सडक सुरक्षाका चुनौतिहरू

८ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष ०७७÷०७८मा झण्डै पौने चार करोड रूपैयाँ जरिवानाबाट राजश्व सङ्कलन गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार यस अवधिमा कारवाहीमा पर्ने सर्वाधिक संख्या मोटरसाइकल चालकको रहेको छ । कारवाहीमा पर्नेमा मुख्य सडकमा सवारी चलाउने नै बढी छन् । अझ सहायक सडकमा पनि ट्राफिक प्रहरीको उपस्थिति रहने हो भने राज्यकोष झनै धेरै र सजिलै बढ्ने निश्चित छ । अहिले नेपालीको क्रयशक्ति धेरै बढेको कारणले हो वा वैदेशिक रोजगार अथवा नयाँ पुस्तामा बढेको भौतिक सुविधाप्रतिको तृष्णाले दुई पाङ्ग्रे सवारीलाई नै सडक साँघुरा हुनथालेका छन् । निजी सवारी खरिद गर्ने र एउटा मान्छेले एउटा सवारी उपयोग गर्ने कारणले पनि सडकमा चाप बढ्दै गएको छ । यस्तोमा ट्राफिक प्रहरीको उचित व्यवस्थापन नगर्ने हो भने सडक सुरक्षित हुन सक्दैन ।

एउटै जिल्लामा, ट्राफिक प्रहरीको जनशक्ति अपुग भएको अवस्थामा, ग्रामीण सडकमा ट्राफिक प्रहरीको नियमित उपस्थिति नहुँदा र अनेक दवावका वीच नियम उल्लंघन गर्नेहरूबाट तीन करोड उनान्सत्तरी लाख त्रिपन्न हजार पाँच सय रूपैयाँ जरिवानावापत सङ्कलन गरिनु चिन्ताको विषय हो । यसले नियम मिच्ने प्रवृत्ति बढाउँछ जो अन्तत व्यक्ति, समाज हुँदै राष्ट्रकै अहितमा हुन्छ । सवारीको व्यवस्थित सञ्चालनका लागि सडकका नियम बनाइएको हुन्छ र त्यसको मुख्य नियमक निकाय भनेकै ट्राफिक प्रहरी कार्यालय हो । खासगरी नियम मिच्नेमा प्रत्येक वर्ष मोटरसाइकल चालक नै बढी देखिएका छन् । दुर्घटनामा पर्ने, घाइते हुने र मृत्यु हुनेको संख्या पनि यही सवारीको भूमिका बढी छ । चालक अनुमतिपत्रबिनै सवारी चलाउने पनि यिनै बढी छन् । त्यसैले सडकलाई सुरक्षित र व्यवस्थित गर्नका लागि प्रहरी परिचालन त्यसकै अनुपातमा बढाउन जरूरी छ ।

खासगरी ग्रामीण क्षेत्रमा सडक नियम उल्लंघनका घटना बढ्दै गएका छन् । ट्राफिक प्रहरीको उपस्थिति नरहेकाले, भएका ठाउँमा जनशक्ति अपुग भएर, नित्य अनुगमनको अभावले यात्राजन्य जोखिम बढेर गएको छ । यस्तोमा छड्के जाँच गर्नु पनि एउटा उपाय हुनसक्छ जोखिम नियन्त्रण गर्न तर यो नै सर्वोत्तम उपाय भने होइन । राष्ट्रका प्रत्येक अवयव व्यवस्थित, स्वस्थ, सुसञ्चालित र विधिबाट चल्ने भए मात्र सर्वतोमुखी र सर्वाङ्गिण विकास भएको मानिन्छ । सबैले नियमको पालना गर्नु, मर्यादामा रहनु हो भने दुर्घटना न्यूनीकरण पनि हुन्छ र त्यसले दिन सक्ने क्षति पनि कम गर्न सकिन्छ । अहिले सडकमा गुड्ने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे वा त्योभन्दा ठूला सवारी साधनको चापले सडक साँघुरिएका छन् । यस्तोमा ट्राफिक प्रहरीको प्रभावकारी उपस्थिति अपरिहार्य छ । सजाय गर्ने दाउ हेर्नुभन्दा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा चलाउने, मापदण्ड विपरीतका उपकरण जोड्ने, क्षमता र निर्दिष्टभन्दा बढी यात्रु बोक्ने, उमेरै नपुगी सवारी चलाउने वा अनुमतिपत्र नभई चलाउने सबै सडक सुरक्षाका वाधक हुन् । यिनलाई कानूनको परिधिभित्र ल्याउन सरकारको ध्यान जानु पर्छ । तर, जरिवाना गरेरै यसलाई नियन्त्रण गर्न सकिन्छ भन्नुभन्दा सचेतना र प्रभावकारी उपस्थिति बढाउनुपर्छ । यसले मात्र हाम्रो यात्रा सुरक्षित हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here