—निकुञ्ज शर्मा
सञ्चालक–सिम्रिक डान्स एकाडेमी, बिर्तामोड
वि.स. २०३८ साल पुस २९ गते गरामनीमा जन्मनुभएका निकुञ्ज शर्मा पेशाले शिक्षक हुनुहुन्छ । श्री कनकाई उच्च मा.वि.सुरुङ्गा तथा श्री दुर्गा उच्च मा.वि., गरामनीमा कार्यरत शर्माले मानवशास्त्रमा स्नातकोत्तर तथा अंग्रेजीमा बी. एड्.सम्मको अध्ययन पुरा गर्नुभएको छ । उहाँ विगत १२ वर्षदेखि नृत्य क्षेत्रलाई पनि आंशिक पेसाको रुपमा अघि बढाउँदै आउनुभएको छ र हाल सिम्रिक डान्स एकाडेमी, बिर्तामोडका प्रोपाइटर हुनुहुन्छ । उहाँसँग नृत्य क्षेत्रसँग सम्बन्धित रहेर गरिएको कुराकानी प्रस्तुत छ ः
कति वर्ष भयो नृत्य क्षेत्रमा लाग्नु भएको ?
हुनत २०५६ सालदेखि नै तालिम लिएर यस क्षेत्रमा प्रवेश गरेको हुँ तर पेशागत ढङ्गले चाहिँ २०५८÷५९ सालबाट लागिएको हो ।
के तपाईँ सानै उमेरदेखि नै नृत्य गर्नुहुन्थ्यो वा यसमा सोख राख्नुहुन्थ्यो ?
हो, म करिब कक्षा ५ मा पढ्दादेखि नै नृत्य गरेको थाहा छ र कक्षा ७ देखि स्काउटका नव वर्ष क्याम्पहरुमा प्रतियोगीको रुपमा नृत्य गर्दथें । मलाई नृत्यमा अत्यन्तै धेरै सोख थियो र अब त छुटाउनै नसकिने लत झै बनेको छ नृत्य मेरा लागि ।
तपाईँको सिम्रिक डान्स एकाडेमीमा कुन कुन नृत्यका विधाहरु सिकाइन्छ ?
सिम्रिकमा शास्त्रीयतर्फ कथ्थक नृत्य म आपैंm सिकाउँछु । लोक सांस्कृतिकतर्फ विभिन्न जातजातिका नृत्यहरु, राष्ट्रिय गीतमा नृत्यहरु, फिल्मी गीतमा नृत्यहरु, त्यसै गरी पश्चिमी विधाका साल्सा, हिप–हप, ज्याज, ब्याले, कन्टेम्पोरेरी, बि–बोइङजस्ता नृत्यहरु म लगायत कमल राईजीले सिकाउँदैहुनुहुन्छ ।
नृत्य गर्नको निम्ति व्यक्तिमा कस्ता किसिमका गुणहरु चाहिन्छन् ?
सबैभन्दा ठूलो कुरो त नृत्यप्रति लगाव र इच्छाशक्ति बलियो हुनुपर्दछ, त्यसपश्चात विभिन्न किसिमका गुणहरुको आवश्यकता पर्दछ । जस्तै ः लचिलोपन, फुिर्त, स्वस्थ शरीर, तेजिलो दिमाग, लगनशीलता, अभिनयकला, तालको ज्ञान, अनुशासन र इमान्दारिता जस्ता गुणहरु भएको व्यक्ति राम्ररी नाच्न सक्दछ ।
तपाईँले कुन नृत्य केन्द्रमा तालिम लिनुभएको हो ?
मैले पुर्वाञ्चल डान्स सेन्टरबाट नृत्यको तालिम प्रारम्भ गरें । सुरुङ्गाका नेत्र उप्रेती सरले हामीलाई नृत्य सिकाउनुहुन्थ्यो । पछि फेरि त्यो डान्स सेन्टर सनलाइटमै मिल्न आयो । त्यसपश्चात काठमाण्डौंको चाबहिलमा अवस्थित सिने स्टार कला केन्द्रमा पनि तालिम लिएँ । त्यस्तै कृष्ण योञ्जन सरले पछि सनलाइटमा नै नृत्य प्रशिक्षकको रुपमा मलाई राख्नुभयो ।
नृत्यका विधाहरु के के छन् ?
धेरै किसिमका नृत्यहरु हुन्छन् । सामान्यतया लोक, आधुनिक र शास्त्रीय गरी ३ भागमा बाँड्न सकिन्छ । लोक नृत्य अन्तरगत हाम्रो देशको सन्दर्भमा धान नाच, चण्डी नाच, कौरा, मारुनी, हुर्रा, च्याब्रुङ, ख्याली, सोरठी, देउडा आदि पर्दछन् भने आधुनिक अन्तरगत विशेष गरी पश्चिमी देशहरुबाट भित्रिएका साल्सा, हिप–हप, कन्टेम्पोरेरी, ज्याज, ब्याले, बेल्ली, बि–बोइङ, ब्रेक आदि पर्दछन् । त्यसैगरी शास्त्रीय अन्तरगत भारतबाट प्रसार भएका कथ्थक, भरतनाट्यम्, कुचिपुडी, मणिपुरी, कथकली छन् भने नेपालको विशेषतः काठमाण्डौंमा प्रचलित मञ्जुश्री, चर्या, भैरव, नमोबुद्घ, मयुर, लाखे आदि शास्त्रीय नृत्यहरु हुन् ।
अहिले झापामा नृत्यको विकासवारे केही बताउनुहोस् न ?
हुनत म भन्दा धेरै बर्षदेखि नृत्यमा लागिपर्नुभएका व्यक्तिहरु पनि थुप्रो हुनुहुन्छ तर मैले गएको १५ बर्षमा अनुभव गर्दा यस क्षेत्रमा निक्कै राम्रो विकास भएको पाउँछु । बिर्तामोडमा हामीहरुले तालिम लिँदाको बखतमा एउटा मात्र संगीतालय रहेकोमा हाल ७ ÷ ८ वटा नृत्य वा संगीत सेन्टरहरु छन् । त्यस्तै जिल्लाका अन्य ठाउँहरुमा समेत धेरैवटा यस्ता सेन्टरहरु खुलिसकेका छन् । नेपालमै झापाको नाम रोशन गर्ने अनुजा अग्रवाल, साजन तामाङ जस्ता हस्तीहरु जन्मिसकेका छन् । लगभग प्रत्येक संस्थागत विद्यालयहरुमा अनिवार्य रुपमा नृत्यका कक्षाहरु सञ्चालन भइरहेका छन् जसले गर्दा यस क्षेत्रको धेरै जनशक्तिलाई रोजगारीको अवसर प्राप्त भएको छ । त्यस्तै झापा जिल्लाका सबै नृत्य पारखीहरुलाई समेट्न ‘झापा जिल्ला नृत्य कलाकार संघ’ को स्थापना भई २०७१ साल साउन २१ बाट जिल्लामा विधिवत दर्ता समेत भइसकेको अवस्था छ ।
नेपालमा यस क्षेत्रमा तपाईँले देख्नुभएको समस्याहरु चाहिँ के–के छन् ?
धेरै समस्याहरु देखेको छु । नेपालमा नृत्यकारहरुलाई राम्रो दृष्टिकोणले हेरिदैन । नाच्ने भनेपछि परिवार, समाजबाट हेयको भावना राखिन्छ । साह्रै कम मात्रामा कार्यक्रमहरु हुन्छन् जसले गर्दा जानेको सीप र प्रतिभा देखाउने ठाउँ नै कम हुन्छ । आयोजकहरुले भरसक सित्तैमा वा कम पैसामा नाच्न लगाउने गरेको पाइन्छ । यसै क्षेत्रमा मात्र सिमित भई कार्य गर्दा थोरै पारिश्रमिक हुने भएकाले धेरै जना विदेश पलायन भएका छन् ।
त्यसोभए यस क्षेत्रलाई सबल बनाउन के कस्ता कार्यहरु गर्न सकिन्छ ?
सर्वप्रथम त समाजले नृत्यलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु जरुरी छ । त्यसपश्चात सम्बन्धित विधाका बिशेषज्ञ प्रशिक्षकहरु उपलब्ध हुनु पर्दछ । विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय स्तरका हरेक पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा नृत्यलाई राख्नुपर्दछ । मानविकी संकायमा काठमाण्डौंका केही क्याम्पसहरुले त यसलाई राखेका छन् तर मोफसलका विद्यालय तथा क्याम्पसहरुमा नृत्यलाई एक ऐच्छिक विषयको रुपमा राखिएको पाइँदैन । विभिन्न आयोजकहरुले नृत्यका रियालिटी शोहरु धेरैवटा टेलिभिजन मार्फत सञ्चालन गरी प्रसारण गर्नुपर्दछ । राष्ट्रिय नाचघर तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नृत्यका पारखीहरुलाई देशैभरबाट खोजी गरी देश र विदेशमा अध्ययन तथा तालिम प्राप्त गर्नको लागि छात्रवृत्ति प्रदान गर्नुपर्दछ । नृत्यमा चाख देखाएर लागिपर्ने छोराछोरीलाई बुबाआमाले प्रोत्साहित गर्न आवश्यक छ ।
अन्त्यमा नृत्यमा धेरै रुचि लिने अहिलेका युवापुस्तालाई के सुझाव दिनुहुन्छ ?
लगन, अनुशासन, इमान्दारिता र धैर्यतालाई आत्मसात गर्दै डर, लाज र पछौटेपनलाई त्यागेर सँधै तत्पर भई रुचिका साथ ध्यान दिएर नृत्यको अभ्यासमा लागेर आपूmले सिकेको प्रतिभालाई उजागर गर्नुहोस् भन्न चाहन्छु ।
प्रस्तुति ः तीर्थराज खरेल