नेता नै छुवाछुतको शिकार

0
298

टीकाराम नेती /बिर्तामोड ।

राति ११ बजे मृत्यु भएका बाबुको खबर उनले बिहान ७ बजेतिर माइतीका छिमेकीले सामाजिक सञ्जालमा पोष्ट गरेको देखेपछि मात्र थाह पाइन् । अनि हतार–हतार रुँदै छिमेकीलाई फोन गरेर भनिन्– ‘म घाटमै भए पनि आउँछु अन्तिम पटक अनुहार हेर्न पाउँ नजलाउनु ।’ तर अन्तर जातीय विवाह गरेकी छोरी सीता बाबुको लास हेर्न आउने खबर पाएपछि दमक चिया दोकानका ढुंगाना परिवार ९ बजेसम्म अन्तिम संस्कारको काम सकेर घाटबाट फर्किए ।

दलित विश्वकर्मासँग विवाह गरेकै कारण माइतीबाट अलग बनाइएकी एमाले निकट अनेम संघ झापाकी सह–सचिव सीता ढुंगाना विश्वकर्माले जन्मदिने बाबु जलाइसकेको खरानी माग्दा समेत पाइनन् । उनले भनिन्– ‘म कन्काई घाट आउँदैछु भन्ने सूचना पाएपछि अलिकति खरानी भए पनि राखिदिनु भनेको थिए त्यो पनि सबै पखालेर बगाइ दिएछन् ।’

हाल एमाले झापा जिल्ला सदस्य छविलाल विकसँग २०५७ साल पौषमा प्रेम विवाहमा बाँधिएकी सीता त्यसैबेलादेखि नै परिवारबाट तिरस्कृत हँुदै आएकी थिइन् । विवाह गरेपछि उनका परिवारले तत्काल ब्राम्हण बोलाएर पाठपूजा गरी एकोहोरो शंख बजाएर सीताको किरिया गरिसकेका थिए । माइतीले सँगै बसेर बाबुको किरिया गर्न वर्जित गरेपछि आप्mनै घरमा बाबुको किरिया बारेर बसेकी सीताले १३औं दिन आइतबार भनिन्– मैले दलितसँग विवाह गरेकै कारण मेरो जिउँदैमा किरिया गरियो, मेरो बाबु मरेपछि पनि मलाई किरिया गर्नबाट वञ्चित किन गरियो ?’

सीताको माइती घर एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा पर्दछ । १३ दिनअघि बाब धर्मानन्द ढुंगानाको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । दमक सूर्योदय आधारभूत विद्यालयका प्रअ भीमप्रसाद ढुंगाना र सार्वजनिक निमाविका शिक्षक लक्ष्मीप्रसाद ढुंगाना सीताका सहोदर दाजुहरु हुन् । उनीहरु दुबै जना शिक्षकले नै बाबुको मृत्युपछि सहोदर बहिनीलाई सँगै बसेर आफूलाई किरिया गर्न नदिएको सीताले बताइन् ।

सीता अहिले आप्mनै घरमा बसेर ढिकुरो बनाएर किरिया गरिरहेकी थिइन् । अनेम संघ सहसचिव समेत रहेकी सीताले भनिन्– ‘राज्यको शासन व्यवस्था कुुलिन वर्गको हातमा राख्ने र उपल्लो वर्गकाले सुद्रलाई रैती दास र आफूलाई मालिक ठान्नेहरुले कागजी रुपमा जति नै व्यवस्था परिर्वतन गरे पनि व्यवहार त परिवर्तन गर्न गाह्रो रहेछ ।’

एमालेका संगठन र केन्द्रीय विभागका प्रमुख सदस्यहरुले समवेदना पत्र पाठ गरे मौनधारण गरे सबैले तपाइलाई अन्याय भयो भने तर कसैले पनि हिँड्नोस हामी तपाईको माइतीमा किरिया बस्ने व्यवस्था मिलाइ दिन्छौं भन्न सक्नुभएन र यो घरको पानी पनि नपिई हिँड्नुभयो ।’ –सीताले आक्रोस पोखिन्– ‘अब भन्नुहोस परिवर्तन कागजमा मात्र भएर हुन्छ ?’ सीताका पति छविलाल विश्वकर्मा पनि एमाले जिल्ला सदस्य हुन्, तर उनी पनि यस्तो विषयका विरुद्ध एक्लै लड्न सम्भव नभएको र सामुहिक रुपमा लड्दा मात्र सम्भव हुने निष्कर्षमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here