झापाको पाँच निर्वाचन क्षेत्रको सभापति पदका लागि १० जना उम्मेद्वार मैदानमा

६ मंसिर २०७८, सोमबार मा प्रकाशित

झापा।

नेपाली कांग्रेसको आज भइरहेको क्षेत्रीय अधिवेशनका लागि झापाको पाँच निर्वाचन क्षेत्रको सभापति पदका लागि १० जना उम्मेद्वार मैदानमा छन् ।

आज मतदान भइरहेको छ । जिल्लाका पाँचवटै क्षेत्रमा पार्टीका दुई प्यानलले उम्मेद्वारी दिएका छन् । झापामा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाको दुई प्यानल छन् ।

क्षेत्रीय सभापतिको दौडमा क्षेत्र नम्बर १ बाट इन्द्रकुमार बुढाथोकी र गोपाल तामाङ, क्षेत्र नम्बर २ बाट मोहन सुब्बा र खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ बाट गणेशप्रसाद पोखरेल र राजेन्द्र घिमिरे, क्षेत्र नं ४ बाट जयनारायण साह र नारायण बजगाई र क्षेत्र नम्बर ५ बाट ढुण्डीराज भण्डारी र रोशनकुमार गौतम रहेका छन् ।

निर्वाचनका लागि क्षेत्र नं–१ मा पासाङ ल्हामु स्मृति भवन धुलाबारी, क्षेत्र नं–२ को नेपाली कांग्रेस झापाको कार्यालय, क्षेत्र नं–३ का लागि नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालय, ४ का लागि सामुदायिक बनको सभाहल र ५ का लागि कृषि क्याम्पस गौरादहमा मतदान कार्य भइरहेको छ ।

निर्वाचन क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि यस निर्वाचनबाट चयन हुनेछन् । समावेशी कोटाको आधारमा न्युनतम २४ देखि २६ जनासम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि र न्युनतम २१ देखि २३ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचनमार्फत चुनिनेछन् ।

अधिकांश क्षेत्रमा एकाध पदमा सर्वसम्मत चयन भए पनि अधिकांश पदमा निर्वाचन नै हुने देखिएको छ । झापाका वडादेखि प्रदेश क्षेत्रसम्मका अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेका छन् भने क्षेत्रीय अधिवेशनमा पनि सौहार्दपूर्ण वातावरण देखिएको पाँचवटै क्षेत्रका मतदान अधिकृतहरुले जनाएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्लामा प्रतिष्ठित नेताहरुको पनि उम्मेद्वारी परेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here