झापामा २२ देखि ९१ वर्षीयसम्म चुनावी मैदानमा

0
350

झापा ।

झापाको मेचीनगरका ९१ वर्षीय वृद्ध चुनावी मैदानमा उत्रिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मेचीनगर–१३का नेत्रप्रसाद न्यौपाने उम्मेद्वारी दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगर–१३को वडासदस्य पदमा उनको उम्मेदवारी रहेको छ ।

झापामा रहेका १५ वटा स्थानीय तहमा उम्मेद्वारी दिने २ हजार ९ सय १४ उम्मेदवारमध्ये उनी सबैभन्दा ज्येष्ठ नागरिक हुन् । यो नगरपालिकामा उनीसहित ३३६ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदमा मात्रै यो नगरमा १० जना र उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । ९१ वर्षको उमेरमा न्यौपानेले उम्मेदवारी दर्ता गराएसंगै उनको चर्चा जिल्ला भर चलेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ७० वर्ष माथि स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या २८ जना रहेको रहेको छ । ९१ वर्षीय न्यौपाने सहित ७९र ७८ वर्षीय १÷१ जनाको उम्मेदवारी परेको छ घने ७६ वर्षका तीन जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै ७५ वर्षका एक जनाले उम्मेदवारी दिएका छन् भने ७४ वर्षका ज्येष्ठ नागरिक चार जनाले विभिन्न पदमा उम्मेद्वारी दिएका छन् । यो सँगै ७० वर्षका ९ जना, ७१ वर्षका ४ जना र ७२ वर्षका तीन जनाले स्थानीय तहको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएका छन् ।

विशेष गरी ठूला दलभन्दा साना दलमा आवद्ध रहेका धेरैले ७० वर्ष भन्दामाथि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९१ वर्षीय न्यौपानेसंगै ७९ वर्षको उमेरमा वडा सदस्य पदमा उम्मेदवारी दिने भद्रपुर–३का मुदिलाल गणेश पनि राप्रपाका नै हुन् । उनले पनि वडा सदस्यको दावी गर्दै यो उमेरमा जनप्रतिनिधि भएर काम गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

७० वर्ष माथिका राप्रपामा आवद्ध ९ जनाले जनप्रतिनिधि भएर काम गर्ने भन्दै उम्मेद्वारी दिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । राप्रपाबाट उम्मेदवारी दिने मध्ये ७६ वर्षीय इन्द्रबहादुर थापाले वडाध्यक्षको दावी गरेका छन् । उनले मेचीनगर–१५मा वडाध्यक्षको दावी गरेका हुन् । अन्य पालिकामा वडा सदस्य दावी गरिएपनि राप्रपामा आवद्ध ७० वर्षभन्दा माथि उमेर समूहका थापाले वडाध्यक्षको दावी गर्दै उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसमा आवद्ध ७० वर्ष उमेर समूहमाथिका अन्य ठूला दलका उम्मेदवारमध्ये एमालेका बिजयकुमार अग्रवालले गौरीगञ्ज गाउँपालिका अध्यक्षको दावी गरेका छन् । यता नेकपा एमालेका तर्फबाट वडाध्यक्षको दावी गर्दै शिवसताक्षी–९मा छविलाल पाठकले उम्मेद्वारी दिएका छन् । उनी ७२ वर्षीय हुन् । यता मेचीनगरमा ७३ वर्षीय एक व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिँदै नगरप्रमुखको दावी गरेका छन् ।
झापामा ९१ वर्षीय बृद्धसहित २२ वर्षीय युवासम्म स्थान्ीय तहको निर्वाचनमा होमिएका छन् । २५ वर्ष मुनिका युवाहरुमध्ये ३० जनाले विभिन्न पदमा उम्मेदवारी दिँदै निर्वाचनमा होमिएका हुन् । निर्वाचनमा होमिएका मध्मे २५ वर्षमुनिका युवामा २२ वर्षीय युवा धेरै छन् ।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन शुरु भएको हो । अहिलेसम्म तीनवटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथोपटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ ।

नेपालमा स्थानीय तहको निर्वाचन २०४९, २०५४ र २०७४ साल गरी तीनपटक सम्पन्न भइसकेका छन् । विगतको निर्वाचनलाई हेर्दा सँधै नै दुई वा तेस्रो चरणमा निर्वाचन भएको देखिन्छ । तर, यसपटक भने सरकारले एकैपटक बैशाख ३० गते देशभर निर्वाचन गर्न थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि पहिलोपटक एकै चरणमा निर्वाचन गर्न थालिएको बताए ।

दुई तीन चरणमा निर्वाचन हुँदा एक ठाउँको मतदाता फेरि अर्को ठाउँमा फर्जी मत खसाल्न जान सक्छन्– उनले भने– निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि एकै चरणमा निर्वाचन गर्न थालिएको हो । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मुलुकको सुरक्षास्थित मजवुद भएकोले एकै चरणमा निर्वाचन गराउन थालिएको बताए । यसपटक कुनै आपराधिक क्रियाकलापमा संलग्न कुनै पनि राजनीतिक दल तथा संघ–संगठन छैन– उनले भने– निर्वाचन बिथोल्ने कुनै गतिविधि नदेखिएकाले एकैचरणमा निर्वाचन गराउन सरकार तयार भएको हो ।

निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी र एक लाख म्यादी प्रहरी परिचालन गर्न थालिएको छ । प्रजातन्त्र पुर्नवहाली भएपछि २०४९ सालमा दुई चरणमा तीन हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकामा स्थानीय तहको निर्वाचन भएको थियो । २०४९ जेठ १४ गते र जेठ १८ गते सो निर्वाचन सम्पन्न भएको थियो । जेठ १४ गते दुई हजार ३० गाविस र ११ नगरपालिका तथा जेठ १८ गते एक हजार ९६५ गाविस र २५ नगरपालिकामा निर्वाचन भएको थियो । २०४९ सालदेखि नै १८ वर्ष उमेर पुगेकालाई मताधिकारको प्रयोग गर्न दिइएको थियो । त्यो भन्दा अगाडि २१ वर्ष उमेर पुगेकाले मात्र मतदान गर्न पाउँथे । २०४९ सालमा पाँच राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएका थिए ।

यस्तै २०५४ सालमा पनि दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । २०५४ जेठ ४ गते र १३ गते गरी दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला तीन हजार ९१३ गाविस र ५८ नगरपालिका रहेका थिए । पहिलो चरणमा परेका १८२१ गाउँ विकास समिति, २३ नगरपालिका र एक उपमहानगरपालिका तथा दोस्रो चरणमा ३५ जिल्लाका दुई हजार ९१ गाविस, एक महानगरपालिका, दुई उपमहानगरपालिका र ३१ नगरपालिकामा निर्वाचन भएको थियो ।

यस्तै गणतन्त्र स्थापनापछि झण्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । २०७४ वैशाख ३१ गते बागमती, गण्डकी र कर्णाली प्रदेश, २०७४ असार १४ गते प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा २०७४ असोज २ गते मधेश प्रदेशमा गरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

वि.सं. २०४९मा ४४ हजार ५३९ जनप्रतिनिधि चयन भएका थिए भने २०७४ सालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा गरी ७५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन भएको थियो ।

अहिलेभन्दा २०४९ सालमा दुई गुणा बढी उम्मेदवार

अहिलेभन्दा २०४९ सालमा दुई गुणा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । त्यतिबेला कूल ४४ हजार ५३९ पदका निर्वाचन भएको थियो भने अहिले ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । २०४९ सालमा ४४ हजार ५३९ पदका लागि तीन लाख ५० हजार उम्मेदवारले मनोनयन दर्ता गराएका थिए भने अहिले ३५ हजार २२१ पदका लागि निर्वाचनमा एक लाख ५२ हजार ४६५ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै २०५४ सालमा एक लाख ८९ हजार पदका लागि निर्वाचन भएको थियो । २०७४ सालमा एक लाख ५१ हजार १९० जना उम्मेदवार मनोनयन भएको थियो । तीमध्ये ९७ जनाको उम्मेदवारी रद्द, दुई हजार ७२३ जनाले उम्मेदवारी फिर्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here