निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेका डेढ लाख उम्मेदवारमध्ये १२,७८९ स्वतन्त्र उम्मेदवार छन्।
कुनै पनि दलसँग आबद्ध नभएका वा दलको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरूले शनिवार निर्वाचन चिह्न पाउनेछन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका स्वतन्त्र उम्मेदवारहरूलाई अब निर्वाचन चिह्न प्रदान गरिने बताए।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिने जानकारी दिएको छ।
“आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामा स्वतन्त्र निर्वाचन चिह्नको समूह राखेको छ। त्यहीअनुसार कुन जिल्लामा कति लहरको मतपत्र हुने हो त्यहीअनुसार राखिन्छ,” निर्वाचन आयोगका मुख्य कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने।
तर सबै जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई ४० प्रकारकै चिह्नमध्येबाट छान्ने सुविधा नहुने वाग्ले बताउँछन्।
“कुन जिल्लामा कतिवटा स्वतन्त्र निर्वाचन चिह्नको समूह कति वटा रहने भन्ने चाहिँ आयोगले निर्णय गरेर राखेको छ,” उनले भने।
कस्ताकस्ता निर्वाचन चिह्न?
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो र खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिह्न तय गरेको छ।
स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ। त्यसको पहिलो नम्बरमा पुतली छ भने सबैभन्दा अन्तिम नम्बरमा पानी तान्ने कल राखिएको छ।
आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कङ्गारूदेखि बँदेलसम्मका जनावर स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्नमा राखेको छ। दलहरूले यसअघि नै रोजेका चिह्नमा पनि जनावरहरू छन्।

तस्बिर स्रोत,ELECTION COMMISSION NEPAL

तस्बिर स्रोत,RSS
स्वतन्त्र उम्मेदवारले छान्न पाउने निर्वाचन चिह्नमा काग, चील, हाँसजस्ता पन्छी देखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि छन्।
निर्वाचन चिह्नमा आयोगले खसीको टाउको, भ्यागुतो, लाल्टिन, मुढा र घण्टाघर पनि समेटेको छ।
स्वतन्त्र उम्मेदवारहरूले तिलहरीजस्ता गरगहना, चोलो र फ्रकजस्ता लुगाफाटोसम्म निर्वाचन चिह्न पाउन सक्छन्।
आयोगले ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेँसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिह्नका रूपमा राखेको छ।
चिह्नमा लौरो, खानेपानीको धारा, टायर, रिक्सा र सिरिन्ज पनि छन्।
कसरी हुन्छ वितरण?
स्थानीय तह निर्वाचन निर्देशिकामा राष्ट्रिय मान्यताप्राप्त छवटा राजनीतिक दलले आफ्नो दलकै निर्वाचन चिह्न पाउने व्यवस्था छ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीले देशैभरि आफ्नो निर्वाचन चिह्न पाउँछन्।
राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिह्न पाउँछन्।
उनीहरूको निर्वाचन चिह्नको क्रम गत संसदीय निर्वाचनमा पाएको समानुपातिक मतको सङ्ख्याका आधारमा तय गरिने व्यवस्था छ। आयोगका अनुसार विवेकशील साझा, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपासहित त्यस्ता दलहरूको सङ्ख्या २३ छ।

तस्बिर स्रोत,RSS
गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि भाग नलिएका दलहरूले पनि आफ्नो चिह्न लिएर निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ।
ती दलहरूले पेस गरेको सङ्गठनात्मक विवरणका आधारमा सङ्गठन रहेका जिल्लामा आयोगले निर्वाचन चिह्न दिने व्यवस्था छ।
आयोगका अनुसार सीके राउतको जनमत पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालसहित त्यस्ता दलहरूको सङ्ख्या ४० छ।
आयोगका मुख्य कानुनी सल्लाहकार वाग्लेका अनुसार यसबाहेकका स्वतन्त्र वा बागी उम्मेदवारहरूले भने आयोगले तय गरेका विभिन्न ४० वटा नमुनामध्येबाट निर्वाचन चिह्न पाउने व्यवस्था छ।
स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरूलाई उनीहरूले रोजेकै चिह्न प्रदान गरिने व्यवस्था गरेको छ।
तर दुई वा त्यसभन्दा बढी उम्मेदवारहरूले एउटै चिह्न रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम छ।

तस्बिर स्रोत,RSS
स्वतन्त्र उम्मेदवारको विगत कस्तो छ?
अघिल्लो निर्वाचनमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा निसार अहमद खाँ स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
तर उनलाई प्रमुख दलहरूले अघोषित सहयोग गरेका थिए।
वि.सं. २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनबाट चुनिएका ३५,००० जनप्रतिनिधिमध्ये २३३ जना स्वतन्त्र उम्मेदवार थिए।
अधिकांश स्वतन्त्र उम्मेदवारहरू अघिल्लो निर्वाचनमा कार्यकारी पदमा चुनिन सकेनन्।
“स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्न बहुत कठिन हुने रहेछ। पार्टीका वडापिच्छे पाँच जना त उम्मेदवार नै हुन्छन्। उनीहरूको प्रचारप्रसार टोली हुन्छ, स्वतन्त्र त एक्लै लड्नुपर्ने रहेछ,” निसार अहमद खाँले भने।
“चुनाव चिह्न पनि मैले बालबालिका पाएको थिएँ। चुनाव चिह्न पाए पनि एक हप्ताजति मात्रै समय बाँकी थियो। मेरो चिह्न चिनाउन रातदिन लाग्नुपर्यो,” स्वतन्त्र उम्मेदवार भएर निर्वाचनमा जाँदाको अनुभवबारे खाँले भने।
उनी अहिले जनता समाजवादी पार्टीबाट पुन: मेयरको उम्मेदवार बनेका छन्। bbc/nepali































