चीनले उपलब्ध गराउदै आएको पास बिगत १६ महिना बन्द किन ?

0
535

काठमाण्डौं ।

चीन प्रवेश गर्न रसुवावासीका लागि उपलब्ध गराउँदै आएको नेपाल–चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण १६ महिनादेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो ।’ नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पास वितरणलाई निरन्तरता दिइने उहाँको भनाइ छ । चीनसँग सिमाना जोडिएको रसुवा जिल्लाका नागरिक चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो । एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ ।

रोजगारीका लागि प्रचुर सम्भावना रहेकाले केरुङ जानका लागि यहाँका झन्डै १२ हजार जनाले चाइना पास बनाएका थिए । कार्यालयले २०७२ असोज २८ गतेदेखि पास जारी गर्न थालेको हो । त्यसयता जिल्लाका १२ हजार एक सय ४३ जनाले पास लिएको कार्यालको तथ्याङ्क छ ।

त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो । कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको सङ्ख्या बढेको थियो । केरुङमा झन्डै एक हजार नेपाली कार्यरत थिए । त्यहाँ रहेका नेपालीमध्ये धेरैजसो होटल, ट्रान्सर्पोट र ब्लक निर्माणलगायतका क्षेत्रमा कार्यरत थिए । केरुङमा कार्यरत रसुवाका नागरिक दशैँ, तिहार तथा ल्होसारमा घर फर्कने गरेका थिए ।

नेपाल–चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा लिएकामध्ये झन्डै २५ प्रतिशत रसुवालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काम गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here