
बाहिर हुस्सु लागेको छ । अलि–अलि सिरेटो पनि चलि नै रहेको छ । बिहानको समय उठ्न मनै लागीरहेको छैन । चिसोले गर्दा अल्छी लागेर कलेज पनि नजाने निर्णय गरे अनि सिरकभित्र गुटमुटी रहेँ । भित्तामा झुण्डिरहेको घडीले ६ः३० को संकेत गरिरहेको थियो । नजिकै सुतेको भाइ अघि उठेर कलेज हिँडीसकेछ । पापा गाईगोठको धन्दातिर व्यस्ता । यसो सोचे जाडो त मलाई मात्र लाग्छ कि क्या हो ?
किचनबाट आएको गुन्द्रकको सुपको बास्नाले लोभ्याइरहेको छ । ‘एै केस्सारो सुतेकोे ? उठै । आज पढ्न पनि गइनस् । धारामा पानी थापी राखेको छु, ल्याएर आइज । ७ बज्न लागी सक्यो ।’ खाना बनाउँदै आमाले दिएको आदेश । सिरकभित्रको न्यानोलाई लत्याउनु नै पर्ने भो । धारामा थापिरहेको एक गाग्री पानी ल्याएर भान्साकोठा बाहिरा राख्दिएँ । हुस्सुसँगै अलि–अलि शित पनि झरिनै रहेको थियो । भान्साकोठामा पसेर चुला नजिकै ठिराएको हात सेकाउन थालेँ । दूध उम्लनै लागेको रहेछ, चलाएर शान्त पारेँ । सिलौटामा पोलेको टमटर, बोके टिम्बुर, डल्ले खुर्सानी र पोलेको सिद्रालाई एकै ठाउँ राखेर आमाले चटनी बनाउँदै हुनुहुन्थ्यो । अब चाहि भने पुरै भोक लागेको जस्तो अनुभव भयो । बाहिरबाट कसैले बोलायो ‘रबि सर रबि सर… ।’
पवन भाइ रहेछ । भर्खर भर्खरै अफिस जोइन गरेको, नयाँ स्टाफ भाइ । ‘सपना देखिरहनु भएको थियो कि ?’ भाइको प्रश्न । ‘हो नी ! किन यति खेरै उठाको ? मुला भाइ खत्तम् ग¥यौं नि तिमीले ।’ भाइलाई जवाफ दिएँ । अलिकति भाइदेखि रिस पनि उठ्यो । कमसेकम खाना त खाना दिनुपथ्र्यो नि । यसो सोचे, मैले देखेको सपना पवन भाइले कसरी थाह पाओस् । अझै पनि मुख रसाई राखेको थियो । भोक पनि लागीरहेको आभाष गरँे । सुजता दिदीलाई फोन गरेर आजको खानामा गुन्द्रुकको सुप र टमटरको अच्चर बनाउन लगाएँ ।
आमाको साथीहरु अहिले पाको उमेरका भइसक्नुभयो । कहिलेकाही उहाँहरुलाई देख्दा मेरो आमा पनि बुढेसकालमा यस्तै देखिनु हुन्थ्यो कि जस्तो लाग्छ । उहाँहरुसँगको भेटमा आमाको याद ताजा भएर आइदिन्छ । तर, मेरी आमा कहिले बुढि हुनुहुन्न । उहाँको छालाहरु चाउरिँदैन । दाँत झरेर थोती पनि देखिनुहुन्न । सबै कपाल फुलेर सेतै कहिलै हुनुहुन्न मेरी आमा । अनि केहीछिन सोच्छु, अहिलेसम्म आमा हुनुभएको भए कस्तो हुँदो हो, उहाँको बुढेसकालको रुपरंग । आमा बित्नु भएको पनि थुप्रै भयो ।
कम्प्युटरको मोनिटर अगाडि बसिरहेको म गुगल अर्थ खोल्न पुगे । आमाको यादसँगै खै किन हो मावली गाउँ हेर्न मन लाग्यो । अनि त्यसपछि आफ्नो गाउँ, मावली गाउँ र हाम्रो गाउँको दूरी खासै टाढा पनि होइन, बीचमा अन्तु डाँडाले मात्र छेकेको छ । तर, खै मावली घर नगएको पनि बर्षौं बितिसकेछ । सुसाउँदै बगिरहने सिद्धी र मेचीको पानीले बाटो छेकेको पनि होइनन । अन्तु उभिएर रोकेको पनि होइन । एकछिन आफ्नै अन्तरमनको गहिराइमा हराएछु ।
सल्लाका रुखहरु र हरिया चियाका बुट्यानहरुले श्रृंगारिएको कन्यामलाई मनिटरबाट नियालेँ । माउसलाई होसियारीपूर्वक क्लिक गरे अनि दिवादीमा र आमा भएको ठाउँमा पुगेँ । उहाँहरुको आत्माले छाडेको शरीरलाई धर्तीमाताको गर्भमा पठाएको बिन्दुमा अडिएँ । बिस्तारै जुम गर्दै गएँ । उहाँहरुका कपुरलाई अम्लिसो र चियाका बुट्टाहरुले पहरा दिइरहेको भान भयो । केही पर चियाहरुको हरियाली गलैँचामा टेकेर उभिए झैं लाग्ने बिशाल चुच्चे ढुंगाले उहाँहरुका समाधी स्थललाई निगरानी गरिरहेको आभाष गरायो ।
मस्त जवानीले उन्मुक्त भई लजाएर चियाका बोटहरुको घुम्टो ओढेर बसिरहेकी कन्याम । श्रृंगारका लालीमाहरु थप्दै रहेछ । प्रकृतिसँग रमाइरहेका भमरा, माहुरी र पुतलीहरुको चहल–पहल पनि मनमोहक नै लाग्छ । सौन्दर्यको सुगन्धले सबैलाई आकर्षित गरिरहँदा के तिनीहरुले अलिकति श्रमिकहरुको पसिनाको गन्धको आभाष पनि गर्छ होला ? म त हरेक चियाका बोटहरुमा छाडी गएका आमाका हत्केलाहरुको न्यानो स्पर्श खोजिरहेको हुन्छु । चियाका मुनाहरु हल्लाउँदै सिरीरी चल्ने बतासले आमाको परिश्रमले बगिरहेको पसिनाको गन्धलाई चियाका बोटहरुले आफ्नै पेवा बनाए भैmं लाग्छ । आमाले पैसाको नोट देखेको चियाका मुनाहरुमा हिजोआज म आमाको यादहरु भेट्छु । निधारबाट बग्दै गरेको पसिना, ठेला उठेको हत्केला अनि ५०, १०० का नोट गन्दै गरेका औलाहरु । अझै पनि सम्झाइरहन्छ नोबेल र बिर्तासिटीका भवनहरुले आमाका अन्तिम बिदाइका क्षणहरु । केही आश र भरोसामा त्यहाँ पुगेका पलहरु । अतालिएको मन, बाफिएको छाती, घरी–घरी अनायसै बर्सिरहेको यो आँखा, भगवानसँगको प्रार्थना । फागुन चैतको मध्यगर्मीमा धमिलिँदै गएको दृष्यहरु कहिलेकाही एम्बुलेन्सको साइरनले पनि ताजा गराई दिन्छ ।
घरमा पापाले मुन्धुम गाउँदै माङ्गसँग गरेको बल बिन्तीले मन नै कुड्याउँथ्यो । भाइ र मैले आमा गुमाउँदै थियौं, पापाले त जीवनसाथी । मायाले वा गुमाउनुको पीरले सबै–सबैसँग आशलाग्दो रहेछ । अनन्तको यात्रामा आमा लम्किँदै हुनुहुन्थ्यो, हामी विज्ञान र अदृष्यशक्तिहरुलाई रोक्न अनुरोध गर्दै थियौं । जुनेली रातमा कावा खाइरहेको बाँदलका साना–साना झुण्डलाई अनायसै दक्षिण–पश्चिमतिरबाट चलेको बतासले उडाएसँगै पापाको काखमा ढल्किरहेकी आमाले पनि सधँैका लागि बिदा लिनुभयो । बिहान सबैलाई चाडै उठाउने आमा सधैँको लागि निदाउनुभयो ।
आमा हिँडेको प्रत्येक गोरेटोहरुमा कति पाइँलाहरु थपिए होला ? हत्केलाले स्पर्श गरेका माटो माथि कति माटो थुप्रिए होला ? बाल्य अवस्थामा घरभन्दा पर बग्ने कालीखोलामा लुगा धुएर कपडा सुकाउन चडेका ढुंगाहरुमा कतिका लुगाहरु सुकिसके होलान् । मिरिक झिलको फेदमा आमाको कलिलो पाइतालाका छापहरु अझै पनि हिलो बनेर जमिनमा टाँसिरहेका होलान् । बाघखोरको उकालो कति पटक नापे होलान् कलिलो खुट्टाले ? आमाको इतिहास आमाले टेकीसकेको जमिनलाई थाह होला ? यस्तै प्रश्नहरु मनिटरमा देखिरहेका कन्याम र सिस्नेबाट आँखाको माध्यम हुँदै मनमा प्रवेश ग¥यो र मस्तिष्कलाई सोधी नै रह्यो…!


























