नेपालको जनसंख्या ‘कम हुनसक्ने’

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

झापा ।

नेपालको जनसंख्या यसअघि अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यही मंसीरमा सकिएको नयाँ जनगणनाअनुसार अहिलेको जनसंख्या ‘तीन करोड नपुग्न सक्ने’ देखिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा हाम्रो जनसंख्या हुने अनुमान छ– उनले भने । सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको निर्देशक लामिछानेले बताए ।

उनका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात् २०७८ सालसम्ममा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ । जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा हामी सार्वजनिक गर्छौँ– निर्देशक लामिछानेले भने । कात्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसीर ९ गते सकिएको थियो ।

अनुमानभन्दा किन कम ?

प्रजनन दरमा कमी आउनु अनुमानभन्दा जनसंख्या कम देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताएका छन् । सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन् दर घटेर २ मा पुगेको देखाएको छ। यसअघि नेपालको प्रजनन् दर २.३ थियो। दुई भनेको ‘रिप्लेस्मन्ट लेभल फर्टिलिटी’ भन्दा पनि कम हो । रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ । रिप्लेस्मन्ट लेभल फर्टिलिटी प्रतिमहिलाले बच्चा जन्माउने औसत दर हो ।

सोही अध्ययनले बागमती प्रदेशमा रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ रहेको देखाएको छ । हामीले यति घट्ने अनुमान २०६८ सालमा गरेका थिएनौँ । प्रजनन दर, आन्तरिक बसाइँसराइ दर यति घट्छ भन्ने थिएन– निर्देशक लामिछानेले भने । प्रजनन् दर, औसत आयु लगायतका सूचकमा सुधार भएपछि अहिलेको जनसंख््या तीन करोड पुग्दैन कि भन्ने अनुमान गर्न सकिन्छ ।

प्रजनन् दर किन घट्दो ?

ठूलो संख्यामा खासगरी नेपाली युवाहरू विदेशिने क्रम बढेसँगै प्रजनन दर पनि घटेको लामिछाने बताउँछन् । शहरीकरण बढेको छ, चेतनाको स्तर बढेको छ । धेरै सन्तान जन्माउँदा गुणस्तरीय शिक्षा, गुणस्तरीय जीवन दिन नसकिएला भनेर कम जन्माएका हुन सक्छन् ।

जनसंख्याविद् प्राध्यापक डा. योगेन्द्र गुरुङ पनि युवाहरू वैदेशिक रोजगारीमा जानु नेपालमा प्रजनन दर घट्नुको एउटा प्रमुख कारण भएको बताउँछन् । प्रजनन् गर्न सक्ने उमेरका युवा दम्पतीहरू एकअर्कादेखि टाढा बस्ने समय धेरै भयो त्यो भएर पनि प्रजनन दर घटिरहेको हो– उनले भने ।

घट्नु चिन्ताको विषय हो ?

खासगरी रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ देखिनुले शहरी क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ कि भन्ने सङ्केत गरिसकेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् ।

प्रजनन दर यसरी घट्ने क्रम जारी रह्यो भने शहर–बजारमा युवा जनशक्ति नपाउने अवस्था आउन सक्छ– सम्भावित परिदृश्यबारे उनले भने । चीन, सिङ्गापुरलगायत कतिपय देशले त्यस्तै अवस्था आएर बच्चा जन्माउनका लागि युवा दम्पतीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको उनले उल्लेख गरे ।

तर, प्राध्यापक गुरुङ प्रजनन् दरलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था आइनसकेको तर्क गर्छन् । कतिपय विकसित देशहरूमा जस्तो बच्चा नै पाउन दम्पतीहरू अनिच्छुक देखिएको अवस्था हामी कहाँ आइसकेको छैन ।

प्रजनन दर घट्ने क्रम एउटा बिन्दुमा पुगेर रोकिनेछ– उनले थपे । नेपालमा एकतिहाइ जसो जनसंख्या अझै पनि बालबालिकाको रहेको जनाउँदै प्राध्यापक गुरुङले प्रजनन् गर्न सक्ने उमेरका मानिसको संख्या अझै उल्लेख्य रहेको बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here