अर्जुनधारा ।
चालु आर्थिक वर्ष ०८१/०८२को युवा तथा महिला लक्षित कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारा–४ नं. वडा कार्यालयको आयोजनामा दुई वटा तालिम बुधबारदेखि शुरु भएको छ ।
वडामा रहेका युवाहरुलाई तालिमको माध्यमबाट ज्ञान र सीप प्रदान गरि उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३० दिने आधारभूत हलुका सवारी ड्राइभिङ तालिम र ३५ दिने आधारभूत ब्यूटी पार्लर तालिम सञ्चालन गरिएको वडाध्यक्ष अम्बरबहादुर कटुवालले जानकारी दिए ।
कार्यालयको सभाहलमा वडाध्यक्ष कटुवालको अध्यक्षतामा आयोजित दुवै तालिमको उद्घाटन कार्यक्रमका सहभागीहरुमध्ये ज्येष्ठ नागरिक देवीप्रसाद बरालले उद्घाटन गरेका थिए ।
झापाको बिर्तामोडस्थित गड्तौला मोटर ड्राइभिङ प्रशिक्षण केन्द्रले तालिम प्रदान गर्ने ड्राइभिङतर्फ २० जना र अर्जुनधारा–८स्थित सरस्वती सप्लायर्स एण्ड ब्यूटी पार्लरले तालिम प्रदान गर्ने ब्यूटी पार्लरतर्फ ४० जना प्रशिक्षार्थी छनौट भएको वडासचिव सुरज राजवंशीले जानकारी दिए ।
वडाको बजेटबाट ड्राइभिङका लागि दुई लाख रुपैयाँ र ब्यूटी पार्लरका लागि एक लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ब्यूटी पार्लरतर्फ थप २५ हजार रुपैयाँ खर्च लाग्ने वडासचिव राजवंशीले बताए ।
त्यसैगरी ङ«ाइभिङ तालिमबाट उत्कृष्ट हुने पाँच जना प्रशिक्षार्थीलाई केन्द्रले रोजगारी प्रदान गर्ने केन्द्रका प्रबन्ध निर्देशक एवम् तालिमका प्रमुख प्रशिक्षक विष्णुप्रसाद गड्तौलाले जानकारी दिए । यता ब्यूटी पार्लरतर्फ उत्कृष्ट हुने प्रशिक्षार्थीहरु छनौट गरि आगामी आर्थिक वर्षमा एडभान्स तालिम सञ्चालन गर्ने वडाको तयारी रहेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।
ब्यूटी पार्लरतर्फ सीटीभिटी अन्र्तगत लेबल वानका कोर्सहरु प्रदान गरिने पार्लरकी सञ्चालक एवम् तालिमकी प्रमुख प्रशिक्षक तेजकुमार खत्री न्यौपानले जानकारी दिइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति खेमबहादुर काफ्ले, नेकपा एमालेका वडा इञ्चार्ज एकदेव खनाल, नेकपा माओवादी(केन्द्र) वडाका अध्यक्ष नरप्रसाद सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टी वडाका संयोजक कुमार राई, राप्रपाका वडा प्रतिनिधि प्रेम कार्की, प्रशिक्षार्थी नर्वदा विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।
वडा सदस्य कोपिला थापाले तालिमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव राजवंशीले गरेका थिए ।