बिर्तामोड।

स्थानीय तहको आसन्न निर्वाचनका लागि उम्मेदवारको ‘टिकट’ सुनिश्चित गर्न पार्टीका आकांक्षीहरुका दौडधुप बढेको छ ।
अहिलेका जनप्रतिनिधि नै पद दोहो¥याउने र माथिल्लो पदमा जाने दौडको अग्रपंक्तिमा देखिएका छन् । दलहरुले निर्वाचन केन्द्रित कार्यक्रम तीब्र बनाएका छन् । अनि जनप्रतिनिधिहरुचाहिँ पुनः ‘टिकट’ हत्याउन स्थानीय सरकारको सवारी साधन र अन्य स्रोतको चरम दुरुपयोग गरिरहेका छन् ।
सरकारी गाडी कार्यालयको काम वाहेक अन्यत्र प्रयोग गर्न पाइँदैन तर अधिकांश जनप्रतिनिधि आफ्नो निजी सम्पत्ति झै गरी दुरुपयोग गरिरहेका छन् । पालिकाका प्रमुख–अध्यक्ष, पुनः पद दोहो¥याउन दौडमा छन् भने उपप्रमुख–उपाध्यक्ष माथिल्लो पदको बार्गेनिङमा छन् । अहिले पालिकाका मुख्य जिम्मेवारीमा रहेका जनप्रतिनिधि (प्रमुख–उपप्रमुख, अध्यक्ष– उपाध्यक्ष तथा वडाध्यक्ष)हरु सरकारी गाडी र अन्य स्रोतसाधनको दुरुपयोग गरेर पार्टीको काममा व्यस्त छन् । अझ कतिपयले निर्वाचनलाई प्रभावित पार्ने गरी आफ्ना नजिककालाई भटाभट बजेट समेत दिँदैछन् । पद र शक्तिमा भएका बेला पार्टी नेतृत्वलाई प्रभाव पार्न वहालवाला जनप्रतिनिधि सक्रिय देखिएका छन् । कतिपय पालिकामा पुनः उम्मेदवारका आकांक्षी जनप्रतिनिधिले सुविधा फिर्ता गर्न थालेका छन् ।
तर, झापामा अधिकांशले सुविधाको दुरुपयोग गरिरहेका छन् । कतिपयले सरकारी काम भने पनि पार्टी र भोट फकाउने कार्यमा व्यस्त छन् । झापाका पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई पूर्वाञ्चलकर्मीले प्रश्न गरेका छन्– अबको निर्वाचनमा कुनै पदमा तपाईको दावी छ ? अनि हाल प्रयोग गरिरहेको गाडी लगायतका सुविधा कहिले फिर्ता गर्नुहुन्छ ?
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा अधिकांश जनप्रतिनिधि (प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष) ले पद दोहो¥याउने बताएका छन् । उपाध्यक्षहरुले भने अध्यक्ष पदका लागि उम्मेदवारी रहने जनाएका छन् । मेचीनगर, कमल र झापा गाउँपालिकाका प्रमुखले भने प्रमुख पद छाड्ने घोषणा गरेका छन् । मेचीनगर प्रमुख विमल आचार्यले मेयर पदमा चुनाव नलड्ने बताएका छन् भने झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले पनि यसपटक अध्यक्ष पदमा नउठ्ने बताए । कमल गाउँपालिका प्रमुख मेनुका काफ्लेले अध्यक्ष पद नदोहो¥याउने बताएकी छिन् ।
मेचीनगर प्रमुख आचार्यले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी आचारसंहिता शुरु भएसँगै नगरपालिकालाई बुझाउने बताएका छन् । सस्तो लोकप्रियताका लागि तत्कालै आफू चढ्दै आएको गाडी नछाड्ने र जनताको काम गर्नका लागि आचारसंहिता नलागुञ्जेलसम्म आफूले प्रयोग गर्ने बताए । यता मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मिना उप्रेतीले नगर प्रमुखमा आफ्नो उम्मेदवारी रहने बताएकी छिन् । पार्टीले आफूलाई टिकट दिनेमा विश्वस्त रहेको बताउँदै उनले सोही अनुसार आफू मतदातासँग निरन्तर सम्पर्कमा रहेको बताइन् । उनले प्रयोग गर्दै आएको सवारी आचारसंहिता लागेसँगै फिर्ता गर्ने बताएकी छिन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले अध्यक्ष पद दोहो¥याउने बताएका छन् । आफूले गर्दै आएका अधुरा योजना सम्पन्न गर्ने मेरो रहर छ । एकपटक अध्यक्ष पद दोहो¥याउने सोचमा छु । पार्टीले मलाइ नै टिकट दिन्छ भन्नेमा विश्वस्त छु– अध्यक्ष भुजेलले भने ।
बुद्धशान्ति गाउँपालिकाको नाममा रहेको सवारी टिकट पाउने बित्तिकै फिर्ता गर्ने उनले बताएका छन् । ढर्रा पार्ने गरी तत्कालै गाडी फिर्ता गर्ने मेरो सोच छैन । आचारसंहिता शुरु भएसँगै पालिकाको गाडी पालिका नै हस्तान्तरण गर्छु– भुजेलले भने । यता उपाध्यक्ष मिरा भूर्तेलले पनि उपाध्यक्ष पद दोहो¥याउने बताएकी छिन् । उनले पार्टीले टिकट नदिए चित्त बुझाउने समेत धारणा राखिन् । गाडीको विषयमा बोल्दै उनले भनिन्– आचारसंहिता शुरु भएपछि नगरको गाडी बुझाउँछु । त्योभन्दा अघि अधुरा रहेका कामको अनुगमन गर्न गाडीको प्रयोग गर्छु ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले पार्टीको निर्णय अनुसार नै आफू अघि बढ्ने बताएका छन् । पार्टीले मलाई नगर प्रमुखको पुनः जिम्मेवारी दिए सम्हाल्न तयार रहेको भन्दै उनले जनताको इच्छा अनुसार नै आफू अघि बढ्ने बताए । अहिले थोत्रो गाडी चढिरहेको छु । नाटक र ढोंग जान्दिनँ, समय आएपछि सवारी फिर्ता गर्नेछु– नगर प्रमुख शिवाकोटीले भने । यता उपप्रमुख पवित्रा महतारा प्रसाईंले आफू प्रमुखमा प्रतिस्पर्धा गर्ने बताएकी छिन् । पार्टीले लगभग टिकट दिने निश्चित छ । यसपटक नगर प्रमुखको जिम्मेवारी सम्हाल्छु– उपप्रमुख प्रसाईले भनिन् । सवारीका विषयमा बोल्दै उपप्रमुख प्रसाईले भनिन्– आज बुधवार नगरपालिकालाई गाडीको चावी हस्तान्तरण गर्छु ।
त्यस्तै हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले अध्यक्ष पद दोहो¥याउने बताएका छन् । उनले जनताको इच्छा रहेकाले आफूले अध्यक्ष पद दोहो¥याउन लागेको बताए । आफूले प्रयोग गर्दै आएको गाडी यसअघि नै फिर्ता गरेको बताएका अध्यक्ष लिङ्देनले चुनावी प्रचारप्रसारमा जनप्रतिनिधिले सवारी प्रयोग नगर्ने हो भने मात्रै राज्यको इन्धन वापतको लाखौं रुपैयाँ बचत हुने बताएका छन् । यसैबीच उपाध्यक्ष डम्बर गिरीले यसपटक आफू अध्यक्ष पदमा लड्ने बताएका छन् । पार्टीले आफूलाई नै टिकट दिने बताउँदै उनले यसपटक हल्दिवारीको नेतृत्व आफूले लिने धारणा राखे । ५ बर्षे कार्यअवधिमा आफूले गाउँपालिकाको सवारी सुविधा नलिएको र आफ्नो निजी मोटरसाइकल चढेर जनताको काम गरेको उनले बताए ।
भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले पार्टीले जिम्मेवारी दिए नगर प्रमुख पद दोहो¥याउने बताएका छन् । उनले आफूले गरेका अधुरा योजना पूरा गर्ने इच्छा रहेको र चरित्रमा हालसम्म ह्रास नआएको, नैतिकतामा भ्रष्ट नदेखिएको कारण पनि आफू नै नगरप्रमुखको दाबेदार रहेको दावी गरे । उनले सवारीका विषयमा बोल्दै उम्मेवारी नदिउञ्जेलसम्म आफूले गाडीको प्रयोग गर्ने बताए । पार्टीको प्रचारप्रसार गर्न गाडी प्रयोग नगर्ने बताउँदै उनले आचारसंहिता शुरु भएसँगै गाडी बुझाउने बताए । यता उपप्रमुख चन्द्रमाया श्रेष्ठले आफू मेयर पदमा जाने बताएकी छिन् । उनले बेला आएपछि आफूले प्रयोग गर्दै आएको सवारी नगरपालिकालाई फिर्ता गर्ने बताइन् ।
कचनकवल गाउँपालिका प्रमुख अञ्जरा आलमले पार्टीको निर्णय बमोजिम नै आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । पार्टीले यसपटक पनि आफूलाई नै अध्यक्षको नेतृत्व सम्हाल्न भनेसँगै अध्यक्ष पद दोहो¥याउन आफू तयार रहेको आलमको भनाइ छ । उनले प्रयोग गर्दै आएको गाडी समेत मंगलवार गाउँपालिकालाई फिर्ता गरेको र चुनावी प्रचारप्रसारमा आफ्नै सवारी प्रयोग गर्ने जनाएका छन् । यता उपप्रमुख निमसरी राजवंशीले आफू त्यही पद दोहो¥याउने बताएकी छिन् । उनले आफूले एक थान स्कुटर प्रयोग गरेको र उक्त स्कुटरको दुरुपयोग नहुने बताउँदै आफूले न्यायिक समितिको कार्यसम्पादन गरुञ्जेल प्रयोग गरिरहने बताइन् ।
बाह्रदशी गाउँपालिकाका प्रमुख खड्गप्रसाद राजवंशीले पार्टीको निर्णय अनुसार नै आफू अघि बढ्ने धारणा राखेका छन् । आफू पार्टीको वफादार सिपाही रहेको र पार्टीले जे भन्छ, त्यही मान्न तयार रहेको उनले बताए । उनले भने– पार्टीलाई अघि बढाउन अध्यक्ष पदका लागि उम्मेदवार भएर दोहो¥याउन भनेको खण्डमा आफू तयार छु । आफूले प्रयोग गरेको गाडीको विषयमा बोल्दै उनले सस्तो लोकप्रियता भन्दा पार्टीको नीति र सरकारले जारी गरेको आचारसंहिता अनुसार नै आफू अघि बढ्ने बताएका छन् । समय आएपछि गाउँपालिकाको गाडी फिर्ता हुन्छ– अध्यक्ष राजवंशीले भने । यता उपाध्यक्ष रत्नाकुमारी राजवंशीले आफूृले अध्यक्षका लागि तयारी थालेको बताएकी छिन् । उनले आफूलाई नै पार्टीले टिकट दिने भन्दै अध्यक्ष पदमा लड्ने बताइन् । आफूले प्रयोग गरेको सवारीको विषयमा भने आचारसंहिता शुरु भएसँगै सवारी हस्तान्तरण गर्ने बताइन् ।
त्यस्तै झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले अध्यक्ष पद नदोहो¥याउने बताएका छन् । उनले अध्यक्ष पद छाड्दै आफू प्रदेशका लागि योजना बनाएको धारणा राखे । सवारीको विषयमा भने समय आएपछि फिर्ता हुन्छ– अध्यक्ष साहले भने । यता उपाध्यक्ष कुन्तादेवी बुढाथोकीले पद नदोहो¥याउने बताएकी छिन् । उनले अरुलाई पनि अवसर दिने र आफ्नो स्वास्थ्यले समेत साथ नदिएकाले उपाध्यक्ष पदमा आफूले आशा नगरेको बताइन् । आफूले प्रयोग गर्दै गरेको गाडी यसअघि नै गाउँपालिकालाई बुझाइसकेको उनले बताइन् ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने बताएका छन् । उनले जनभावना अनुसार आफूलाई नगर प्रमुख पद दोहो¥याउन आग्रह भइरहेको र पार्टीले आफूलाई नै टिकट दिए प्रमुख पद दोहो¥याउन तयार रहेको बताए । सवारीको विषयमा बोल्दै आफूले नगरबाट सवारी सेवा नलिएको जनाएका छन् । यता उपप्रमुख मञ्जु दाहाल प्रसाईंले भने दोहो¥याउने बताएकी छन् । उनले पार्टीले टिकट नदिएको खण्डमा अरुलाई सघाउने धारणा राखिन् । आफूले प्रयोग गरेको स्कुटर यसअघि नै फिर्ता गरेको र नगरको ल्यापटप समेत नगरलाई नै हस्तान्तरण गरेको उनको भनाइ छ ।
शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्माले नगर प्रमुख पद दोहो¥याउने बताएका छन् । उनले आफ्नो उम्मेदवार पक्का भएसँगै आफूले प्रयोग गर्दै आएको सवारी फिर्ता गर्ने बताए । यता उपप्रमुख भोजकुमारी नेपालले प्रमुख पदमा नजाने भन्दै उपाध्यक्ष पद नै दोहो¥याउने बताएकी छिन् । आफूले प्रयोग गरेको सवारी फिर्ताको चरणमा रहेको उनले बताइन् ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले अध्यक्ष पद नदोहो¥याउने बताएकी छिन् । उनले आफूले प्रयोग गर्ने सवारी समय आएसँगै फिर्ता गर्ने बताइन् भने उपाध्यक्ष वेनुप्रसाद शिवाकोटीले पार्टीको निर्णय अनुसार नै अघि बढ्ने बताए । सवारीको विषयमा उनले निजी मोटरसाइकल प्रयोग गरेको जानकारी दिए ।
गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठले अध्यक्ष पद दोहो¥याउने बताएका छन् । उनले प्रयोग गर्ने गाडीका विषयमा बोल्दै देखावटी नभई समय आएपछि आफंै गाडी फिर्ता गर्ने बताए । उनले भने गाडी व्यक्तिगत काममा प्रयोग हुँदैन विहीवारसम्ममा गाडी फिर्ता गर्छु । यता उपाध्यक्ष दिपिन्द्र थापाले आफूमाथि जाने सोचमा रहेको बताएका छन् । पार्टीको निर्णय मान्नुपर्ने बाध्यकारी नीति भएकाले पार्टीको निर्णयलाई नै आधिकारिकता मान्ने बताए । उनले सेवासुविधा भने नलिएको बताएका छन् ।
गौरादह नगरपालिका प्रमुख रोहितकुमार साहले पार्टीको निर्णय र जनताको इच्छा भए आफूले प्रमुख पद दोहो¥याउने बताएका छन् । अहिलेसम्म नागरिकले आफूलाई अघि बढाएकाले पार्टीले टिकट दिए नगर प्रमुख पदमा लड्ने बताए । यता सवारीका विषयमा बोल्दै उनले समय आएपछि गाडी फिर्ता गर्ने जनाएका छन् । उपप्रमुख गीता भेटवालले उपमेयर पद नै दोहो¥याउने जनाएकी छिन् । उनले भनिन्– यसअघि पनि सर्वाधिक मत प्राप्त गर्दै उपमेयर पदमा निर्वाचित भएकी हुँ । आफूले प्रयोग गरेको गाडी संघबाट प्राप्त भएको र नगरपालिकाको नाममा पास गरिसकेकाले आचारसंहिता शुरु भएसँगै गाडी फिर्ता गर्ने उनले बताइन् ।
उता दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने बताएका छन् । उनले भनेका छन्– पार्टीले टिकट दिए मेयर पद दोहो¥याउँछु । सवारीको विषयमा बोल्दै उनले भने– आफू मेयर पदमा रहुञ्जेल सवारी प्रयोग गर्ने र छोडेको दिन मात्रै सवारी फिर्ता गर्नेछु । यता उपप्रमुख गीता अधिकारीले आफू नगर प्रमुख पदमा लड्ने बताएकी छिन् । उनले भनेकी छिन्– मेरो प्रमुख पदमा दावी हो । पार्टीको निर्णय पर्खिएकी छु । मेरै पक्षमा पार्टीले निर्णय गर्नेमा समेत विश्वस्त छु । सवारीको विषयमा बोल्दै उनले भनिन्– आचारसंहिता शुरु भएसँगै सवारी फिर्ता गर्नेछु ।
यता अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले नगर प्रमुख पद दोहो¥याउने बताएका छन् । उनले भनेका छन्– जनअपेक्षा अनुसार नै नगरप्रमुख पद दोहो¥याउने निधो गरेको हुँ । सवारीको विषयमा उनले आचारसंहिता नलागुञ्जेलसम्म प्रयोग गर्ने बताए । यता उपप्रमुख कमला खतिवडाले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताइन् । उनले भनिन्– एकपटक उपप्रमुखको अनुभव बटुलियो, अब प्रमुख पदमा मेरो दावी रहन्छ । सवारीका विषयमा भने अनुगमनको काम गर्न सवारी प्रयोग गर्नुपर्ने भएकाले आचारसंहिताले दिउञ्जेल सवारी प्रयोग गर्ने धारणा राखिन् ।






























