बिर्तामोड प्रदुषित हुँदा काग बढे

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

झापा ।

बुबा जहाँ–जहाँ बस्नुभयो त्यहाँ–त्यहाँ उहाँले बास रोप्नुभयो । खोपवाडी, कञ्चनवाडी हुँदै बिर्तामोडमा २०२६ सालदेखि हाम्रो बसोबास भयो ।

यहाँ पनि बुवाले अन्धुवा खोलाको डिलमा बाँस रोप्नुभयो बिर्तामोड–१का पुराना बासिन्दा लक्ष्मण ढकालले दिवंगत आफ्ना पिता परशुराम ढकाललाई सम्झँदै भने– ‘रोपिएका धेरै बाँसका झ्याङ खोलाले कटान गर्दै बगायो, बचेको बाँसझ्याङ कागको बासस्थान भएको छ । यहाँ हुलका हुल काग बस्ने गर्छन् । कागले बिस्ट्याएर बाँस झ्याङ वरिपरि गइसक्ने अवस्था छैन ।’ बिर्तामोड वरिपरिका थु्रपै बाँसझ्याङहरु शहरीकरणका कारण मासिएका छन् । जन्मदेखि मृत्यु पर्यन्त चाहिने बाँस बिर्तामोड वरिपरि कम हुँदै गएको छ । बिर्तामोडमा कसैको मरण भएमा चाहिने बाँस उक्त बाँसझ्याङबाट निःशुल्क लान पाइने बताइएको छ ।

ढकालले भने झैं बिर्तामोड–१स्थित अतिथिसदन पूर्व अन्धुवा खोला किनारमा रहेको बाँसझ्याङ अहिले कागको सुरक्षित बासस्थान हो । साँझपख कागको बथान बाँसझ्याङ वरिपरि कराउँदै घुमिरहेको देखिन्छ । सयौं काग कराइरहेका हुन्छन् भने आहाराको खोजीमा निस्किएका काग पनि बस्नका लागि यही बाँसझ्याङ आउने गर्छन् । सबै काग एकैपटक जम्मा हुँदा साँझपख अतिथि सदन वरिपरि कोलाहल नै मचिन्छ– बिर्तामोड निवासी रुद्रबहादुर अधिकारीले भने– बाँस झ्याङमा मात्रै होइन काग साँझपख घरको छत–छतमा बसेर हैरान बनाउँछन् ।

पंक्षीहरुमध्ये मै चलाख पंक्षीका रुपमा कागलाई लिइन्छ । परेवालाई शान्तिको प्रतीक मानिन्छ र परेवाको जस्तो प्रेम, मयुरको जस्तो नाँच, मौरीको जस्तो एकता, कुकुरको जस्तो स्वाभिमान, हाँसको जस्तो चाल, गाई जस्तो साधु संसारमा उदाहरणीय प्राणी मानिन्छन् ।

हुन त काग र मानिसको सम्बन्ध लामो समयदेखि रहिआएको छ । कागलाई यमराजको सन्देश वाहक दूतका रुपमा समेत पुज्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुले काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ । हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारी दिएको मानिन्छ ।
कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल’ ‘सुबोल’ अर्थात् शुभ बोल भनिन्छ । अझ सुकेको रुख वा हाँगामा बसेर काग कराएको खण्डमा ‘सुवोल काउडी ठाउँ सरी जाऊ’ भन्ने गरिन्छ ।

मानवसभ्यता र प्रकृतिसँग जोडिएको यो पंक्षी चलाख भए पनि अल्छी हुन्छ । यसले आफैं गुड बनाउँदैन भने यो फोहोर भएको वरिपरि बस्न रुचाउँछ । हाम्रो बाँसझ्याङलाई कागले आफ्नो बासस्थानको रुपमा रोज्ने अर्काे प्रमुख कारण पनि छ– ढकाल भन्छन्– ‘केही वर्ष यता बिर्तामोडमा कागको संख्या ह्वात्तै बढ्नु र यही बाँसझ्याङमा बस्नु भनेको बिर्तामोडमा फोहोर बढ्नु हो । कागलाई बास बस्नका लागि यो बाँसझ्याङ सुरक्षितस्थल भएझैं आहाराका लागि बिर्तामोडमा फोहोर काफी छ । त्यसकारण बिर्तामोडमा काग थुप्रिएका हुनसक्छन् ।’

हुन पनि हो, फोहोर व्यवस्थापन हुन नसक्दा बिर्तामोड अहिले पनि जताततै दुर्गन्धित छ । डम्पिङ साइडको अभाव हुनु, उठाएको फोहोर फाल्ने निश्चित स्थान नहुनुले पनि यहाँ प्रदुषण कम भएको छैन । जसका कारण बिर्तामोड दिन प्रतिदिन दुर्गन्धित बन्दै गइरहेको छ । अझ अन्धुवा खोलालाई ‘डम्पिङ साइड’ बनाएका कारण पनि फोहोर खान काग यहीं झुम्मिने गरेको ढकालको भनाइ छ ।

बिर्तामोडको फोहोर चराले त थाहा पाउँछ, यहाँका जनप्रतिनिधिले किन थाह नपाएका होलान् ? ढकालले प्रतिप्रश्न गर्दै भने– हिजो चुनावताका बिर्तामोडको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासहित चुनाव जितेका जनप्रतिनिधि आज फोहोरको विषयमा आशा गरे अनुसार गम्भीर छैनन् । यहाँको फोहोर व्यवस्थापन नहुँदा संक्रामक रोगको जोखिम बढेको स्थानीयको भनाइ छ । सडकका किनारमा यत्रतत्र फालिने फोहोरका कारण सरुवा रोगको जोखिम बढ्ने चिकित्सकहरुको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here