मोहन सिंह
चीनको पूर्वाधार परियोजना वेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआर्ई) का कारण न्युन तथा मध्यम आय भएका धेरै मुलुकहरु खर्बौ डलर बराबर ऋण बोक्न बाध्य भएका छन् । यस महत्वकांक्षी परियोजनाका कारण कयौं मुलुकहरुले लगभग ३८५ अर्व अमेरिकी डलर बराबरको ऋण बोक्न बाध्य भएको देखाउँछ । केही बर्षदेखि राष्ट्रपती सी जीनपिङ्गको विदेश नीतिसंग सम्बन्धित कयौं मुलुकहरुले वित्तिय भार बोकिरहेका छन् । यसले गर्दा अदृश्य ऋण बढ्न पुगेको वा पछि तिर्न बाध्य हुने तर लुकेको वित्तिय दायित्व बढ्न गएको छ । चीनले धेरै मुलुकहरुलाई ऋणको जालोमा धकेलिरहेको र ऋण फिर्ता गर्न नसके वेईजिङ्गले अन्ततः सम्बन्धित मुलुकको सम्पति जफत गर्ने त्रास बढेर गइरहेको बताइन्छ । राष्ट्रपति सी ले चिनीयाँ स्वार्थलाई विदेशमा थप विस्तार गर्ने योजनासहित गरीब र अल्पविकसित मुलुकहरुमा बीआरआर्इ परियोजनामार्फत ऋण लगानी गरिरहेको छ । अदृश्य ऋणका कारण सिर्जित हुने यस खाले वित्तीय दायित्व नेपाल लगायत धेरै मुलुकको लागि कल्पनै गर्न नसकिने पासो बनिरहेको छ । सरकारी स्वामित्वमा रहेका चिनियाँ ऋणदाताले जमानतको माध्यमद्धारा परियोजनामा लगानी गरिरहेको छ । न्युन तथा मध्यम आय भएका करिब ४० मुलुक अहिले चिनियाँ ऋणको प्रत्यक्ष मारमा परिरहेका छन् । सन् २०१३ मा सी ले बीआरआर्ई सुरु गरे यताको अवधिमा दीर्घकालीन असर उत्पन्न भएको छ । यसअघि अधिकांश चिनियाँ ऋण केन्द्रीय बैंक जस्ता स्वायत निकायमार्फत गर्दै आईरहेकोमा हाल चीनले प्रदान गर्ने ७० प्रतिशत ऋण सरकारी स्वामित्वमा रहेका कम्पनी , बैंक विशेष उद्धेश्य सहित स्थापित निकाय, संयुक्त कम्पनी र निजी क्षेत्रबाट प्रदान गर्दै आईरहेको छ । निहित स्वार्थकोलागि स्थापित यस्ता कम्पनीबाट गरिने लगानीले धेरै मुलुकहरुलाई गम्भिर चुनौती खडा गरिरहेको छ । यस वर्ष अन्तर्राष्ट्रिय वित्तिय बजारमा आफ्नो प्रभुत्वलाई स्थापित गराईराख्न नेपाल लगायत कम आय भएका मुलुकहरुलाई दवाव सिर्जना गरेर ऋण लगानी गरिरहेको छ ।
कोभिड १९ को महामारीले विश्वको अर्थ व्यवस्थालाई धेरै तरिकाले वर्वाद बनायो । विश्वभर विभिन्न चरणमा लकडाउन , यात्रा तथा जमघटमा गरिएका प्रतिबन्धहरुले बजारको शक्ति र सन्तुलनलाई ठूलो नोक्सानी पुर्यायो । आपूर्ति श्रृङ्खलामा आएको ठूलो गडबडीले कम आय र मध्यम आय भएका धेरै मुलुकहरु आर्थिक रुपमा प्रभावित भए । यसैको फाईदा उठाउँदै चीनले ती मुलुकहरुलाई वैदेशिक ऋणमार्फत आफ्नो प्रभाव र प्रभुत्वमा राख्न विभिन्न ऋण सहयतालाई झन आक्रमक रुपमा अगाडि बढाइरहेको छ । यसले कयौं मुलुकको सार्वभौमिकता र राष्ट्रिय सन्तुलनमा नै गम्भिर असरहरु देखा परिरहेका छन् । बीआरआई को मुख्य समस्या भनेको यो ऋण प्राप्त गर्ने देशले दीर्घकालीन ऋणको भार बोक्नु पर्ने हुन्छ । विशेष गरेर दक्षिण पूर्वी एसिया र सव–साहारा अफ्रिकी विकाशसील र अविकसित देशहरु यस प्रकारको चिनियाँ ऋणको चर्को मारमा पर्ने देखिन्छ र परिरहेका पनि छन् । विशेषज्ञहरुलाई डर छ कि गरिब देशहरु आफ्नो खराब अर्थ व्यवस्था धान्न नसकि ठूलो चिनियाँ ऋणको संकटमा फस्न सक्छन् ।
एकातिर कोभिड–१९ ले उत्पन्न गरेको ठूलो आर्थिक खाडलसंगै चिनियाँ ऋणको भार थपिदा नेपाल जस्ता कम आय भएका मुलुकहरु ऋणको भारले उठ्न नसक्ने गरी थला पर्न सक्ने सम्भावना छ । २०१९ को अन्त्यसम्ममा नै यस्तो ऋणको भार पाकिस्तानलाई २० विलियन डलर, अंगोला १५ विलियन डलर, केन्या ७.५ विलियन डलर, इथोपिया ६.५ विलियन डलर , लाओस ५ विलियन डलर र नेपाल २ सय १५ मिलीयन डलर चिनियाँ ऋणको भारमा परिसकेका छन् । २०१९ देखि २०२१ को सुरुवातीसम्ममा यही ऋण बढेर सम्बन्धित मुलुकको कुल ग्राहस्थ उत्पादनले धान्न नसक्ने पुगेको अनुमान अर्थ विशेषज्ञहरुले लगाइरहेका छन् । चीनले आर्थिक सहायताको नाममा गरीब देशहरु माथि लगानी गरेर तिनीहरुको अपार प्राकृतिक संसाधन कब्जा गर्ने मनासय रहेको पनि कतिपयको भनाइ छ ।
धेरै गरीव राष्ट्र चीनको ठूलो ऋण फिर्ता गर्न भोलि असमर्थ देखिन्छ ।बीआरआई परियोजना चीनको ऋण जाल कुटनीतिको एउटा नमुना हो । आर्थिक दृष्टिले कमजोर देशले चीनसंग लिने ऋणको नियतिको डरलाग्दो उदाहरण हो । नेपालले चीनसंग लिएका हवाईजहाजहरुको अर्वौ घाटा त्यस्तो ऋणको एउटा नमुना हो । आज ती जहाज बेकम्मा भएर वायुसेवा निगम टाट पल्टेको छ । वोलकवोलमा सस्तो रकम प्रस्ताव गरेर काम नगर्ने चिनियाँ कम्पनीहरुको कार्यशैलीले उनीहरुको कार्यक्षमता र कार्य सम्पादनस्तर असाध्यै गुणस्तरहीन छ भन्ने देखाउँछ । बीआरआई परियोजनाको प्रमुख उद्धेश्य भनेकै गरीब मुलुकहरुलाई धेरै भन्दा धेरै ऋणको भार बोकाएर त्यहाँ भएका प्राकृतिक संसाधनहरुको कब्जा नै हो भन्ने बताइन्छ । यसबारे गहिरो अध्ययन जरुरी छ ।