउनेमा दुईमत छैन ।

अब पनि राजनीतिक स्वार्थ राखेर वा नागरिकलाई भ्रममा पारेर आफ्नो स्वार्थ पूरा गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रने सोचमा हुनुहुन्छ भने नेताज्यू तपाई भ्रममा हुनुहुन्छ । नागरिक अब सचेत भइसकेका छन् । विगतका काम र नेतृत्व गर्ने शैलीको मूल्यांकन गरेर मात्रै उनीहरुले अब नेतृत्व चयन गर्नेछन् । आगामी निर्वाचनमा निर्वाचन आयोगले मत दिन्न अर्थात् नो भोट सिस्टमलाई समेत कार्यान्वयनमा ल्याएमा धेरै स्थानमा नौ भोटले मान्यता पाउने पक्का छ । त्यसैले आफ्नो आचरणमा सुधार गरेर जनताका आशा र अपेक्षामा लाग्नु होला । नत्र भाषणको भरमा चुनाव जित्ने तपाईंको सपना भ्रम मात्र हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here