झापा।

झापाबाट ६ जना पत्रकारले स्थानीय चुनावमा उम्मेदवारी दिएका छन् ।
जसमध्ये चार जना पत्रकार महासंघ झापाका सदस्य हुन् । तीर्थ सिग्देल, अग्निप्रसाद कोइराला, उमेश राउत, अनिल वाग्ले, गोपाल पौडेल र सुरज प्रधान चुनावी मैदानमा छन् । पौडेल र प्रधान महासंघ झापाका सदस्य होइनन् तर पत्रकारितामा सक्रिय छन् ।
पत्रकार तीर्थ सिग्देल बिर्तामोड नगरपालिकामा एकीकृत समाजवादीबाट उप–प्रमुखमा चुनाव लड्दैछन् । उनी २० वर्षदेखि झापामा सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी पत्रकार महासंघका सदस्य पनि हुन् । यस्तै पूर्वेली साप्ताहिकमा संलग्न अनिल वाग्ले एमालेका तर्फबाट बुद्धशान्ति १को वडाध्यक्षको उम्मेदवार छन् । एमालेकै तर्फबाट कमल १को वडाध्यक्ष अग्निप्रसाद कोइराला उम्मेदवार छन् । बिर्तामोड ४ बाट एमालेको सदस्यका रूपमा उमेश राउत चुनावी मैदानमा छन् । उनीहरू तीनै जना महासंघका सदस्य हुन् ।
गौरादह नगरपालिकामा राप्रपाको तर्फबाट प्रमुख पदमा उठेका पौडेल स्टार एफएम दमकका प्रबन्ध निर्देशक तथा मिडिया नेपालका केन्द्रीय अध्यक्ष हुन् । अर्जुनधारा–११मा सुरज प्रधान जनता समाजवादी पार्टीबाट वडाध्यक्षका उम्मेदवार छन् । उनी केही वर्षदेखि पत्रकारितामा संलग्न छन् ।
झापाका छ जना पत्रकारमध्ये ४ जना महासंघका सदस्य हुन् । उनीहरूले पत्रकार महासंघमा औपचारिक रूपमा राजीनामा नदिई स्थानीय चुनावमा लड्दै छन् । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उनीहरूले राजीनामा नदिएको जनाए । अध्यक्ष गिरीले भने– ‘कसैले पनि राजीनामा दिएको छैन । तर, पत्रकारले स्थानीय तहको चुनाव लडे महासंघको सदस्यबाट स्वतः पदमुक्त हुने निर्णय गरेको छ ।

























