नगर अध्यक्षका आकांक्षी तीन जना

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिर्तामोड नगरको अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । पार्टीको नगर अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदमा तीन जना आकांक्षी देखिएका हुन् ।

अध्यक्ष पदका लागि नगर इञ्चार्ज युवराज दाहाल, नगर संयोजक मोहन सुब्बा र पार्टीका पूर्व नगरअध्यक्ष तथा जिल्ला कमिटी सदस्य ठगबहादुर खड्का आकांक्षी देखिएका हुन् । पार्टीको मंसीर १६ गते नगर अधिवेशन हुन लागेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

नगर अधिवेशनलाई उत्सवको रुपमा मनाउन नगर पार्टीले १५ गते अधिवेशनस्थलमा सरसफाई तथा युवा परिचालन गर्ने नगर इञ्चार्ज युवराज दाहालले जानकारी दिए । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० बटा उप समिति निर्माण गरेको इञ्चार्ज दाहालले जानकारी गराएका थिए ।

जनपरिचालन उपसमितिको संयोजकमा युवराज दाहाल, प्रचारप्रसार उपसमिति संयोजकमा बाशु दुलाल, स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा जेबी जबेगू, अभिलेख तथा माइन्यूट लेखन उपसमितिको संयोजकमा शिखर कडरिया, मञ्च व्यवस्थापन तथा सजावट उपसमिति संयोजकमा मोहन सुब्बा रहेका छन् ।

त्यस्तै शहीद, बेपत्ता तथा घाइते सम्मान उपसमिति संयोजकमा पूजा खनाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा कुवेर श्रेष्ठ(अरुण), प्रतिवेदन लेखन उपसमिति संयोजकमा युवराज दाहाल र प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा सन्दीप प्रसाई रहेका छन् ।

पार्टीको ७ पदाधिकारीसहित ६५ सदस्य रहने नगरमा २०÷२२ जना आंकाक्षी रहेको जिल्ला सदस्य तथा प्रचारप्रसार समितिका संयोजक बाशु दुलालले बताए । अधिवेशनको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य प्रदेश नं. १ इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य राम कार्की (पार्थ) रहने तथा विशिष्ठ अतिथि पार्टीका प्रदेश नं. १ सह–इञ्चार्ज तथा झापा इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य धर्मशीला चापागाँई रहने पत्रकार भेटघाटका क्रममा बताइएको छ ।

अधिवेशनमा नगरका १० वटै वडाबाट २ सय जना प्रतिनिधि, ५० जना पर्यवेक्षक र एक सय जना स्वयम्सेवकको व्यवस्थापन गरिएको बताइएको छ । सहमति भएका पद घोषणा गर्ने नभएका पदहरु निर्वाचन प्रक्रियाबाटै टुङ्गो लगाउने दुलालले जानकारी दिए । पार्टी जनताको विश्वासिलो सारथि र क्रान्तिकारी पार्टीको रुपमा स्थापित भएको बिर्तामोड नगर संयोजक मोहन सुब्बाले बताए ।

देशभर करिब १० लाख सदस्यले पार्टी सदस्यता नवीकरण गरेको र झापामा करिब १५ हजार र बिर्तामोड नगरमा एकहजार ५ सय पार्टी सदस्य रहेको जनाइएको छ । बिर्तामोड नगरको ११ गते गर्ने भनिएको अधिवेशन प्राविधिक कारणले हुन नसकेको जनाइएको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने मूल नाराका साथ बिर्तामोड नगर अधिवेशनको आयोजना गरिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here