‘एमाले फुटाउनै अध्यादेश’

0
510

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मंगलवार नेकपा एमाले झापाले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै चलिरहेको अधिवेशन मध्यरातमा अन्त्य गरेर अध्यादेश ल्याएको र त्यसलाई सभामुख सापकोटाले पार्टीको कार्यकर्ता झैं गरेर समर्थन गरेकाले संसद अवरुद्ध गरेको बताए ।

नेकपा एमाले फुटाउन नै गलत मनसायले अध्यादेश ल्याइएको छ –अध्यक्ष ओलीले भने – एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु नेकपा एमालेको बाध्यता हो । अध्यादेश ल्याउनका लागि चलिरहेको संसद बन्द गर्न पाइँदैन, यो जालीझेली कुरा हो, यो असंधैधानिक कुरा हो ।

सम्वोधनको अधिकांश समय माधव नेपाल र पुष्प कमल दाहाल प्रचण्डलाई कटाक्ष गर्दै बिताएका अध्यक्ष ओलीले फुटेर गएको माधव नेपाल समूहले आगामी निर्वाचनमा वडा सदस्य समेत नजित्ने दावी गरे ।

प्रचण्ड तिकडमवाजी र तान्त्रिकमा माहिर छन् –अध्यक्ष ओलीले भने– तर माधव नेपाल हिजो पनि १६ वर्षसम्म पार्टीको नेतृत्व गरेर सक्दिँन भन्दै छाडेर हिँडेका मान्छे हुन् । प्रधानमन्त्री समेत चलाउन नसकेर हिँडेका हुन् । पदमा छँदा सक्दिँन भन्दै हिड्ने अनि आज पद चाहियो भन्दै पार्टीलाई टुक्र्याउने ? ओलीले प्रश्न गरे ।

लामो समयसम्म एमालेमा रहेर नेता माधवकुमार नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको ओलीको आरोप छ । माधव नेपाल समूहलाई एमालेबाट विभाजन भएर नभई चोइटिएर गएका छेस्काहरुको समूह मात्रै भएको ओलीको तर्क थियो । जनादेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार निर्माण भएको २ महिना वित्दा समेत सरकारले पूणर्ता नपाउनु सरकारको कमजोर क्षमता देखिन थालेको पनि ओलीको टिप्पणी छ ।

नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता अग्नि खरेल, देवराज घिमिरे, हिक्मत कार्की, देवेन्द्र दाहाल, रबीन कोइराला लगायतले बोलेका थिए ।

सोही समारोहका बीच विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको कार्यक्रममा नेकपा एमाले झापाकी उप सचिव चन्द्र श्रेष्ठले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन नेकपा झापाका सचिव मदन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here