लक्ष्मीपुर । 
अर्जुनधारा–५ , लक्ष्मीपुरस्थित बागेडाँगी बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष संस्थाले आयोजना गर्ने नियमित कार्यक्रम अनुसार नै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक यशोदा कार्कीले बताइन् । लक्ष्मीपुरस्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।
सो रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोग रहेको थियो । २०५४ सालमा स्थापना भएको संस्थाले झापा जिल्लाभर सेवा विस्तार गरिसकेको छ ।
हालै सम्पन्न संस्थाको अधिवेशनबाट छविलाल लम्सालको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको टीमले शेयर सदस्य संख्या विस्तार गर्ने, कृषकलाई रासायनिक मल तथा बीऊ उपलव्ध गराई कृषिलाई आत्मनिर्भर बनाउने, आयमूलक तालिम, गोष्ठीको आयोजना गरी आफ्ना शेयर सदस्यलाई रोजगारमूलक व्यवसाय प्रति आकर्षण बढाउने लगायतका नीति लिइएको संस्थाका अध्यक्ष लम्सालले जानकारी दिए ।






























