झापा ।

चट्याङ, हावाहुरीसँगै परेको असिनापानीले झापामा करिब १२ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ, भने हावाहुरीले जिल्लाको अधिकांश पालिकाहरूमा ठुलै क्षति पुर्याएको छ ।
हावाहुरीले घरको छानो उडाउनुका साथै पशुपक्षी, अन्नबालीमा ठुलै क्षति पुर्याएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
हावाहुरीले कचनकवल गाउँपालिका- ३ स्थित प्रहरी चौकी पथिरयामा पनि क्षति पुर्याएको छ । असिनापानीले प्रहरी चौकी भवनको टिनको छानो प्वाल पार्दा करिब १ लाख बढीको क्षति भएको छ ।
त्यस्तै कचनकवल- ४ बस्ने रहिस् मियाँको घरको टिन उडाउँदा ६० हजारको क्षति भएको छ । सोही ठाउँका बालिस्टर मियाँको घरको टिन उडाउँदा ५० हजार, शेर मोहम्मदको टिन उडाउँदा १० हजार क्षति भएको छ । सोही ठाउँका सबुर मियाँ, जातिर मियाँ र मन्जुर मियाँको घरको टिन असिनाले प्वाल बनाइदिएको छ । सबुरको ३० हजार, जातिरको ५० हजार र मन्जुरको २० हजार क्षति भएको र तीनै जनाको घर पुनः निर्माण गर्नुपर्ने अवस्था छ ।
त्यस्तै हावाहुरीले झापा गाउँपालिका- १ आफजान हुसेनको घरमा ५० हजार, मोतिमुर अलिको घरमा ४० हजार, खलिल अलिको घरमा २० हजार र नोसाद अलिको घरमा ४० हजारको क्षति पुर्याएको छ । उनीहरू सबैको खरको छानो हावाले उडाएको छ ।
दमक नगरपालिका– ४ हिमादेवी खनालको जमिनमा घर बनाई बस्ने तेजप्रसाद धितालको घरमा क्षति भएको छ ।
हावाहुरीले उनको घरको टिन र बेरा हावाले उडाउँदा ५० हजारको क्षति भएको छ ।
सोही ठाउँका इन्द्रप्रसाद खनालको घरको टिन र बेरा हावाले उडाउँदा ५० हजारको क्षति भएको छ । कदमको रुख लडेर दमक– ३ बस्ने दिलमाया धिमालको घरमा भत्काएको छ । धिमालको ५० हजारको क्षति भएको छ ।
सोही ठाउँका कमल बस्नेत, भङ बहादुर धिमाल र बखतबहादुर धिमालको घरको टिनको छानो र बाँसको टाटी हावाले उठाएको छ । बस्नेतको घरमा छानो उडाउँदा ७ सय थान बोइलर कुखुराको चल्ला मरेको छ । उनको करिब ४ लाख बढीको क्षति भएको छ । भङबहादुरको एउटा बाख्रा मरेको छ । उनको ८८ हजार र बखतबहादुरको ३० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हावाहुरी र असिनापानीले दक्षिणी भेगमा अन्नबालीमा समेत ठुलै क्षति पुर्याएको छ । अन्नबालीमा क्षति पुराउँदा कृषकको लाखौँ क्षति पुगेको छ । उता चट्याङ लागेर गौरादह नगरपालिका–५ निवासी ४० वर्षीया मनमाया थापाको मृत्यु भएको थियो ।






























