बिर्तामोड ।

पेट्रोलियम व्यवसायी र नेपाल आयल निगम बीच सात दिन भित्र ब्यवसायीका माग सम्बोधन गर्ने सहमति भएसंगै पेट्रोलियम पदार्थ वितरण सहज हुने भएको छ ।
आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । शनिबार नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिसँगै जारी विज्ञप्तिमा पेश गरिएका मागहरू मध्ये बुँदा नं ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने भनिएको छ ।

यसअघि, विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । तर, यस विषयमा निगमका प्रवक्ता उपाध्यायसँग शनिबार साँझ अबेरसम्म व्यवसायीहरु छलफलमा जुटेपछि सहमतिको निकास निस्केको छ ।
यसैबीच मेची पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष नवीन कोइरालाले आइतबारबाट सबै पेट्रोल पम्पहरु खुल्ला रहने जानकारी दिए । उनले पम्पहरु खुल्ला रहेपनि पेट्रोलियम पदार्थ लिन ट्याङ्करहरु नगएकाले सोमबारबाट मात्रै पोट्रोलियम पदार्थ वितरण सहज हुने बताए । उनले अनावशयक पेट्रोलियम पदार्थ भण्डारण नगर्न सबैलाई आग्रह समेत गरेका छन् ।































