बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गरिँदै

३१ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले डेंगु लगायत कीटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने भएको छ ।

नगरका सबै वडामा असार ४ गतेदेखि १७ गतेसम्म अभियानका रुपमा लार्भा नष्ट गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको हो । यसका लागि विषादि छर्किने तालिम प्राप्त २५ जनाको टोली तयार रहेको नगरका जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिए ।

विषादि छर्किएको ठाउँमा रहेका फलफूल तथा तरकारी ७ दिनसम्म प्रयोग गर्न नहुने र त्यसपछि पनि १४ दिनसम्म काँचै खान नमिल्ने, राम्रोसंग पकाएर मात्रै खानु पर्ने खड्काले बताए । एकपटक छर्किएको विषादिले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने छ ।

लामखुट्टेबाट उत्पादन हुने रोगहरु निर्मूल गर्नका लागि यो अभियान शुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लार्भा नष्ट गर्ने विषयमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले लामखुट्टेको कारण सर्ने रोगहरुबाट बच्न यस अभियानलाई सबैजना लागेर प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले मानव स्वास्थ्यमा केही हानीकारक रहेकोले विषादिलाई सुरक्षित ढंगले छर्किनुपर्ने बताइन् । यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अभियान सफल बनाउनका लागि जनप्रतिनिधि, टोल विकास संस्था, प्रहरी प्रशासन सबै लाग्नुपर्ने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले नगरमा श्रोत न्यून रहेकोले ग्रामीण क्षेत्र भन्दा जनघनत्व बढी भएको ठाउँमा प्राथमिकता दिने बताए । एक हजार ४ सय ६८ ट्याकीं मात्रै विषादि रहेकोले यसले १ लाख ४६ हजार ७९५ वर्गफिटमा मात्रै पुग्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर, औषधि व्यवसायी संघ झापाका महासचिव जीवन खड्काले आ–आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here