सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

२४ भाद्र २०७८, बिहीबार मा प्रकाशित

गोदावरी, 

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।

लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् ।

यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या आठ हजार ६७२, ऊर्जामूलक छ हजार ३८५, उत्पादनमूलक पाँच हजार ६१३, पर्यटनका चार हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण धेरै व्यक्तिहरु स्वदेश फर्केर लघु उद्यमतिर लागेर स्वरोजगार बन्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू देशभित्रै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा लघु उद्यमीको सङ्ख्या २२ हजार ५७९ रहेको तथा तीमध्ये सक्रिय लघु उद्यमीको सङ्ख्या १७ हजार ६८ र निष्क्रियको सङ्ख्या पाँच हजार ५११ रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समयमा रोजगारीका लागि विदेश गएर घर फर्किएका युवा होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, धातुजन्य उद्योग, कृषि तथा पशु फार्म, निमार्णजस्ता साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएका छन् ।

महिलाका नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पाइएको मन्त्रायलयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here