फाल्गुनन्द सडकको कामले गति लिँदै

0
544

यज्ञराज आङदेम्बे/दमक,

दमकबाट पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका ग्रामीण बस्तीलाई जोड्ने छोटो दूरीको दमक–चिसोपानी (रवि) फाल्गुनन्द सडकको कामले गति लिएको छ ।

दमकबाट सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रविबजार जोड्ने ४७ किलोमिटर लामो उक्त सडकको केही भागमा अहिले धमाधम स्तरोन्नतिको काम हुँदै आएपछि अब सडकको कामले गति पाउने भएको हो ।

वर्षौँदेखि सडकको समस्या झेल्दै आएका स्थानीयवासीले सडक स्तरोन्तिको कार्य पूरा भएपछि अब भने आवागमनमा सहज हुने इलाम बाँझोका विशाल राईले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौँदेखिको समस्या अब समाधान हुने भएको छ, इलाम र पाँचथर जिल्लाका बासिन्दाले पाउँदै आएको सास्ती अब हटेर जानेमा विश्वस्त छौँ ।”

सडक बनेपछि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दसँगै इलामको माङ्सेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकाबासीले प्रत्यक्ष लाभ लिन थालेका छन् । सडक पूरा हुनासाथ यस क्षेत्रका बासिन्दा बिरामी पर्दा झापा लैजान र वर्षायाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने इलाम फाकफोकथुम–३ का गणेश रेग्मी बताउनुहुन्छ ।

सडक निर्माणले हालसम्म ट्रयाक खोल्ने र पूल नभएका स्थानमा पुल, नाली र ग्रेडिङको काम अन्तिम चरणमा भइहेको उपभोक्ता समितिका अध्यक्ष रेवतराज (गगन ) पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब खोलाको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भइसकेको छ, थप निर्माणकार्यलाई गुणस्तर बनाउँदै अघि बढ्नेछौँ । निमाण सम्झौता अवधि अगावै सम्पन्न गर्ने र आगामी फागुनसम्ममा दमकबाट चिसोपानीसम्म नै कालोपत्र गरिसक्ने गरी काममा लागेका छौँ, अहिले कालोपत्रको पूर्वतयारीको काम धमाधम भइरहेको छ ।”

उहाँका अनुसार रु दुई अर्ब बढीको योजना रहेको सो सडकको पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्र गर्ने भनिए पनि दुई किलोमिटरमात्रै सम्पन्न भएको छ । रु २२ करोड ५९ लाखको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५ दशमलव २६ किलोमिटर सडक रु ५४ करोड ४४ लाखमा र तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर रु ५९ करोड १५ लाखमा कालोपत्रका लागि ठेक्का भएको थियो । ठेक्का लागेबाहेक १४ किलोमिटर सडक क्षेत्रको भने स्तरोन्नति अन्तिम चरणमा पुगेको र स्तरोन्नतिको काम सकिएलगत्तै कालोपत्रको काम अघि बढ्ने अध्यक्ष पुरीले बताउनुभयो ।

सडक डिभिजन कार्यालय दमकले यो सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाएका कारण सफलता हासिल गर्न सकेको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । झापाको दमकबाट इलामको चिसोपानीसम्म पुग्ने निर्माणाधीन सडकको कामको अनुगमन गर्न पुग्नुभएका उहाँले निर्माणाधीन सडकको कामलाई सहजताका लागि तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको बताउनुभयो ।

निर्माणाधीन सडकको योजनाअनुसार काम नभएको र गुणस्तरीय सामग्री प्रयोग नगरेको स्थानीय जनगुनासो आएपछि सडक डिभिजन कार्यालय दमकको टोली, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र उपभोक्तासहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here