पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे २ स्थित नगर अस्पतालमा अब आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सेवा उपलब्ध हुने भएको छ ।
सविधानसभा सदस्य चण्डीप्रसाद राईले आज आकस्मिक र अन्तरंग सेवाको उद्घाटन गर्दै नगरवासीका लागि स्वास्थ्यको पहुँच पुर्याउन नगरपालिकाले महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । उहाँले प्रत्येक वडामा समेत स्वास्थ्य केन्द्र सञ्चालन गरेर प्रभावकारी काम गरेको बताउँदै नगर अस्पताल क्षेत्र आपपासको सडक निर्माणमा नगरले ध्यान दिनुपर्ने समेत सुझाव दिनुभयो ।
नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख दिलीपकुमार राईले स्वास्थ्यको क्षेत्रमा नगरले ध्यान दिइरहेको जनाउँदै संघीय सरकारको बजेटको नयाँ भवन बनि सक्दा ५० शैयाको अस्पताल सञ्चालन व्यवस्थापनको तयारीमा रहेको बताउनु भयो । उहाँले नगरले २८ करोडको लागतमा पथरी बजारमा नगरको व्यवसायिक भवन बन्ने कामको ठेक्का प्रक्रिया अघि बढेको, विपद व्यवस्थापन, गण स्थापनाको पहल भएको लगायतका थप गतिविधिहयरूका बारेमा जानकारी गराउनुभयो ।

उपप्रमुख एवम् समिति उपाध्यक्ष यमुना विष्ट वास्तोला, नगर प्रवक्ता एवम् समिति सदस्य यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले स्थानीय जग्गादाताको सहयोगमा १ विगाहा बढी जग्गा दान भएपछि अस्पताल सञ्चालनमा सहयोग मिलेको बताउनु भयो । नगरवासीलाई स्वास्थ्यको पहुँच पुर्याउन नगरले सक्रियता अपनाएको जनाउँदै जग्गादाताहरुप्रति सम्मान व्यक्त गर्नुभयो ।
१५ शैयाको अस्पताल सञ्चालनको सरकारी स्वीकृति प्राप्त भएपछि भौतिक व्यवस्थापनमा जुटेर नगरले चौविसै घण्टा सेवा प्रदान गर्न सुरु गरेको हो । स्थानीय तहको निर्वाचन अगावै स्थानीय जग्गादाताले जग्गा प्रदान गरेपछि केन्द्र सरकारको बजेटमा स्वास्थ्य चौकी भवन बनेको थियो । १ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवन निर्माण भएको थियो ।
त्यो बेला स्थानीयको ठूलो उत्साहमा ११ जनाले ४ करोड बढी मुल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गरेका थिए । बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले ३–३ कठ्ठा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहालले १÷१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०÷१० धुर जग्गा दान गरेका थिए ।
त्यहाँ, अन्यले पुनः जग्गा थप गरेकाले सोही स्थानमा शरणार्थी सम्बन्धी राष्ट्संघीय उच्चायोगको सहयोगमा ८० लाखमा एउटा भवन निर्माण भएको थियो । हाल संघीय सरकारले १८ करोड रुपैयाँ अस्पताल भवनका लागि वजेट विनियोजन भएपछि भवन निर्माणको काम धमाधम अघि बढीरहेको छ । २ नम्बर वडामा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी, ९ मा शनिश्चरे स्वास्थ्य चौकी र बाँकी ७ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छन् ।
प्रत्येक वडामा ३ जनाका दरले ३० जना स्वास्थ्य स्वयमंसेविका कार्यरत रहनु भएको छ । नगरको ३ वटा एम्बुलेन्स र एउटा शव वाहन सेवा सञ्चालनमा छ । ७० वर्षमाथिका ज्येष्ठ नागररिकलाई प्रदेशभित्र उपचार गर्न जानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ । हाल अस्पतालमा फरिन्दा गुरुङ, कमलकान्त चौधरी र भेषराज पोखरेल गरी ३ जना एमबीबीएस डाक्टर रहनु भएको छ । संघीय सरकारसँग एमडीको समेत माग गरिएको छ ।






























